Comments Add Comment

सरकार गठनबारे विवाद झिकिएकोमा राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवावीच भेटवार्ता

Bidhya-Bhandari

९ साउन, काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया शुरु नहुँदै राजनीतिक दलहरुले राष्ट्र प्रमुखलाई अपमान गर्ने र विवादमा पार्ने ढंगले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई शीतलनिवासमै बोलाएर राष्ट्रपतिले संवैधानिक संस्थालाई दलीय स्वार्थमा विवाद नपार्न सुझाव दिएको उच्च स्रोतले जनाएको छ । देउवा निकट कांग्रेस सांसद रमेश लेखकले शनिवार संसदमा बोल्ने क्रममा नयाँ प्रधानमन्त्री चयन गर्ने सन्दर्भमा राष्ट्रपतिले आह्वान गर्न नपर्ने र राष्ट्रपतिले दुःख गरिरहनु नपर्ने बताएका थिए ।

गणतन्त्र स्थापनापछिका हरेक सरकार गठनका बेला राष्ट्रपतिले शुरुमा सहमतीय सरकारका लागि आह्वान गर्ने र त्यसो नभए संसदबाट बहुमतीय प्रक्रिया शुरु हुने गरेको छ । संविधानसभाबाट संविधान जारी भएपछि बनेको केपी ओलीको सरकार पनि यही प्रक्रियाबाट बनेको हो ।

राष्ट्रपतिलाई संविधानले दिएको भूमिकाका बारेमा बिबाद बढाउँदा राम्रो नहुने भण्डारीले देउवालाई बताएको स्रोतले जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पछिल्लो राजनीतिक घटना क्रम र नयाँ सरकार गठनको प्रक्रियाबारे राष्ट्रपतिले देउवासँग चासो राखेकी थिइन् ।

देउवाले सो अवसरमा दलहरुले संविधान कार्यान्वयनका सन्दर्भमा सहकार्य गरेरै अघि बढ्नुपर्ने बाध्यता रहेकाले सरकार परिवर्तन सामान्य प्रक्रिया भएको र यसलाई विवादित बनाउने पक्षमा आफू नरहेको बताएका थिए ।
देउवा फर्किएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिको चासो

यसैबीच राष्ट्रपतिले नयाँ सरकार गठनको सन्दर्भमा राष्ट्रपतिको भूमिका नै नरहने भनी संसदमा गरिएको बहसप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ । उनले यसबारे चासो दिएको बताइएको छ ।

संविधान अनुसार नै राष्ट्रपतिको भूमिका प्रष्ट रहेकाले यसमा दलहरुले अनावश्यक तर्क गर्नु दुःखदायी रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले अनलाइनखबरलाई बताए । उनले भने- ‘राष्ट्रपतिको भूमिका संविधानले नै प्रष्ट गरेको छ, जिम्मेवार दलका जिम्मेवार नेताहरुले बोल्दा विचार पुर्‍याउनुपर्ने हो । उहाँले संविधानअनुसार नै प्रक्रिया थाल्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment