Comments Add Comment

ओलीको अठोटः देशलाई बर्बादीको बाटोमा जान दिइँदैन, सही बाटोमा फर्काइन्छ !

अदालत छ, म आफैं संविधानको व्याख्या गर्दिनँ

KP-Oli,-NTV

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बादीको बाटोतिर जान नदिने र नेपाली जनताको बलले यसलाई रोक्ने बताएका छन् ।

नयाँ सरकार गठनमा संवैधानिक जटिलता रहेको जिकिर गर्दै यसको व्याख्या आफूले नभई अदालतले गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाल टेलिभिजनमा शनिबार राति ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ को १४ औं श्रृंखलामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतर्फ जानबाट रोक्ने उदघोष गरेका हुन् ।

अविश्वासको प्रस्ताव संसदमा आइसकेको अवस्थामा अबको बाटो के होला भन्ने नेपाल टेलीभिजनका प्रस्तोता रवि लामिछानेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिए-

‘अनुमान नगरिएको परिस्थितितर्फ देशलाई जबर्जस्त लाने प्रयास भइरहेको छ । तर, म भन्न चाहन्छु-त्यतातर्फ परिस्थितिलाई जान नदिने र सहज, स्वाभाविक, सकारात्मक दिशा लेओस् भन्ने मेरो एउटा प्रयास हुन्छ । मेरो पार्टीको प्रयास हुन्छ । र, मसँग जो अरु पार्टीहरु छन्, त्यसको प्रयास हुन्छ ।’

प्रधानमन्त्री ओलीले अगाडि भने- ‘देश कता जान्छ ? देशलाई बर्बादीतर्फ लाने प्रयासहरु भएका छन्, जसलाई रोकिने छ । जनताको सचेत प्रयासबाट रोकिनेछ । र, देश सकारात्मक बाटोमै अगाडि बढ्छ । ०१७ सालमा कता लान खोजिएको थियो ? फेरि फर्काइयो । ०५९ मा कता लान खोजिएको थियो, फेरि फर्काइयो । ०६१ मा कता लान खोजिएको थियो, फेरि फर्काइयो ।  फेरि लान खोजिएला, एउटा भ्याकुम, रिक्तताको स्थिति संवैधानिक र राजनीतिक संकट, दोहोरो संकट खडा गरेर देशलाई भ्याकुममा लान खोजिएको थियो, राज्यका अंगहरु फतफत झर्दै थिए । त्यसठाउँबाट फेरि फर्काएर ल्याइयो । र, फेरि पनि गलत बाटोमा जान दिइँदैन । सही बाटोमा फर्काइन्छ ।’

अहिले बढीरहेको ध्रुवीकरणको एउटा धारको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीले थपे- ‘जुन ध्रुवीकरण अहिले हुँदैछ, जबर्जस्त ध्रुवीकरण । यस्तो ध्रुवीरकणको यस्तो दुईवटा म्याग्नेट दुईतिर रह्यो । र, यसमा कतै भुलचूक हुनेवाला छैन । मिसमास छ्यासमिस केही हुनेवाला छैन । नेपाली जनताले स्पष्ट देख्नुपर्दछ यो ध्रुवीकरण । एउटा म्याग्नेट राष्ट्र, राष्ट्रियता, नेपाली जनताको विकास र उन्नति, स्वाभिमान, यो म्याग्नेट छ एउटा । त्यसविपरीत अर्को म्याग्नेट छ, के म्याग्नेट, त्यो म भन्दिँन । त्यहाँ (संसदमा) अभिव्यक्तिहरुमा देख्नुभएको छ तपाईले । मैले यसमा धेरै कुरो भन्नुपर्दैन, आजको नेपाली जनता स्वाट्टै अल्मिलिएर देश विरुद्धका हुने त्यस्ता गतिविधि, त्यस्ता षडयन्त्रहरु तिनीहरुलाई बुझ्न सक्ने सामर्थ्य राख्छ भन्ने म विश्वास गर्छु ।’

‘नयाँ सरकार गठनमा संवैधानिक जटिलता छ’

प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनमा संवैधानिक जटिलता रहेको बताउँदै यसको व्याख्या अदालतले गर्ने बताए । यो जटिलतालाई हल गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।

सरकार गठनबारे प्रधानमन्त्री ओलीको विश्लेषण यस्तो छः

‘म आफू यसको (संविधानको) व्याख्या गर्न चाहन्न । यसको व्याख्या कि त अदालतले गर्नुपर्‍यो । कि यसोका व्याख्या विभिन्न ढंगले हुन्छ नि त कि कानूनविदहरुले गर्लान् । कुनै हिसाबले यसको होला । तर, यसलाई जब मतभेद छ भने मतभेदका वीचमा रस्साकस्सी समस्याको समाधान हुँदैन ।

एउटाले एउटा व्याख्या, अर्काले अर्को व्याख्या गरेपछि अब विस्तारै यो राजनीतिक स्वार्थसँग यसको व्याख्या गाँसिन गयो । यो व्याख्या पहिले सुरु हुँदा त्यसप्रकारको परिस्थिति थिएन । संविधानविदहरुले यो प्रश्न धेरै अगाडि उठाएका थिए । धेरै अगाडि विभिन्न टेलीभीजन कार्यक्रमहरु र अरुमा यससम्बन्धी बहस आएको हो । यो त कुनै राजनीतकि स्वार्थ अथवा पदीय स्वार्थसँग जोडिएर आएको होइन । संवैधानिक विषयसँग जोडिएरै त्यो स्वार्थ आएको थियो ।

मैले सत्तापक्ष, प्रतिपक्ष दलहरुलाई पनि त्यसैबेला पनि भनें, मैले शेरबहादुरजीसँग पनि कुरा गरें । यस्तो प्रश्न उठाएका छन् । यसमा भोलि यदि प्रधानमन्त्री हेरफेर गर्ने कुरा कहीँ कतै आयो भने यसले फेरि राजनीतिक विषय बन्न सक्छ त्यो भन्दा अगाडि हामीले स्पष्ट पार्नुपर्छ भने स्पष्ट पारौं, म विल्कुलै सहयोगी भूमिका खेल्छु, सकारात्मक भूमिका खेल्छु यसमा मेरो सकारात्मक योगदान छ भनेको थिएँ । जे गर्नपर्छ, त्यो गरौं भन्ने कुरा पनि उहाँलाई पनि राख्या हो । मैले पुष्पकमल दाहालजीसँग पनि कुरा गरेको हुँ । सबैसँग मैले कुरा गरेको छु ।

संविधान बनाउँदासम्म कांग्रेस, पछि एमाले । हामीले पछि सरकार बनाउँदा पनि त्यसै गर्‍यौं ।  त्यसकारण सरकार वीचमा बदल्छौं भन्ने हाम्रो अवधारणा थिएन । यो पहिलेको संक्रमणकाल होइन । संक्रमणकाल संविधान जारी भएपछि प्रारम्भ भयो, अर्को प्रतिनिधिसभाको निर्वाचन नभएसम्मका लागि मूलतः कायम रहन्छ ।

 मैले के भनेको छु ? म यसको सहिजीकरणका लागि, सरलीकरणका लागि यसलाई सामान्य गर्नका लागि के गर्नुपर्छ, आफ्नो तर्फबाट तयार छु । कसैलाई के भ्रम नरहोस् भने मचाँहि संवैधानिक व्यवस्थाको कार्यान्वयन भन्दा प्रधानमन्त्रीको पदको रक्षाका निम्ति लाग्छु भन्ने भ्रम नपरोस् ।

म देश र जनताको हित अथवा लोकतन्त्रको सम्मान र सुरक्षालाई भन्दा आफ्नो पदलाई महत्व दिन्छु भन्ने कसैलाई नपरोस् । पद छोड्न गाह्रो पर्‍यो भनेर यत्तिकै बाटामा फ्याँकिदिएर हिँड्ने कुरा भएन, त्यसको एउटा विधि प्रक्रिया छ । त्यसमा असहजता छ, अस्पष्टता छ भने स्पष्ट पारौं मैले भनेको छु । जुनसुकै स्पष्टताका निम्ति, सबै सहज बाटो जानका निम्ति, स्पष्ट बनाउनका निम्ति, त्यो कानूनी बाटो खोल्नका निम्ति म विल्कुल तयार छु । मेरो भूमिका सकारात्मक र सहयोगी हुन्छ । अनुकूल हुन्छ मेरो भूमिका ।

तर, पनि रहर म के बुझ्दिनँ भने ममाथि प्रहार गर्ने, एट्याक गर्ने र विषयलाई जटिल बनाउने त्यसप्रकारका गतिविधिहरु भइरहेका छन् ।’

‘म जेलमा हुँदा प्रचण्ड कुन स्कुलमा थिए ?’

प्रधानमन्त्री केपी ओलीले आफू प्रचण्डसँग वादविवादमा नउत्रिने बताएका छन् । तर, प्रचण्डले संसदमा बोल्ने क्रममा आफूलाई गणतन्त्रविरोधी भनेकोमा उनले जवाफ फर्काउँदै भने- ‘मैले राजतन्त्रविरुद्ध संघर्ष गर्दा उहाँ कुन स्कुल पढ्दै हुनुहुन्थ्यो ? म राजतन्त्रका विरुद्ध संघर्ष गरेर लामो काराबासमा पर्दा, झ्यालखानामा पर्दा, जेल बस्दा कुन स्कुल पढ्दै हुनुहुन्थ्यो ? म उहाँहरुसँग कुनै वादविवाद प्रतियोगिता गर्न खोजिराखेको छैन ।’

प्रधानमन्त्री ओली प्रचण्डको प्रतिवाद गर्दै थपे- ‘मैले राजासँग कार्यगत एकता गरिनँ । राजनीतिमा कहिले-कहिले सम्झौता हुन्छन् । उहाँ (प्रचण्ड) सँग पनि अस्तिसम्म एउटा सम्झौता अनुसार चलेका हौं । कोहीसँग पनि सम्झौता हुन्छ । तर, सम्झौता अरु आस्थागत विषय होइन, परिस्थितिगत विषय हो । मैले यसमा धेरै भनिरहनुपर्लाजस्तो लाग्दैन । कतिपय विषयहरु उहाँले उठाउनुभएको छ, यो इतिहासको अन्त्य होइन । फेरि पनि हामी यहीँ छौं । त्यतापटि्ट उहाँले अलि हौसिएका बेला ध्यान नदिएको हो कि ? म यसमा पनि उहाँसँग धेरै वाद-प्रतिवाद गर्न चाहन्न । मैले आधा शताब्दिभन्दा बढी संघर्ष गरेको छु । म कुनै कोठाभित्र थुनिएर बसेको मान्छे छैन ।

अहिले म खुल्ला छु । २९ वर्षदेखि म बाहिर आएर खुल्ला छु । ०४८ सालदेखि म जनप्रतिनिधि संस्था संसदमा रही आएको छु । विभिन्न तहमा जिम्मेवारीमा छु । मलाई हजारौं, लाखौं मानिसहरुले बुझेका छन् । मेरा बारेमा कसैले भन्दा ती कुरा तथ्यहरुबाट, प्रमाणहरुबाट पुष्टि हुने कुरा गरे हुन्थ्यो । अलि पछाडि अर्को सन्दर्भमा आफैंले भनेका कुरा काट्नुपर्दा असुविधा हुन्छ कि भन्ने कुरा पनि हेक्का राख्नु वाञ्छनीय हुन्छ । मलाई यस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment