Comments Add Comment

एमाले नेतालाई उपेन्द्रको कटाक्षः मन्त्रीकै सेता कुर्सी खाली रहेछन् !

बाबुराम भट्टराईलाई प्रश्न- को गधा, को खच्चड ?

Upendra-Yadav-In-Parliament

९ साउन, काठमाडौं । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका क्रममा ‘सेता कुर्सी’ शब्द चर्चामा रहृयो । यसको प्रयोग अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए, जसलाई संविधानसभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले थप व्याख्यासहित प्रयोग गरे । संसदमा लगातार तीन दिनदेखि चरिरहेको बहसमा ‘सेता कुर्सी’ शब्द लगातार प्रयोग भइरहेकोमा आइतबार उपेन्द्र यादवले पनि यो शब्द प्रयोग गरेका छन् ।

एमाले नेताहरुले संविधानसभा बहिस्कार गरेर सडक आन्दोलनमा गएका मधेसी मोर्चाका नेताहरु संसदमा फर्किएको तर्फ संकेत गर्दै ‘सेता कुर्सीहरु भरिएका छन्’ भनेका थिए । पूर्वसभामुख नेम्वाङले त संविधान सर्वस्वीकार्य भएको भन्दै यसका लागि अविश्वासको प्रस्तावका प्रस्तावक प्रचण्डलाई कुर्सीहरु भरेकोमा धन्यवादसमेत दिए ।

आइतबारको बहसमा भाग लिँदै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सेता कुर्सीहरुको कै प्रशंग निकालेर एमाले नेताहरुलाई जवाफ दिए ।

संविधानसभा बहिस्कार गर्ने संयुक्त लाकेतान्त्रिक मधेसी मोर्चाका शीर्षनेता मध्येका एक यादवले एमाले नेताहरुले भनेजस्तो आफूहरुले नयाँ संविधान स्वीकार नगरेको दाबी गरेका छन् । नयाँ संविधान नश्लवादी भएको भन्दै उनले एकछिनको खुसी नमनाउन सुझाव दिएका छन् ।

सेता कुर्सीको प्रशंग जोड्दै यादवले अघि भने, संसदमा आए, संविधान सबैले माने भनेर खुसी मनाएको देखियो । तर, आज त मन्त्रीहरुकै सेता कुर्सी खाली रहेछन् । सेता कुर्सी भन्ने माननीय पनि देख्दिँन ।’ मन्त्रीहरुले पनि संविधान नमानेको हो कि भन्ने संकेत गर्दै उनले भने, ‘अब कसले खुसी मनाउने ?’

जनमत संग्रहपछि राजाले सबै नेपाली पञ्ज, सबै पञ्च नेपाली भनेको स्मरण गर्दै फोरम अध्यक्ष यादवले पञ्चहरुसँग संगत भएकाले बानी व्यहोरा पनि त्यस्तै भएको त होइन भन्ने प्रश्न एमाले नेताहरुमाथि गरेका छन् ।

फोरम अध्यक्ष यादवले वर्तमान सरकारले नाकाबन्दी हटाएको एमाले नेताहरुको दाबीको पनि खण्डन गरे । राज्यले मधेसमा नरसंहार गरेकाले आफूहरु नाकामा जान बाध्य भएको भन्दै उनले आफूहरुले नै आन्दोलनको स्वरुप बदलेको र नाका छाडेर काठमाडौं आएको बताए ।

उनले अघि भने ‘मधेसमा राज्यले साम्प्रदायिक दंगा फैलाएको थियो । राष्ट्रिय एकता कायम राख्न मधेसी मोर्चाले नै स्वरुप बदलेको हो । र, नाकाबाट काठमाडौं आएको हो । यो तपाईँहरुको सफलता हो ?’ उनले मधेस आन्दोलनमा भएको दमनको छानविन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र दोषीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उभ्याउनुपर्ने बताए ।

को गधा को खच्चड ?

यादवले आफूहरु संसदमा उपस्थित हुँदा संविधान कार्यान्वयन भयो भन्नेहरुले आफूहरु (मधेसी मोर्चा) नहुँदा संविधान कार्यान्वयन हुँदैन भनेर अलिअलि बुद्धि पुर्‍याएको भए हून्थ्यो भनेका छन् । डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै उनले संविधानको निर्माता मध्येका एक भागिसकेको बताए ।

भट्टराईले हालै मात्र यो संविधानको खच्चडको जस्तो छ भनेको सुनेको भन्दै उनले भने, खच्चड भनेको त घोडा र गधाको बाइप्रोडक्ट हो । को घोडा थिए, को गधा थिए ? त्यो चाहिँ भन्न्नुभएन ।’

ओली सरकार कसरी राष्ट्रवादी ?

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका फोरम अध्यक्ष यादवले वर्तमान सरकारले मधेसीसँग सम्झौता गरिदिनुपर्‍यो भनेर भारतसमक्ष चार बुँदे दिएको र त्यो आफूहरुसमक्ष आइपुगेको स्वीकार गरे ।

वर्तमान सरकार राष्ट्रवादी भन्ने एमाले दाबीको खण्डन गर्दै उनले भने, ‘यो कुन राष्ट्रवाद हो ? नेपाली जनताको स्वाभिमानलाई आँच पुर्‍याउने सरकार कहीँ राष्ट्रवादी हुन्छ ?’

प्रधानमन्त्री ओलीले मधेसमा मानवसाङ्लो प्रदर्शनलाई माखेसाङ्लो र आन्दोलनका क्रममा मारिएकाहरुलाई रुखबाट आँप खसेको भनेको भन्दै उनले उखान टुक्काले राष्ट्रवाद बलियो नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment