Comments Add Comment

राष्ट्रिय युवा परिषदले गरेका निर्णयप्रति वाइसिएलको असहमति

वाइसिएल प्रतिनिधिले लेखे 'नोट अफ डिसेन्ट'

९ साउन, काठमाडौं । माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले राष्ट्रिय युवा परिषदले रातारात मनोमानी ढंगबाट बिभिन्न निर्णयहरु गरेको भन्दै असहमति जनाएको छ । परिषदमा प्रतिनिधित्व गर्ने वाइसिएलका प्रतिनिधिहरुले विरोध गर्दै नोट अफ डिसेन्ट लेखेका छन् ।

सरकारबाट गठित परिषदले जबरजस्ती, एकलौटी र मनोमानिपुर्ण ढंगले जिल्ला परिषदहरुको गठन गरेको भन्दै वाइसिएलले असहमति जनाएको छ ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएर कामचलाउ भइसकेपछि युवा परिषद पनि स्वतः कामचलाउ भएको वाइसिएलको ठहर छ ।

वाइसिएल अध्यक्ष आरसी शर्मा ‘विज्ञान’ले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सरकार कामचलाउ भैसकेपछि राष्ट्रिय युवा परिषदको अध्यक्ष लगायत परिषद नै काम चलाउ भैसकेकाले यसले कुनै महत्वपूर्ण निर्णय गर्न नसक्ने हुदा हुदै पनि रातारात बैठक राखी, जबरजस्ती, एकलौटी र मनोमानिपूर्ण ढंगले जिल्ला परिषदहरुको गठन गरेको कुरा प्रति हाम्रो संगठन घोर असमति जाहेर गर्दछ । साथै संगठनको तर्फबाट परिषदमा प्रतिनिधित्व गर्ने कमरेडहरुबाट निर्णय प्रकृयामा असहमति जाहेर गरी नोट अफ डिसेण्ट सहित विरोध गरिएको छ ।’

युवाहरुको धेरै ठूलो त्याग र वलिदानबाट निर्मित राष्ट्रिय युवा नीति वमोजिम राष्ट्रिय युवा परिषद गठन हुनु आम युवाहरुको लागि खुसिको विषय भएता पनि राष्ट्रिय युवा परिषदको गठन एक पक्षिय, एक गुटीय र सीमित व्यक्तिहरुलाई खुसि पार्ने गरी गरिएको भन्दै वाइसिएलले आपत्ती जनाएको छ ।

युवा परिषदले पनि कुनै महत्वपूर्ण निर्णयहरु नगरोस् भन्दै वाइसिएलले मनोमानि ढंगबाट गरिएको निर्णय रोक्न सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ ।

YCL-Press-Relese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment