Comments Add Comment

सुगम पोखरेलः फेरि त्यो दिन सम्झन चाहन्नँ

Sugam Pokhrel (3)‘फेरि त्यो दिन सम्झन चाहन्नँ

त्यही कथा म दोहोर्‍याउन चाहन्नँ’

गायक सुगम पोखरेललाई ०५८ सालतिर गाएको यो गीतले एकाएक चर्चामा ल्यायो । जतिबेला उनले सांगीतिक करिअर त ६ वर्षअघि नै सुरु गरेका थिए तर, खासै सफलता हात परेको थिएन ।

तर, यो गीतसँगै सुमग चर्चामा आए । संयोग कस्तो भने, अहिले यही गीत उनको वास्तविक जीवनसँग मेल खान्छ र, विगतको अँध्यारो पाटोमा र्फकँदै उनी मनमनै यही गीत गुनगुनाउँछन् ।

तीन वर्षअघि लागूऔषधसहित समातिएपछि सफलताको शिखरमा रहेको सुगमको करिअरमा एकाएक संकटको छाया पर्‍यो । पप गायकको जल्दोबल्दो छवि धरमरायो ।

तर, समय क्रममा उनले आत्मैबाट आफ्नो गल्ती महसुस गरे । आफूलाई सम्हालेर उठाए । संगीतको उही रफ्तारमा पाइला बढाए । यसैले अहिले कुनै समयमा गाएको गीतमा भने झैं पुरानो कथा नदोहोर्‍याउने अठोटमा बाँधिन सकेका छन् ।

 गायकसँगै हिरो बन्ने रहर

फिल्ममा हिरोको फूर्तिफार्ति र प्रभाव देखेर सुगम स्कुले बेलामा लोभिन्थे – ‘पछि त हिरो बन्ने हो म ।’

नेपाली फिल्मको परम्परागत मान्यताअनुसार उनको अनुहार पनि कलकलाउँदो र चटक्क मिलेको छँदै थियो । अझ उमेरमा यसमा छरितोपन आयो । स्कुलका विभिन्न कार्यक्रममा गीत गाउन भने थालिसकेका थिए ।

पछि के बन्छु भन्ने सोच नपाकिसकेको बेलामै ‘विराटनगरिया’ हावा लागिसकेको थियो उनीमा । फिल्महल धाउने र हिरोको सपना पाल्ने । विराटनगरदेखि १६ किलोमिटर टाढाको भलुवा मंगलबारे भन्ने ठाउँमा जन्मे-हुर्के पनि उनी पढ्न भने विराटनगर बसेका थिए । सात कक्षामा पढ्दा ‘लछमनिया’ नामको टेलिसिरियलमा अभिनय गर्ने मौका पाए । तर, त्यही बेलादेखि उनको सोच भड्कियो । अभिनय गर्ने मोह एकाएक भंग भयो । ‘एउटा सटका लागि पचासौं टेक लिनुपर्ने र अनेक जञ्जाल देखेर यो क्षेत्र त मेरो लागि हैन रै’छ भन्ने लाग्यो,’ हिरोको सपना भत्किएको कहानी सुनाउँछन् सुगम । आफू गीत गाउनकै लागि ठीक छु भन्ने लाग्यो । साथीहरूले राम्रो गाउँछस् भन्थे । यो हुटहुटीसँगै काठमाडौं गएर आफ्नो नामको एउटा एल्बम चाहिँ निकाल्छु भन्ने रहर सजाए ।

उनका साथी मणिराम पोखरेल भने नाटक खेल्न चाख दिन्थे । आफ्नो बाटो नछाडेका मणिराम अहिले नाटक, टेलिफिल्मका साथै फिल्महरूमा समेत देखिन थाल्दा सुगम खुसी मान्छन् । उनले पनि हिरो बन्ने आफ्नो तलतल कहाँ त्यसै छाडेका छन् र ! हाँस्दै सुनाए – ‘म्युजिक भिडियो गर्दा मोडेल बनेर हिरो बन्ने तृष्णा मेटाइरहेको छु ।’

 रेडियो मेरो पाठशाला

विराटनगरबाट काठमाडौं आएपछि संगीतमा केही गर्नुपर्छ भन्ने सोच थियो । तर, रहर सिवाय केही थिएन । उनी अनामनगर घट्टेकुलोमा रंगकर्मी दाइ सुनील पोखरेलसँगै डेरामा बस्थे । सुरुवातको समयमा संगीतको बाटोमा अघि बढाउन दाइ नै सहयोगी भए ।

विराटनगरबाट आएर गायक बन्ने रहर पाल्ने उनी मात्र एक्ला थिएनन् । कलेज पढ्ने क्रममा सुदिन पोखरेल भेटिए । दुवैले साथी सर्कलमा एक-अर्काको नाम पहिल्यैदेखि सुनिरहे पनि भेट भएपछि आ-आफ्नो रहर फुकाए – ‘लु ब्रो, अब हामी गीत रेकर्ड गर्ने !’

कुरा हो ०५२ सालको । सुनील दाइले दुवैलाई मैतीदेवीस्थित गायक/संगीतकार आभास फुयाँलको नाद रेकर्र्डिङ स्टुडियोमा पुर्‍याए । त्यहाँ उनीहरूले ‘म माया गर्छु’ बोलको गीत रेकर्ड गरे । आफ्नो पहिलो गीत रेकर्ड भएपछि सुगम र सुदिन त यसै दंग थिए । सुनीलले भने केटाहरूले गरी खाँदैनन् भनेर ओठ लेप्य्राए । नभन्दै त्यो गीत सुपर फ्लप भयो । कतै बजेन । त्यसपछि रेकर्ड गरेका अरु दुईवटा गीत पनि चलेनन् । सुदिन पढाइतिर लागे पनि सुगमले भने गाउन छाडेनन् । अब गहिरिएर लाग्नुपर्छ भनेर अघि बढे ।

गाएर मात्र पेट भर्ने कुरा थिएन । उनी ०५५ सालमा रेडियो सगरमाथामा लाइब्रेरियनको रूपमा जागिरे भए । त्यस क्रममा दोहोरी गायकदेखि पप गायकसम्मलाई उनले भेट्न पाए । फरक विधाको संगीत बुझे ।

वातावरण पत्रकार समूहले चलाएको सामुदायिक रेडियोमा गुदी भएका मान्छेहरूको चहलपहल पनि त्यत्तिकै हुन्थ्यो । रघु मैनाली, मधु आचार्य, किरण नेपाल, जितेन्द्र राउत जस्ता अग्रज पुस्ताका साथै विजय पौडेल, हिमाल न्यौपाने, नारायण श्रेष्ठ,सरोज अर्याल जस्ता विचारशील मान्छेहरूको सरसंगति गर्न पाए । त्यो बेला रेडियोमा प्रकाश सायमी, उपेन्द्र अर्यालले पनि कार्यक्रम चलाउँथे ।

उनी सम्झिन्छन् – ‘गुदी भएका यी मान्छेहरूको संगतले बोल्ने र काम गर्ने मेरो शैलीमा धेरै निखार आयो । काँचो उमेरमै धेरै कुरा सिक्न पाउँदा मेरो लागि रेडियो राम्रो स्कुल बन्यो । त्यो रेडियोको साटो अरु कुनै ठाउँमा गएको भए यहाँसम्मको यात्रा तय गर्न सक्दिनथेँ जस्तो लाग्छ ।’

 रेडियो सगरमाथामा १३ वर्ष काम गरे उनले । त्यस क्रममा नेपाली समाज र गीत संगीतलाई नजिकबाट बुझ्न पाए । त्यसबाट जीवन र सांगीतिक करिअर अघि बढाउन सजिलो भएको उनलाई लाग्छ । रेडियोमा काम गरिरहँदा उनी विज्ञापनमा बोल्थे । भ्वाइस ओभर गर्थे । अरुको गीत कम्पोज गर्नुका साथै गीत पनि लेख्थे ।

 रेडियोमा काम गरेकै समयमा सुगमले सीवी खत्रीसँग साढे तीन वर्ष गितार सिके ।

घट्टेकुलो डेराबाट ललितपुर बखुण्डोलमा रेडियो पुग्थे । त्यहाँबाट आरआर क्याम्पसमा क्लास लिएपछि न्युरोडमा गितार सिकेर कोठा फर्कँदा रातिको ८/९ बज्थ्यो । ‘भोकल क्लास भने मैले कतै लिइनँ । आफ्नै अभ्यासले अघि बढेँ,’ उनी भन्छन् ।

सुरुवातका असफल गायकको जीवनमा ०५८ सालले बहार ल्याइदियो । ‘मेरो संसार तिमी नै हौ’, ‘फेरि त्यो दिन सम्झन चाहान्नँ’ गीतको सिंगल ट्र्याक एफएमबाट रिलिज गर्दा थामिनसक्नुको लोकपि्रयता पाए सुगमले । भन्छन् – ‘त्यति चर्चा अलिक अपेक्षा गरेको थिइनँ । जुनसुकै मान्छेको जीवनमा भगवान्ले एकचोटि ठूलो उपलब्धि दिन्छन् जस्तो लाग्छ । मैले पनि त्यो उँचाइको माया र चर्चा पाएँ ।’

Sugam Pokhrel (7)

त्यसको अर्को वर्ष उनले पहिलो एल्बम ‘हाइवे’ निकाले । त्यही वर्ष प्रेम विवाह पनि गरिसकेका थिए । जीवनसाथी लिजाको आगमनसँगै करिअरले पनि साथ दिएको उनलाई लाग्छ । भन्छन् – ‘यहाँसम्म आफ्नै मिहिनेतले आएँ । यसमा भाग्यले पनि साथ दिएको छ ।’ अचेल लिजा नै उनको संगीतयात्राको सल्लाहकार र आलोचक बनेकी छिन् । कुन गीत गाउने-नगाउने, कुन राम्रो-नराम्रो भनेर सल्लाह पाउँछन् । साथमा १० वर्षे छोरी एन्जलिजाले पनि गीतको पारख गर्छिन् ।

सुगम स्वतन्त्रतालाई औधि प्यारो मान्छन् । लाइब्रेरियन हुँदै माथिल्लो तहसम्म पुगेर व्यवस्थापनको काम समेत हेर्नुपरेपछि उनलाई उकुसमुकुस भयो । रेडियो कर्म छाडेर संगीतमै केन्दि्रत हुन थाले ।

 गाउँदागाउँदै गाउन सिकेका हुन् उनले । रहरको गायनदेखि सिक्दै गाउने क्रममा पप र आधुनिक गीतको आसपास रहेर उनले गाइरहेका छन् । सुरुमा उनलाई गायक नै नमान्नेले पनि समय क्रममा उनलाई स्याबासी दिए । उनको साधनामा गर्व गरे । आठ/नौ वर्ष अगाडि सुनील दाइसँग भेट हुँदा उनले आफ्ना केही गीत सुनाए । गीत सुनेर दाइले उनलाई गम्लंग अँगालो हाले – ‘मेरो भाइ, मैले तँलाई चिनेको रैनछु । मैले त तँलाई पुरानै दृष्टिबाट हेरिरहेको थिएँ । मान्छेहरूले चर्चा गर्थे, मैले पत्याएको थिइनँ । तँ त गायक बनिसकिछस् ।’ पहिले गायक नमाने पनि पछि सुनीलले ‘मेरो जीवन यस्तो होस्’ भन्ने गीतको म्युजिक भिडियोमा अभिनय समेत गरे ।

सुगमलाई आफ्नो पहिलो चिनारी सुनील पोखरेलको भाइ हो भन्ने लाग्छ । अनि मात्र गायक ।

फेरि त्यो दिन सम्झन चाहान्नँ

सगरमाथाको उचाइतिर लागिरहँदा आरोहीलाई आँधीबेहरीले दुःख दिन सक्छ । आखिर मौसमको खेल न हो, कति बेला आँधी चल्छ, ठेगान हुँदैन । जीवनको आरोहण पनि यस्तै हो ।

झन् सफलताको चुलीमा पुगेर एउटा नाम बनाइसकेकामाथि प्रहार गर्न बदनामी बाटो ढुकेर बसिरहेको हुन्छ । लागूऔषध प्रकरण यस्तै भयो सुगमको जीवनयात्रामा ।

फर्केर हेर्दा उनी यो घटनाको ढाकछोप र पछुतो गर्नमा अल्झिँदैनन् । दुर्व्यसनलाई पार लगाइसकेको बाटो भन्दै एउटा पाठको रूपमा हेर्छन्, गुनगुनाउँछन्, ‘फेरि त्यो दिन सम्झन चाहान्नँ …

भिडियो

त्यो घटनालाई उनी धावकसँग तुलना गर्छन् । जसरी एउटा धावकका लागि लड्नु भनेको बीचमा शक्ति सञ्चय गर्ने मौका हो ।

उनलाई पनि आफू को हुँ र के गर्नुपर्ने रै’छ भन्ने वास्तविकता बुझ्ने अवसर भइदियो । मान्छेहरू सिक्नलाई अरुको जीवनकथा पल्टाउँछन्, उनले आफ्नै जिन्दगीबाट सिके ।

लागू औषध लिएको अभियोगमा प्रहरीले उनलार्इ हिरासतमा राख्यो । तर, भोलिपल्टै क्लिन चिट पाएर छुटे र घरमै सामान्य हिसाबले बसे । यदाकदा घर बाहिर टहलिन्थे । कुनै रिहाब सेन्टरको सहारा आवश्यक परेन । ‘डेढ-दुई महिनापछि त कन्सर्टमा निस्किन थालिसकेको थिएँ । ठूलै अपराध गरेको थिएँ भने कन्सर्ट पाउँदिनथेँ होला, मैले त आफ्नै परिवारलाई सबभन्दा बढी चोट पुर्‍याएको थिएँ । खासगरी श्रीमती र छोरीको बारेमा सोचेर दुःख लागेको थियो,’ उनले सुनाए ।

केही महिनाको अन्तरालमा संगीतमा फर्किएपछि उनले त्यतिबेला यसलाई एउटा अन्त्यपछिको सुरुवातका रूपमा परिभाषित गरेका थिए ।

तीन वर्षअघिको समयमा लागूऔषध फाट्टफुट्ट मात्रै प्रयोग गर्थे उनी । करिब तीन महिना भने नियमित प्रयोगकर्ता बनेका थिए । तर, त्यतिबेला मिडिया र चर्चामा जुन तरिकाले बाहिर आयो, त्यस्तो खास थिएन भन्छन् उनी ।

कतिपय ब्रोडसिटमा उनी लागूऔषधसहित पक्राउ परेको समाचार पहिलो पृष्ठमै छापियो । अझ फलो अप समाचार आइरह्यो । यो देखेर रमाइलो लाग्यो रे उनलाई । ‘म सामान्य मान्छे हुन्थेँ भने केही चर्चा हुँदैनथ्यो । आफैंलाई लाग्यो – देशको लागि केही गरेको रै’छु, चानचुने मान्छे हैन रै’छु । सुध्रिनुपर्छ भनेर त्यसलाई अझ सकारात्मक रूपमा लिएँ,’ उनले सुनाए ।

नामको ख्याति र पैसा भइसकेपछि सौखिन जिन्दगी बिताउने विदेशी कलाकारको प्रभाव आफूमा परेको उनलाई लाग्छ । भन्छन् ‘धेरै जना दुर्व्यसनमा लागेर बिग्रिएका छन् । एउटा उमेरमा केही समयका लागि अवगुण आए पनि मैले समयमै चेतेँ । त्यो चिजलाई भोगेर र जितेर आइसकेको छु । आजको दिनमा कसैले गर्ने टीका-टिप्पणी र तारिफभन्दा आफूलाई पर राखिसकेको छु । जीवनमा अघि बढ्ने अब आफ्नै मान्यता छ ।’

Sugam Pokhrel (4)

भनिन्छ, जब मानिसलाई संकट पर्छ, त्यसबेला आफन्त र पराइ चिन्ने मौका पाउँछ । लागूऔषध प्रकरणपछि उनले पाएको शुभेच्छुकको साथ र हौसलालाई धन्य मान्छन् सुगम । भन्छन्, ‘कलाकारिताको यात्रामा अहिलेसम्म कसैको कुभलो चिताएको छुइनँ । मलाई शुभ चिताउने पनि यत्तिका मान्छे हुनुहुँदो रै’छ । अझ ऊर्जा पाएँ । जिन्दगीलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो । सबैको साथले चाँडै संगीतमा फर्किएँ ।’ आफ्नो प्यारो गायकमा परिवर्तन आएको देखेर खुसी मान्छन् फ्यानहरू ।

आफ्नो अठोटले परिवर्तन सम्भव हुन्छ भनेर देखाए उनले । उनकै शब्दमा आफ्नो ‘अतिवादी’ स्वभाव बताए, ‘म कुनै पनि कुरा गर्‍यो भने हदैसम्म गर्छु र छोड्नुपर्‍यो भने पनि त्यहीअनुसार चटक्कै छोड्छु । हृदयको देब्रे पाटोमा भित्र कतै छोयो भने म जे पनि बदल्न सक्छु । मनमा छोएर नै बदलिने शक्ति आयो ।’

केही महिनाको अन्तरालपछि संगीतमा आउँदा त्यतिबेला केही मान्छेले सुगमको कमब्याकको कुरा पनि गरे । तर, उनी कम ब्याकको कुरा मान्दैनन् । ०५२ सालदेखि उही रफ्तारमा लगातार संगीत गरिरहेको बताउँछन् । आफूसँगै आएका धेरैजसो कलाकार अहिले यो क्षेत्रमै नभएको अवस्थामा आफ्नो सक्रिय उपस्थिति उनको लागि खुसीको कुरा छ ।

आज लागूऔषधको कुलतमा फसेका युवा धेरै घरमा छन् । तिनको कुलत छुटाउन घर-परिवार र समाजको साथ महत्वपूर्ण हुन्छ भन्ने उनलाई लाग्छ । भन्छन् – ‘दुर्व्यसन एउटा मानसिक रोग मात्र हो । मान्छेले क्षणिक आवेशमा रमाइलोको लागि गरिरहेको हुन्छ । परिवारले राम्ररी सम्झाएर, साथ दिएर गाइड गर्‍यो भने त्यो मान्छे सुधि्रन्छ ।’

आफ्नै विगतबाट पाठ सिकेर आजभोलि सुगम लागूऔषधविरुद्ध सचेतना जगाउने अभियानहरूमा जुटेका छन् । गीत-संगीतमा लागेयता समाजले दिएको नाम र ख्यातिको बदलामा समाजलाई पनि केही दिइरहने उनको सोच छ ।  संगीतमार्फत सचेतना फैलाउन जाँदा उनी कुनै कुरा लुकाउँदैनन् । आफ्नो कुरा खोल्दै हौसला दिन्छन् – ‘म पनि पहिला कुलतमा लागेको थिएँ, तर आज परिवर्तन भएको छु । तपाईँ पनि पक्कै सक्नुहुन्छ ।’

कुलतमा परेका युवालाई समाजसँग जोड्न अझ धेरै गर्न आवश्यक देख्छन् सुगम । अझै केही संस्थासँग मिलेर बृहत् रूपमा जाने कुरा भएको छ ।

हल्ला नगरी काम गर्ने स्वभाव छ उनको । संगीतकर्मी केही साथीहरूसँग मिलेर नरत्भा फाउन्डेसन नामको संस्था चलाएका छन् । त्यसमा आशिष पराजुली, सञ्जीव सिंह जस्ता साथीहरूको हातेमालो छ । उनीहरूले खल्ती-खल्तीबाट पैसा हालेर आर्थिक रूपमा कमजोर बालबालिकालाई पढाइरहेका छन् । अहिले देशका विभिन्न ठाउँका सात बालबालिकालाई खर्च जुटाइरहेका छन् । पढेको मान्छेले आफ्नो परिवारका पाँचजनालाई प्रभाव पार्छ भन्ने मान्यताले शिक्षित समाजको लागि काम गर्दा उनलाई निकै सन्तोष लागेको छ ।

०००

सुगम पप संगीतमा चम्किन थालेको समयमा सञ्जीव सिंह, एस कुमार, अनिल सिंह, प्रमोद निर्वाण लगायत गायकहरू केही अघि-पछिको समय पारेर यात्रामा जोडिएका थिए ।

उनको पुस्ता नविन के भट्टराई र निमा रुम्बापछिको हो ।

नेपालको संगीत क्षेत्रमा हरेक दस वर्षमा एउटा पुस्ता आउँछ भन्ने लाग्छ उनलाई । उनले ०५२ सालदेखि गाउन थाले पनि ०५७ सम्मलाई आफ्नो असफल यात्रा मान्छन् । ०५८ देखि हिसाब गर्ने हो भने पनि उनको पुस्ताको दस वर्ष बिदा भइसक्यो । यो बिदाइसँगै त्यो पुस्ताका धेरै गायक/गायिका हराइ पनि सके । सुगम भने अझै किन दृश्यमै छन् त ? उनी भन्छन् ‘चर्चाको फेज सकिए पनि एउटा कलाकार आफ्नो साधना र सक्रियताले बाँच्ने हो । दीप श्रेष्ठ दाइ जमानादेखि गीत गाए पनि अझै गाइरहनुभएको छ । हामी उहाँको ठाउँमा कहिले पनि पुग्न सक्दैनौं । नयाँ गीत हिट भए पनि नभए पनि उहाँले बनाएको उँचाइले त्यो स्थान सुरक्षित रहन्छ । समयअनुसार आफू अपडेट चाहिँ भइरहनुपर्छ । म त्यही गरिरहेको छु ।’

उनको पुस्ताका धेरै पात्र हराइसक्दा उनी भने गीत छानेर गाउने-नगाउने निर्णय गर्ने क्षमता राखिरहेका छन् । अफर आए जति सबै गीत गाउँदैनन । उनलाई लाग्छ – ‘पहिले त गीत मन पर्नुपर्‍यो, त्यसमा आफ्नो कलाकारिता देखाउन पाउनु पर्‍यो ।’

प्रायः पप गीतमै रमाउने उनी केही वर्षयता फिल्मका गीत गाइरहेका छन् । पप गीतसँगै अरु किसिमका गीत गाउने परिचय पनि बनाउँदै गएका छन् । पछिल्लो पटक ‘प्रेमगीत’ र ‘नाइँ नभन्नु ल ४’ का गीतबाट चर्चा र माया बटुले ।

फिल्मका गीतसँगै आफ्नो सिर्जनालाई पनि निरन्तरता दिनु छ । सातौं एल्बम ‘श्वेत हंसिनी’ को तयारीमा छन् । एल्बमको नामबाटै उनी भावपूर्ण शब्द प्रयोगमा कति सचेत छन् भन्ने देखिन्छ । भन्छन् – ‘पहिलो एल्बम हाइवेपछि अरु एल्बमका नाम नेपालीमै राखेँ । नाम अलिक पृथक् होस् भनेर खोजी गर्दा एकदम मिहिनेत पर्छ ।’ अंग्रेजी शब्दको जथाभावी प्रयोगले नेपाली भाषालाई खाएको देखेर पनि उनले विशेष ध्यान दिन थालेका हुन् । श्वेत हंसिनी (सेतो हाँस) आम मान्छेले नबुझ्लान् कि भन्ने एक मनमा छ । तर, उनलाई लाग्छ- यस्तो शब्द पनि प्रयोग गरेर विस्तारै बुझाउँदै जानुपर्छ ।

कुनै दिन किताब लेख्न सक्छु

सुन्ने संगीत कम भएर हेर्ने संगीत बढिरहँदा संगीतकर्मी साथीहरूबीच पनि कुरा हुँदो रै’छ- ‘फलानाको नयाँ गीत हेरिस् ?’ म्युजिक भिडियोको क्रेज रहिरहँदा सुगम भने गहन भाव दिने अर्थपूर्ण गीत सिर्जनामा पहिल्यैदेखि ध्यान दिइरहेका छन् । एसिया क्षेत्रका मान्छेहरू बाहिर जतिसुकै झिलिमिलीमा हराए पनि अन्ततः भावनाप्रधान गीत नै सुन्छन् भन्ने उनलाई लाग्छ । यसैले उनले बजारको रुचि र आफ्नो आत्माले खोज्ने संगीत सँगसँगै गर्ने गरी नियमै बनाएका छन् – केही गीत मासको लागि, केही गीत क्लासको लागि ।

sugan_455आत्माले चाहेको काम गर्न पाएकोले उनी आफूलाई सन्तुष्ट मान्छन् । धेरै ठूलो सपना छैन । राति सुत्दा आनन्दको निद्रा लाग्छ । आफूलाई सेलिब्रिटी हैन, साधारण मान्छे मान्छन् ।

जीवन हो, अनेक भावहरू आउँछन् मनमा । कहिलेकाहीँ भीडमा पनि एक्लो महसुस गर्छन् उनी । दुःख पर्दा चलचित्र हेरेर मन हल्का पार्ने उपाय निकाल्छन् । सम्भव भए नजिकका मान्छेसँग कुरा पोख्छन् । अझ दुःखलाई शक्तिमा बदल्दै गीत लेखेर, संगीत कम्पोज गरेर सबै बह गीतमै पोख्छन् । ‘त्यस्तो अवस्थामा बनाएको गीतमार्फत एउटा आत्माले भोगेको पीडा अर्को आत्माले सुन्छ । गीत पनि चल्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।

पछि कुनै दिन किताब लेख्ने पनि योजना छ सुगमको । बौद्धिक मान्छेहरूको सरसंगतबाट दिमाग पाकेकै छ । फिक्सनका साथै इतिहासका कुरा पढ्न मन पराउँछन् । पढ्ने कुरामा सुनील दाइबाट पनि प्रभावित छन् । धेरैजसो किताब दाइ र दिदीहरूबाट लिएर पढेका छन् ।

पढ्दा रमाइलोसँगै केही कुरा सिकियोस् भन्ने लाग्छ उनलाई । अंग्रेजी र हिन्दी किताब पढे पनि नेपाली पढ्दा आत्मीय लाग्छ । अहिले पढिरहेको कुमार नगरकोटीको ‘मिस्टिका’ उपन्यास प्रयोगका हिसाबले दिमाग तरंगित पार्ने खालको लागिरहेछ उनलाई । यसपछि मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ र बुद्धिसागरको ‘फिरफिरे’ पढ्ने मन छ ।

सुगमले बाँच्ने क्रममा भोगेको कुरा- जिन्दगी उतारचढावको यात्रा हो ।

जिन्दगीमा भोगाइहरू बाँकी रहँदै परिभाषा कोर्नेहरूको कमी छैन । भर्खर १७/१८ वर्षका ठिटा-ठिटी जिन्दगीमा यस्तो दिन देख्या थिइनँ भनेर थकथकी मान्दै हिँडेको देख्दा उनलाई अचम्म लाग्छ ।

जिन्दगी नबुझ्दै र नदेख्दै फैसला सुनाउनेहरूको हतारो छ संसारमा । उनलाई भने बल्ल त जिन्दगी बुझ्ने कोसिसमा छु भन्ने लाग्छ । जिन्दगी सीधा बाटोमा कहिले पनि हिँड्दैन । बाटो हिँडिरहँदा जाम होला, वैकल्पिक बाटो खोजिरहनुपर्छ भन्छन् । यसलाई उदाहरणमा खुलाउँछन् ‘मुटुको चाल देखाउने मेसिनले ग्राफमा लाइन सीधा बाटोमा हिँडेको देखायो भने मान्छे मरेको हुँदो रैछ । तल र माथि भयो भने मात्र बाँचेको हुन्छ । हामी बाँच्ने क्रममा पनि जिन्दगीमा आरोह-अवरोह भएन भने मान्छेले जिन्दगी बुझ्दैन ।’

माथि चढेपछि तल ओर्लनुपर्छ र फेरि चढ्ने कोसिस गर्नुपर्छ भनेर हिँडिरहेका छन् सुगम । यो पालि भने उनी बाटो बिराएर आफैंलाई गुनासो गर्ने यात्रामा छैनन् ।

तस्वीरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment