Comments Add Comment

वेल्जियममै प्रोडक्शन हाउस खोल्छुः श्याम श्रेष्ठ

shyam shrestha
चलचित्र ‘नमस्ते नेपाल’को प्रदर्शनका लागि नेपाल आएका कलाकार श्याम श्रेष्ठ अहिले बेल्जियम फर्किसकेका छन् । उनले ‘भिमदत्त र नमस्ते नेपाल’ नामक चलचित्रमा अभिनय गरेका छन् ।

‘नमस्ते नेपाल’बाट दर्शकले दिएको प्रतिक्रियाले हौसिएका श्याम आफूलाई एक्सन हिरो बन्न सुझाव आएको बताउँछन् । बेल्जियम फर्किनुअघि उनले अनलाइनखबरसँग कुरा गर्दै यूरोपमा नेपाली चलचित्रको बजार, आफ्नो करिअरको बिषयमा बोलेका छन् ।

८-९ बर्षको उमेरमै नाटकमा काम गर्न सुरु गरेका श्यामले ‘प्रेमको बलिदान, सहनशिला सुसिला, मृत्युदिवस’ लगायतका नाटकमा काम गरे । २ दशकदेखि यूरोपमा बस्दै आएका उनले आफू लामो समयदेखि निष्त्रिmय भएर बसेपनि ‘भिमदत्त’मा काम गरेपछि जुरमुराएको बताउँछन् ।

चलचित्र ‘नमस्ते नेपाल’ बन्नुमा ‘भिमदत्त’ चलचित्रको ठूलो हात रहेको उनको वुझाई छ । अब उनी यूरोपमै रहेर प्रोडक्शन हाउस संचालन गर्ने सोचमा छन् । उनले भने-‘अब वेल्जियमसँगै सिंगो यूरोपमा चलचित्र निर्माण, वितरणको काम गर्छु । स्तरिय नेपाली चलचित्रहरुलाई वितरण गर्ने सोच बनाएको छु ।’

बेल्जियम नेपाली चलचित्रका लागि राम्रो बजार हो भन्ने उनको वुझाई छ । हुनत, अहिले पनि चलचित्र प्रदर्शनको समयमा टिकट विकाउनु नै पर्छ । तर, अब विस्तारै वेल्जियमका दर्शकमा नेपाली चलचित्र हेर्ने बानीको विकास भएको उनी सुनाउँछन् ।

वेल्जियमा चलचित्र बनाउनका लागि निर्माताहरु तयार रहेको उनको वुझाई छ । तर, दक्ष जनशक्तिको अभाव हुनु, नेपालबाट टोली लगेर सुटिङ गर्दा महंगो पर्ने भएकाले पनि यूरोपमै पूर्वाधारको विकास गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रशासनिक रुपमा सबै तयारी पुरा गरेको खण्डमा यूरोपमा चलचित्र छायांकन गर्न कुनै अवरोध नहुने उनी बताउँछन् । चलचित्र ‘नमस्ते नेपाल’ छायांकनको समयमा सबै प्रशासनिक प्रक्रिया पुरा गरेकाले सहज भएको उनले सुनाए ।

कार्यक्रमको सिलसिलामा यूरोप पुग्ने कलाकारको बिषयमा पनि उनको अनुभव रोचक छ । खुलस्त बोल्ने श्यामले भने-‘कार्यक्रमका लागि हामीले चलेकै कलाकार खोज्ने हो । तर, धेरै कलाकार हामीलाई यूरोप पुग्ने भर्‍याङ बनाउँछन् । तर, यूरोप पुगिसकेपछि उनीहरुको नखरा अचम्म लाग्दो हुन्छ ।’

आयोजकसँग ठूला कुरा गर्ने, आफूलाई भयंकर नै सोच्ने, कार्यक्रममा दुख दिने कलाकारको संख्या बढी भएको श्यामसँग तितो अनुभव छ । यतिमात्र होइन, चलचित्रका लागि उनलाई गजबको अफर आउँदो रहेछ । श्यामले भने-‘सुरुमा त तपाइले यूरोपसम्म लैजाने बाटो निकालिदिनुहोस् भन्छन् । पर्न सक्ने अप्ठ्यारो मिलाइदिनु भन्छन् । तर, पछि विस्तारै तपाई कति रकम लगानी गर्नुहुन्छ भन्छन् ।’

श्याम यूरोपमा नेपाली चलचित्रको विस्तार मात्र गर्न चाहदैनन्, हलिउडसम्म पुग्ने तयारी पनि गर्दैछन् । उनले ‘आइरन स्काई २’ नामक हलिउड चलचित्रका लागि आफूले अडिशन दिएको बताए । फेरि, एकपटक हलिउड चलचित्रका लागि अडिशन दिने उनको सोच छ । केही बलिउड चलचित्रका लागि पनि कुरा भैरहेको उनले सुनाए ।

आफूलाई रोमान्टिक चलचित्र नसुहाउने भन्दै उनले एक्सनमा जम्न सक्ने बताए । सेफ्टी अपनाएर काम गर्ने हो भने जस्तोसुकै एक्सन दृश्य पनि दिन सक्ने आत्मविश्वास उनीसँग छ ।

उनले अहिलेसम्म बेल्जियममा ‘लप्पन छप्पन र नमस्ते नेपाल’को टिमलाई लगिसकेका छन् । आफूले बोलाएका सबै कलाकार फर्किएको उनले सुनाए । नफर्किएको खण्डमा उनीहरुले ठूलो मुल्य चुकाउनु पर्ने श्यामको चेतावनी छ ।

श्याम अब नयाँ चलचित्र बनाउने तयारीमा छन् । यूरोपमा नै छायांकन हुने चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार हुने उनले सुनाए । नेपाली भाषामा गीत राखेपनि अंग्रेजी भाषामा गीत नराखी चलचित्र खिच्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment