Comments Add Comment

सरकारमा नेतृत्व गर्न कांग्रेसभित्र चार आकांक्षी

मन्त्री छानेपछि मात्रै देउवाले पार्टी पदाधिकारी मनोनयन गर्ने

Bimalendra-sitaula

१० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएलगत्तै सोमबार बिहान कांग्रेस सभापति शेरवहादुर देउवाले आफू निकट केही प्रभावशाली नेताहरुसँग अबको सरकार गठनका बारेमा परामर्श गरेका छन् ।

सत्ता समीकरण बनाउन खटिएका नेताहरुसँग देउवाले पार्टीको पदाधिकारी चयनलाई समेत ध्यान दिएर सरकारमा जाने टिम तय गर्ने संकेत दिएको एक कांग्रेस नेताले बताए । देउवा सरकार गठनपछि पार्टी पदाधिकारी मनोनित गर्ने सोचमा छन् ।

विधानअनुसार दुई महिनाभित्र उपसभापति महामन्त्रीलगायतका पदाधिकारी मनोनयन गर्नुपर्ने भए पनि आफ्नै टिमभित्र नेताहरु धेरै आकांक्षी भएपछि देउवा प्रचण्डसँग मिलेर ओली सरकार ढाल्न अग्रसर भएका थिए ।

पार्टीका पदाधिकारीको आकांक्षा मिलाउनकै लागि सरकार ढाल्न हतार गर्नुपरेको ती नेताले बताए । देउवाका लागि अब विमलेन्द्र निधीको व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण बनेको छ ।

निधीले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित पार्टीबाट नेतृत्व गर्ने र पार्टीमा उपसभापति पनि पाउनुपर्ने दाबी गरेका छन् । उपसभापतिमा खुमबहादुर खड्काको दाबी बलियो छ ।

उपसभापति नपाए आफ्ना कम्तिमा ५ केन्द्रीय सदस्यसहित देउवाको साथ छाड्ने तयारीमा खुमबहादुर छन् । तथापि खड्कालाई उपसभापति दिने पक्षमा देउवा छैनन् । यसैलाई निहुँ बनाएर खुमबहादुरले साथ छाडेमा सिटौला र केबी गुरुङ समूह मिलाएर क्षतिपूर्ति गर्ने देउवाको रणनीति छ ।

सरकारमा कसको नेतृत्व ?

कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्वमा जानेमा चार जनाको नाम छलफलमा छ । विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र अर्जुन नरसिंह केसीको नाममा छलफल भइरहेको देउवानिकट स्रोतले जनाएको छ ।

ओली सरकार ढाल्न आन्तरिक र बाहृय समर्थन जुटाउन मुख्य भूमिका खेलेका कारण निधीको दाबी बलियो छ । तर, उनले उपसभापतिमा पनि आफ्नो बलियो दाबी कायम राखेका छन् । यसका लागि उनले देउवामाथि विभिन्न शक्तिकेन्द्रबाट दबाव बढाइरहेको कांग्रेसका एक नेताले बताए ।

देउवा गोपालमानलाई संसदीय दलको उपनेता र सरकारमा नेतृत्व दिएर उनलाई अन्तिमपटक अवसर दिन इच्छुक रहेको चर्चा पनि कांग्रेस वृत्तमा चलेको छ । तर, उनलाई बनाउँदा पार्टीको शक्ति सन्तुलनमा खासै असर गर्दैन ।

कृष्णप्रसाद सिटौला उपप्रधानमन्त्री र गृहमन्त्रीका अर्का प्रमुख दाबेदार हुन् । अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री दाबी गरे पनि अन्तिममा उनलाई रोजेको मन्त्रालय दिएर न्याय गर्ने सोचमा देउवा रहेको उनका सहयोगीहरु ब्ाताउँछन् ।

सिटौला उपप्रधानमन्त्री नभएमा गगन थापा र भीमसेनदास प्रधान उनको टीमबाट मन्त्रीका दाबेदार हुन् । त्यसो त गृहमन्त्रीमा पूर्णबहादुर खडकाको नाम पनि कांग्रेसभित्र चर्चामा छ ।

कांग्रेसले १३ मन्त्रालय पाउने मोटामोटी सहमति भएको देउवा निकट नेता रमेश लेखकले बताए । तर, मन्त्रालय बाँडफाँडकै टुंगो नलागेका कारण को-को मन्त्री बन्ने भनेर छलफल नै नभएको उनले बताएका छन् ।

कांग्रेसबाट यसपटक मन्त्रीमा निश्चित भएका नेताहरुमा डा.शेखर कोइराला, प्रकाशशरण महत, बालकृष्ण खाँड, मीन विश्वकर्मा, अर्जुन जोशी लगायत छन् । रामचन्द्र पौडेलले कम्तिमा ६ मन्त्री दाबी गरे पनि देउवाले मान्ने संकेत नदेखिएको एक पदाधिकारीले बताए । रामचन्द्र पौडेलबाट आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, जीवन परियार र कमला पन्तको नाम अघि सारिएको छ । शेखर कोइराला पछिल्लो समय कांग्रेसमा दुबै गुटको समन्वयकर्ताका रुपमा रहेका छन् ।

नविन्द्रराज जोशीलाई मन्त्री बन्न नदिन प्रकाशमान सिंह लागेका छन् । सिंहले प्रचण्डलाई काठमाडौं १० मा पराजित गर्ने राजन केसीलाई पोर्टफोलियो सहितको राज्यमन्त्री दिनपर्ने भनेर पौडेललाई दबाव दिइरहेका छन् ।

पार्टी महामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाएर बालकृष्ण खाँडलाई मन्त्री बनाउने तयारी देउवाको छ । त्यस्तै मानबहादुर विश्वकर्मालाई सहमहामन्त्री बनाएर मीन विश्वकर्मालाई सरकारमा पठाउने रणनीति उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment