Comments Add Comment

‘विप्लव’ले यसरी जलाए चित्रबहादुरको ‘सपना’

नौ लाखमा किनेको ट्याक्सी ९ मिनेटमै खरानी !

Taxi Agolagi (2)

१० साउन, काठमाडौं । सोमबार बिहान कात्यानीचोकमा भेट हुनासाथ चित्रबहादर खत्रीले बरर आँसु झारे । उनी निःशब्द थिए । मन त थियो, डाँको छोडर रोउँ । तर, कसले सुनिदिने यी १९ वर्षे किशोरको पीडा ?

नौ लाख रुपैयाँमा किनेको ट्याक्सी एकविहानै आफ्नै आँखा अगाडि जल्यो । तर, खत्रीले केही गर्न सकेनन् ।

तीन वर्षअघि एसएलसी सकेर गाउँबाट काठमाडौं आएका खत्रीले आफैंले ट्याक्सी किनेर चलाउन थालेको साउन २ गते एक महिना भएको थियो । उनले ९ लाखमा किनेको ट्याक्सी एक महिना ९ दिनमात्रै चलाउन पाए ।

०००

खत्रीले सोमबार ‘बन्द छ’ भन्ने त गाइँगुइँ सुनेका त थिए । तर, ऋणको बोझ बोकेकाले उनको मन मानेन । सोमबार दिउँसो बन्द भएर के भो, रातभरि त चलाउन पाइएला भनेर आइतबार राति उनी ९ बजेतिर ट्याक्सी लिएर घरबाट निस्किए ।

बिहान ३ बजेतिर उनलाई अंकलको फोन आयो । ‘सामाखुसीमा ट्याक्सी जलायो रे, घर जा’ भने अंकलले । त्यसपछि उनी हतारिँदै कोटेश्वरबाट कोठामा फर्किन मीनभवनतिर लागे ।

मीनभवन आइपुग्दा दुईजनाले ट्याक्सी रोके । उनीहरुले एयरपोर्ट जाउँ भने । खत्री सम्झन्छन्, ‘मैले घर जान लागेको, म त जान्न भनेँ । यतिकैमा एकजनाले मसँग कुरा गर्दैगर्दा पछाडिको ढोका खोल्यो । अनि सलाई कोरेर लगाइहाल्यो ।’

आगो लगाउनेहरु मीनभवनको उकालोपट्टी भागे । चित्रबहादर खत्रीलाई भने महाविपत आइलाग्यो । ‘ट्याक्सीको सीटमा राखेको गलैँचाले आगो निभाउन सक्छु जस्तो लाग्यो’ गला अवरुद्ध पार्दै उनी भन्छन्, ‘तर, निभाउन सकिएन ।’

Taxi Agolagi (1)

आगो लागेको १० मिनेटपछि दमकल त आइपुग्यो, तर ट्याक्सी काम नलाग्ने गरी जलिसकेको थियो ।

उनलाई मन त लागेको थियो कि आफ्नो ट्याक्सीमा आगो लगाउनेहरुलाई अँठ्याएर कसले आगो लगाउन पठाएको भनेर सोधुँ ।

तर, सुरुमा ट्याक्सीमा लागेको आगो निभाउनतिर लागे उनी । उनले आगजनी गर्नेहरुलाई समाउन सकेनन् । त्यतिञ्जेलसम्म कथित बन्दकर्ताहरु भागिसकेका थिए ।

‘आगो लाग्नासाथ ‘भाग भाइ’ भन्दै तिनीहरु दैडिए’ आक्रोश मिसिएको स्वरमा खत्रीले भने, ‘अँठ्याउन सकेको भए कसले आगो लगाउन पठाएको भन्थे होला । तर, अब भेट्न सकिँदैन ।’

०००

जे हुनु भयो, अब रोइकराइ गरेर टर्नेवाला छैन । तर, उनलाई भने पीडामाथि पीडाले सताउन थोलेको छ ।

‘सुरुमा काकाको ट्याक्सी चलाउँथें । यो वर्ष आफ्नै ट्याक्सी किन्ने कुुरा भयो र ९ लाख रुपैयाँमा ट्याक्सी किनेँ,’ खत्री भन्छन्- ‘सबै ऋण खोजेरै किन्ने आँट गरेँ ।’

ऋणको बोझले थिचिएका खत्रीले अनलाइनखबरसँग भने- ‘दिनमा तीनहजार जति कमाइ हुन्थ्यो । तीन वर्षभित्र किस्ता तिर्न सक्छु भन्ने लागेर यति ठूलो ऋण गरेको थिएँ । तर, ट्याक्सी जल्यो, अब ऋण मात्र बाँकी छ ।’

ट्याक्सीसँगै खत्रीका सवारी चालक लाइसेन्स, ब्लु बुक र भए भरका कागजपत्र पनि खरानी बनेका छन् । उनलाई नेपाल बन्दमा गाडी चलाएको भनेर अब बीमाले पनि पैसा नदिने हो कि भन्ने पीर छ ।

विप्लव माओवादीको उद्दण्डताको कोपभाजनमा परेका चित्रबहादर भावुक हुँदै भन्छन्, ‘अब इन्स्योरेन्सले पनि गति छाडिदियो भने म नराम्रो गरी डुब्छु ।’

जलेको सपना टालटुल गर्ने प्रयास

Chitra bahadur khatri

भनिन्छ, मर्नु भन्दा बहुलाउनु निको । नेपालीहरु उसै पनि हिम्मत नहार्ने जाति हुन् । खत्रीले पनि अझै जिउने आशा मारेका । उनी भन्छन्-‘अब नयाँ ट्याक्सी किन्न त सकिँदैन । तर, जलेको ट्याक्सी बनाउन मिल्छ कि जस्तो लाग्छ । तर, ५/६ लाख खर्च लाग्छ होला । ऋणमाथि ऋण हुने भयो ।

खरानीसरह बनेको खत्रीको ट्याक्सीमा नम्बर प्लेट टलक्क टल्किरहेको देखिन्थ्यो- बा १ ज ५१६२ । उनले मनको वह पोख्दै मसिनो स्वरमा भने- ‘नम्बर प्लेट बेच्न पनि अब ४ वर्षमात्रै बाँकी छ । काम नगरौं भने ब्याज नै ब्याज तिर्नुपर्नेछ । ऋण नै ऋणले च्यापिरहेछ । बहुलाउँछु कि जस्तो भएको छ ।’

गरिखान खोज्दा देश बनाउँछौं र सर्वहारा वर्गका लागि राजनीति गरेको र भन्नेहरुले ट्याक्सी जलाइदिए । राजनीति गर्नेहरुलाई त दलालहरुले पैसा दिने होला भन्ने खत्रीलाई लागेको छ ।

उनी भन्छन्, ‘राम्रा मान्छे भए त किन जलाउँथे होला ? कमाइ खाने मान्छे हो भन्ने बुझ्थे होलान् ।’ उनी आफैंसित प्रश्न गर्छन्, मन भा’को, सोच्न सक्ने मान्छे भएको भए त काम गरेर खानेलाई यसरी दुःख दिन्थे होला र ?

अब आफ्ना दुःखका कथाहरु जति भने पनि के होला र ? जलाउनेले जलाइहाल्यो । डुबाउनुपर्ने रहेछ, डुबाइहाल्यो भन्ने जाग्छ उनलाई । उनी भन्छन्- ‘हामीले भनेको, कराएको कसैले सुन्ने होइन । न म उफ्रेर हुने, न रोएर हुने । नगर्नुपर्ने बन्द गर्‍यो, नजलाउनुपर्ने जलायो । अब म कहाँ गएर यो कुरा भन्नु ?’

खत्रीको प्रश्न छ- मसँग केही सबुत छ र तैँले जलाएको भनेर देखाउने ? माओवादीलाई हामीले के गर्न सक्छौं र ?

०००

चित्रबहादुरको आफ्नो कमाइ खाने भाँडो जल्यो । ढीलोचाँडो घरमा थाहा हुनु नै थियो । त्यसैले आफैंले फोन गरेर आफूमाथि आइलागेको दुःख पोखे । आमाबाबुलाई फोन गरेर पीर नगर्नु भनेका छन् उनले ।

आफ्ना सबै पीडालाई लुकाउने प्रयास गर्दै उनले अनलाइनखबरसँग भने- घरमा टेन्सन दिन मन लाग्दैन । बरु सबै आफैँ लिन्छु ।’

एसएलसी दिएर काठमाडौं आएका १९ वर्षका खत्रीले भाइलाई पढाउनुछ । रामेछापबाट करिव १० वर्षअघि सर्लाही झरेका बुबाआमाई हेर्नु छ । तर, बुवाआमालाई म मिलाउँछु, पीर नलिनु भनेका छन् उनले ।

खत्री विदेश जानुभन्दा स्वदेशमै बसेर केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने सोचाइ लिएर देशको राजधानी काठमाडौं छिरेका किशोर हुन्, जसको सपनामाथि विप्लव माओवादीले सलाइ कोरेर आगो सल्काइदिएका छन् ।

क्रुरताको र अमानवीयताको यो दृश्य अन्तरराष्ट्रिय आतंकवादीको भन्दा केमा फरक होला विप्लव ज्यू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment