Comments Add Comment

बाढीले कास्कीमा तीन घर बगायो, पोखरा बागलुङ सडकखण्ड अवरुद्ध

फाइल तस्वीर
फाइल तस्वीर

११ साउन, काठमाडौं । गएराति देखि परेको अविरल वर्षाले मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे-१ सोँधा गाउँको थप तीन घर बगाएको छ । वर्षासँगै मादी नदीमा बाढी आएपछि मादिले कटान गर्दा स्थानीय अशोक भुजेल र बालसिहं भुजेलको घर बगाएको स्थानीय यमन गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीय क्लिनिक र विद्यालयको पुरानो भवन पनि बगाएको छ ।

गुरुङले स्थानिय आशमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्रीको घर पनि जोखिममा परेको बताए । उनीहरु घरमा बस्ने स्थिती नभएपछि गाउँ भन्दा माथि रहेको दुधपोखरी माविमा आश्रय लिएर बसिरहेको गुरुङले जानकारी दिए । बाढीले खेतीयोग्य जमिन समेत कटान गरेको छ । नदीको कटान बढ्दै गएकाले जोखिम निकै बढेको उनले बताए ।

केहि दिन अगाडी सोही ठाउँकी कन्या कुमारी गुरुङको घर पनि मादीले बगाएको थियो ।

सोमबार बेलुकादेखि परेको अविरल वर्षाका कारण कास्कीको घट्टेखोलामा पहिरो खस्दा पोखरा-बागलुङ सडकखण्ड अबरुद्ध भएको छ । विहान करीब साढे ४ बजे सडकमाथीको भीरबाट लेदो माटो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बाटो अबरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन प्रहरी निरिक्षक मोहनबहादुर खाणको नेतृत्वमा २० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाले सेतीको वहाव बढेर पोखरा-१० रामघाटको सुकुम्बासी बस्तीमा पसेपछि ८ घर डुबानमा परेका छन् । गएराती बाढी सुकुम्बासी गाउँमा पसेपछि स्थानियलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।

यसैगरी, याम्दीखोलामा पानीको बहाब बढेपछि पोखरा १ कसेरीका ३५ घर जोखिममा परेका छन् । उनीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment