Comments Add Comment

प्रधानमन्त्री कार्यालयको उपलब्धी- स्टेशनरी खरिद र सरसफाइ !

शुभकामना कार्ड वितरणमा कर्मचारीको गर्व

PM-Office-of-Nepal

११ साउन, काठमाडौं । नेपालले अंगीकार गरेको शासनप्रणालीको सिद्धान्तअनुसार प्रधानमन्त्री कार्यकारी हुन्छन् । सोहीअनुसार प्रधानमन्त्री कार्यालयको भूमिका पनि बिशेष नै हुन्छ ।

पुनर्निर्माणको काम तिव्र पार्नु, नयाँ संविधानको कार्यान्वयनका लागि सम्वन्धित निकायलाई निर्देशन दिने, योजना बनाउने र अनुगमन गरि तोकिएको समयमा कामहरु गराउनु प्रधानमन्त्री कार्यालयको मुख्य जिम्मेवारी हो ।

यस्तै सरकारले गरेका महत्वपूर्ण निर्णयको कार्यान्वयनको अवस्था बुझ्ने, निर्देशन दिँदै देशलाई गतिशील बनाउने मुख्य जिम्मा प्रधानमन्त्री कार्यालयको हुन्छ । त्यही अनुसार प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई मासिक तलबभत्ताको अतिरिक्त ५० प्रतिशतसम्म प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । तोकिएको भन्दा बढी समय कार्यालयमा काम गर्नुपर्ने र जिम्मेवारी बढी हुने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

भूकम्पले पुर्‍याएको क्षति, आर्थिक नाकाबन्दीले अर्थतन्त्रमा परेको असर र नयाँ संविधान जारी भएर त्यसको कार्यान्वयनको चरणमा रहेको बेला कार्यकारी प्रधानमन्त्रीको कार्यालय के गर्दैहोला ? यस्तो जटिल परिस्थितिमा पनि प्रधानमन्त्री कार्यालयको प्रगती विवरण भने लाजलाग्दो अवस्थाको छ ।

प्रधानमन्त्री र उपराष्ट्रपतिले जारी गरेका शुभकामना कार्ड वितरण गरिएकादेखि कार्यालय सरसफाइ गरिएका कामहरु प्रधानमन्त्री कार्यालयको मुख्य उपलब्धीमा परेको छ ।

प्रशासन शाखाको प्रगति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सामान्य प्रशासन शाखाले आर्थिक बर्ष ०७२/७३ को लागि आवश्यक स्टेशनरी सामानको खरिद कार्य सम्पन्न गरिएको कुरालाई प्रमुख उपलब्धीको बुँदामा दोस्रो नम्बरमा समेटेको छ । जबकी कार्यालयलाई आवश्यक सामान खरिद गर्नु मुख्य प्रगती नभएर दैनिक कामकारबाहीको सूचीमा पर्दछ ।

यस्तै प्रधानमन्त्री कार्यालय र त्यसवरपर नियमित सरसफाइको काम गरेको विषयलाई पनि मन्त्रिपरिषदको कार्यालयले प्रगति विवरणमा महत्वकासाथ उल्लेख गरेको छ । र, अर्को बुँदामा कार्यालयलाई आवश्यक पर्ने सामानहरुको खरिद प्रकृया सम्पन्न गरिएको उल्लेख छ । यस्ता विवरणलाई सामान्य प्रशासन शाखाबाट भएका महत्वपूर्ण उपलब्धी भनिएको छ ।

यतिसम्मकी मुख्य उपलब्धीको बुँदा बढाउनका लागि सरसफाइ तथा सामान खरिदका विषयहरु दोहोर्‍याएर राखिएको छ । सिंहदरबार परिसरका कार्यालयमा सरसफाइ फोकल पर्सन र सरसफाइमा संलग्न कार्यालय सहयोगीहरुलाई तालिम दिएको कुरा उल्लेख छ । सरसफाइको विषयलाई दुई शीर्षकमा देखाएर मन्त्रिपरिषदको कार्यालयले प्रगति विवरणको बुँदा बढाएको छ ।

प्रधानमन्त्री कार्यालयको गत आर्थिक वर्षको मुख्य उपलब्धीमा सबै सचिवालय, महाशाखामा भित्तामा कागज टाँस्ने परिपाटीको अन्त्य गर्दै सूचना पाटीको व्यवस्था गरिएको कुरा उल्लेख छ । यस्तै कार्यालयको सामान्य प्रशासन शाखाबाट सम्पादन हुने कर्मचारी प्रशासनसम्वन्धी विदा अभिलेख अद्यावधिक, रमाना, अवकास आदिको सम्बन्धित निकायमा पत्राचार र दैनिक कार्यसम्पादन गरिएको विषयलाई पनि प्रगति विवरणमा समेटिएको छ । यी सबै काम कार्यलय सञ्चालन गर्दा गर्नैपर्ने काम हुन् तर प्रधानमन्त्री कार्यालयले मुख्य उपलबधी ठानेको छ ।

आर्थिक प्रशासन शाखाका काम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आर्थिक प्रशासन शाखाले महालेखा परिक्षकको ५१ औं र ५२ औं प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयमा रहेको बेरुजुको जवाफ पठाएको र बेरुजु फर्छ्यौट गर्ने काम भइरहेको विषयलाई मुख्य प्रतिवेदनको दुई नम्बर बुँदामा उल्लेख छ ।

यस्तै मुख्य उपलब्धीमा आवश्यकता अनुसार अर्थ मन्त्रालयबाट बजेट मगाएको कुरा समेटिएको छ । आगामी आर्थिक बर्षको बजेट उपशिर्षकका विषयमा भएको छलफललाई समेत मुख्य उपलब्धीको सूचीमा राखिएको छ ।

यस्तै आर्थिक बर्ष ०७२/७३ को तलवी प्रतिवेदन पारित भएको, आर्थिक प्रशासन शाखाबाट सम्पादन भएका कामहरुको जानकारी इमेल मार्फत सम्बन्धित महाशाखा प्रमुखलाई जानकारी गराएको जस्ता विषय नै मुख्य प्रगति विवरणको सूचीमा समेटिएको छ ।

सूचना प्रविधि शाखाको प्रगति

सूचना प्रविधि शाखाको गत आर्थिक वर्षको प्रगति विवरण निकै अनौठा छन् । कार्यालयको वेभसाइटलाई थप व्यवस्थित बनाउन शाखागत राय सल्लाह लिई स्तरोन्नती सम्वन्धी गृहकार्य गरिएको, प्रधानमन्त्रीका गतिविधीमात्र समेट्न वेभसाइट निर्माण तथा डिजाइनको काम गरेको कुरा मुख्य उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

वैदेशिक सम्वन्ध समितिले गरेका काम

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशले नाकाबन्दी झेलिरहेको थियो । तर प्रधानमन्त्रीको कार्यालयको बैदेशिक सम्वन्ध शाखाको प्रगती विरणमा नाकाबन्दी खोल्न प्रधानमन्त्री कार्यालयले कुनै भूमिका नखेलेको देखाएको छ । किनकी वैदेशिक सम्वन्ध शाखाको प्रतिवेदनमा त्यस्तो कुनै काम भएको उल्लेख भएको छैन, बरु मुख्य उपलब्धीको सूचीमा जारी हुने प्रेस विज्ञप्ती तयार गरी कार्यालयको वेभसाइटमा राखिएको भन्ने कुरा उल्लेख छ ।

यस्तै प्रधानमन्त्री समक्ष माग भई आएका शुभकामना सन्देशको ड्राफ्ट तयार गरिएको कुरा उपलब्धीमा परेको छ । यस्तै महाशाखा प्रमुखका रुपमा रहने सचिवले कुनै एउटा जिल्ला भ्रमण गर्दा कर्मचारीसँग कुराकानी र निर्देशन दिएका कुरा पनि मुख्य प्रगति मान्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यतिसम्म की नयाँ वर्ष २०७३ सालको शुभअवसरमा प्रधानमन्त्रीले दिएको शुभकामना कार्ड वितरण गरिएको, साथै सोही अवसरमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको निमन्त्रणा कार्ड वितरण गरिएको कुरालाई मुख्य उपलब्धी मानेर समेटिएको छ ।

सामाजिक विकास शाखाका उपलब्धी

जनक शिक्षा सामाग्री केन्द्रबाट शैक्षिक सत्र २०७३ का लागि पाठ्यपुस्तक छपाइको प्रगतिबारे अनुगमन गरी प्रतिवेदन पेश गरिएको विषय प्रधानमन्त्री कार्यालयको सामाजिक विकास शाखाको मुख्य उपलब्धी हो ।

तनहुँ र धनुषा जिल्लास्थित महिला तथा बालबालिका कार्यालय र जिल्ला अस्पतालको अनुगमन गरी प्रतिवेदन पेश गरिएको विषयलाई पनि उपलब्धी मानिएको छ ।

यस्तै चितवनको सौराहमा आयोजित सुर्तिजन्य पदार्थको नियमन र नियन्त्रण सम्बन्धी अन्तरक्रियामा सहभागी भई प्रतिवेदन पेश गरिएको विषय पनि प्रतिवेदनमा परेको छ ।

विपद् व्यवस्थापन शाखाको उपलब्धी

भूकम्पसँग जोडिएर प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरेर आएको गुनासो सम्बन्धित निकायमा पठाइएको कुरा विपद व्यवस्थापन शाखाको मुख्य उपलब्धी मानिएको छ । यस्तै भूकम्प प्रभावितहरुलाई प्रदान गरिएको राहत तथा सहायता सम्वन्धमा मिडियाबाट आएका टिकाटिप्पणीका आधारमा सम्बन्धित निकायलाई पत्राचार गरी जानकारी लिइएको कुरा पनि उपलब्धीका विवरण समेटिएको प्रतिवेदनमा उल्लेख छ ।

गर्मीको मौसममा तराई र पहाडी जिल्लाहरुमा हावाहुरी तथा आगलागीका घटनाहरु हुनसक्ने तर्फ आवश्यक पूर्वतयारी गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको कुरा मुख्य उपलब्धीको रुपमा प्रतिवेदनमा राखिएको छ ।

पानी जहाज, हावाबाट बिजुली र पाइपबाट ग्यास वितरणमा बेखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने, पाइपबाट भान्छा कोठासम्म खाना पकाउने ग्यास वितरण गर्ने र नेपालको आफ्नै पानी जहाज हुने अभिव्यक्ति दिएर निकै चर्चा कमाए । तर, यी कुरा ओलीको केबल गफ मात्रै थियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयको प्रगति विवरणले प्रष्ट पार्छ ।

कार्यकारी प्रधानमन्त्री पद्धतीमा प्रधानमन्त्रीले बोलेका कुरालाई प्रस्ताव मानि टिप्पणी उठाइन्छ । र, प्रधानमन्त्रीले ल्याएका योजनाको कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री कार्यालयले विशेष अनुगमन गर्नुपर्छ ।

तर मन्त्रिपरिषदको कार्यालयको प्रगती विवरणमा प्रधानमन्त्री केपी शर्माले ल्याएका पानी जहाज, हावाबाट बिजुली, पाइपबाट ग्यास वितरण लगायतका विषयमा एक शब्द पनि उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment