Comments Add Comment

पर्यटन रणनीति : १० वर्षमा २५ लाख पर्यटक, साढे ३ खर्ब आम्दानी

Tourist-at-Lumbini
११ साउन, काठमाडौं । सरकारले आगामी दश वर्षभित्र नेपालमा २५ लाख २२ हजार पर्यटक भित्राउने योजना बनाएको छ । यो अवधिमा पर्यटनबाट हुने आम्दानी साढे ३ खर्ब बढी पुराउने लक्ष्य राखिएको छ ।

पर्यटन मन्त्रालयले बनाएको दश वर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ मा यस्तो लक्ष्य राखिएको हो । अहिले नेपालमा ८ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटन क्षेत्रबाट झण्डै आधा खर्ब आम्दानी हुने गरेको छ ।

पर्यटन रणनीतिक योजना असार ३१ गते मन्त्रिपरिषदको पूर्वाधार विकास समितिले स्वीकृत गरिसकेको छ । पर्यटकीय मुलुक नेपालमा रणनीतिक योजना बनाएरै पर्यटन क्षेत्रको विकासमा सरकार तातेको हो ।

पर्यटन मन्त्रालयले महत्वाकांक्षी १० वर्षे रणनीतिक योजना दुई चरणमा पुरा गर्ने भएको छ । रणनीतिको पहिलो चरणभित्र (२०१६–२०२०) मा पर्यटकको संख्या १३ लाख ३९ हजार पुराउने लक्ष्य राखिएको छ । पर्यटकको औषत बसाई अवधि सन् २०२० मा १४ दिन पुराइने छ ।

सन् २० सम्ममा पर्यटकबाट हुने आम्दानी १ अर्ब ३२१ मिलियन अमेरिकी डलर पुराउने लक्ष्य छ । यस अवधिमा मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ४.९४ प्रतिशत पुग्ने रणनीतिमा उल्लेख छ ।

यसैगरी दोस्रो चरण २०२१ देखि २०२५ सम्मको हुनेछ । रणनीतिक योजनामा २०२५ सम्ममा पर्यटकको संख्या बढाएर २५ लाख २२ हजार पु¥याउने लक्ष्य राखिएको छ । पर्यटकको औषत बसाई अवधि १५ दिन पुराइने छ । त्यस्तै पर्यटन क्षेत्रबाट ३ अर्ब ४०१ मिलियन डलर आम्दानी गर्ने योजनामा उल्लेख छ । यस अवधिमा जीडीपीमा पर्यटन क्षेत्रको योगदान ९.२९ प्रतिशत पुग्ने अपेक्षा छ ।

यो रणनीतिक योजनामा पर्यटकको संख्या बढाउने, उनीहरुको बसाईं अवधि लम्बाउने, राजस्व र आम्दानीमा वृद्धि गर्ने, रोजगारी बढाउने लगायतलाई प्राथमिकतामा राखिएको छ । वार्षिक पर्यटक आगमन २०२० मा १७.५  र २०२५ मा १२.५ वृद्धि हुने अपेक्षा गरिएको छ ।

२०१५ को भूकम्पपश्चात पर्यटक आगमन झण्डै ३२ प्रतिशत घटेकोले यसको दीर्घकालिन असर पर्ने देखिन्छ । २०१७ मा पर्यटक आगमन २०१४ को स्थितिमा पुनरावृत्ति हुनसक्ने भएकाले २०१६ र २०१७ मा २५ र २० प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान छ । बाँकी वर्षमा पनि १२.५ देखि १७.५ प्रतिशत सम्मको वृद्धि अनुमान गरिएको छ ।

यो रणनीतिको पहिलो चरणमा गन्तव्य विविधीकरण र सुधारमा जोड दिइने छ । दोस्रो चरणमा नयाँ उत्पादनहरूलाई एकीकृत गर्नमा जोड दिइने भएको छ । त्यस्तै, चरण १ मा विकास गरिएका उच्च मूल्य बजार (पर्यटक) हरूलाई लक्षित गर्दै नयाँ ठाउँहरू खोलिने छ र पर्यटकीय उत्पादनका सम्भावनाहरूलाई विस्तार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment