Comments Add Comment

नेपाल एयरलाइन्स दुबई उड्ने खवरले नेपालीहरु खुसी

anta-press-Meet

युएर्इ । नेपाल एयरलाइन्सले काठमाडौंदेखि दुबईको सिधा उडान भर्ने भएको छ । आगामी भदौ २ अर्थात् अगस्ट १८ देखि हप्ताको तीन दिन नियमित उडान गर्ने तयारी पूरा भएको अजमान नेशनल ट्राभल एजेन्सी (एन्टा)का प्रतिनिधि मिस्टर फजलले अनलाइनखबरलाई बताएका छन् ।

नेपाल एयरलाइन्सले हरेक आइतबार, मंगलबार र बिहिबार काठमाडौंबाट दुबईको लागि राती ११ः३० बजे उडान गर्नेछ भने दुबईबाट सोमबार, बुधबार र शुक्रबार बिहान ४ः१० मा उडान गर्नेछ । सो उडानमा १ सय ५० इकोनोमी क्लासका र ८ बिजनेस क्लासका सिटहरु हुनेछन् ।

यसै विषयमा औपचारिक जानकारी दिन आन्टाले २५ जुलाईमा दुबईमा पत्रकार सम्मेलन गरेको छ । नेपाल एयरलाइन्सले युएईको लागि जेनरल सेल्स एजेन्ट एन्टालाई तोकेको छ ।

एन्टाका जनरल म्यानेजर कुमार जगदिशले नेपाल एयरलाइन्सको उडानका लागि सबै तयारी पूरा भएको बताउँदैै आगमी अगस्त १८, विहीबार रातको ११ः३० बजे निगमले चार बर्ष पछि पहिलो उडान भर्ने जानकारी दिएका छन् ।

पत्रकारका प्रश्नको जवाफ दिदै जगदिशले नेपाल बायु सेवा निगमको उडान अन्य एयरलाइन्सको तुलनामा सस्तो हुने जानकारी दिए । गुणस्तरीय खाना सुविधाका साथ पेय पदार्थ र दुबईबाट नेपाल जाँदा ३५ केजी सामान र नेपालबाट दुवई आउँदा २० केजी सामान ल्याउन पाइने सुविधा रहेको पनि उनले बताए ।

बुद्ध र हिमालयको देश नेपाल अत्यन्तै सुन्दर भएकोले पश्चिमा र अरबी मूलका नागरिकका लागि नेपाल राम्रो पर्यटकीय गन्तव्य रहेको र यस उडानले नेपालको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

यता नेपाली निगमले युएई उडान गर्ने निर्णय भएसँगै युएईमा रहेका नेपालीहरु खुसी भएको नेपाली ट्राभल सञ्चालकहरुले बताएका छन् । यो उडानले रोजगारीका लागि युएई जाने र आउने नेपाली कामदारहरुले सरल मूल्यमा उच्चस्तरीय सुविधा पाउने एन्टाको पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ युएईका सचिव लक्ष्मण खनालले बताएका छन् ।

युएईमा कार्यरत नमस्ते, ग्रीनलाइन, फिस्टेल, सिटी लाइफ लगायत अन्य नेपाली व्यावसायीबाट सञ्चालित ट्राभलले नेपाल एयरलाईन्सको हवाई टिकट उपलब्ध गराउने बताएका छन् । एन्टाले पनि सीमित अबधिका लागि ५ सय ३५ दिराम्समा एकतर्फी तथा १ हजार ८० दिराम्समा दुईतर्फी टिकटको अफर घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment