Comments Add Comment

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, ८४९ घरपरिवार विस्थापित

Biratnagar-Duban
विराटनगर उपमहानगरपालिका-४ कञ्चनवारीचोक नजिक डुबानमा परेको बस्ती

११ साउन, विराटनगर । डुबान र बाढी पहिरोका कारण मोरङ जिल्लामा ८ सय ४९ घर परिवार विस्थापित भएका छन् । विस्थापित व्यक्तिहरुको संख्या भने १८ सय रहेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाका अनुसार डेढसातादेखि अविरल रुपमा परेको पानीले जिल्लाका विभिन्न स्थानमा डुबान हुँदा उनीहरु विस्थापित भएका हुन् ।

थापाका अनुसार मोरङको मधुमल्ला ४ र ५ तथा हसन्दह ३ र ५ वडा सबैभन्दा बढी प्रभावित भएका छन् । उपमहानगरपालिकाले निकास उचित प्रवन्ध नमिलाउँदा विराटनगरका धेरै स्थान जलमग्न भएको स्थानीयको गुनासो छ ।

यसैगरी मोरङको दक्षिण पूर्वी भागको विराटनगर-रंगेली-उर्लाबारी सडक बगाएको छ । बाटो नै बगेपछि आवत-जावत बन्द भएको छ । डाइनिया गाविस-७ स्थित भेडुवानथान नजिकको बक्राहा खोलाले आइतवार विहान पिच सडक बगाएपछि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

उक्त खोलाको बाढी बस्तीमा पस्दा डाइनियाका सयौं घरहरु डुबानमा परेका छन् । डुबान पीडितहरु सडकमा पाल टाँगेर बसेका छन् ।

मोरङको मधुमल्लास्थित बक्राहा खोलामा आएको बाढीले मधुमल्ला गाविस-५ बेतेनीमा रहेको बालुवाको अस्थायी बाँध भत्किदा दुई दर्जन घरमा बाढी पसेको छ । डुबानमा परेका घर परिवारहरुलाई अत्यावश्यक सामानसहित छिमेकी तथा आफन्तको घरमा सारिएको मोरङ प्रहरीले जनाएको छ ।

त्यस्तै हसन्दह गाविस-३ जयनगरमा बक्राहा खोलाको बाँध फुट्दा हसन्दह गाविस ३ र ५ का सयौं घरहरु डुबानमा परेका छन् । सोही खोलाको बाढी पसेर अमरदह, गोविन्दपुर गाविस लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरी र स्थानीय सशस्त्र प्रहरी बलको टोलीले केहि परिवारलाई उद्धार गरेको छ भने अन्यलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

त्यस्तै मोरङकै चिसाङ खोलामा आएको बाढीले केरौन गाविस ९ का दयाराम उरावको फुसको घर, गोठ तथा चार कठ्ठा खेत कटान गरेको छ । उरावको घर बाढीले बगाउँदा उनका ६ जना परिवार विस्थापित भएका छन् ।

त्यस्तै विराटनगरको पश्चिममा रहेको केशलिया खोलाको बाढी पसेर बिराटनगर उपमहानगरपालिका-१६ बखरीका दर्जनौं घर डुबानमा परेका छन् । घटनास्थलमा प्रहरी चौकी बखरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । प्रहरीले त्यहाँ बसोबास गर्ने १ सय १६ जनालाई स्थानीय श्री निम्न माध्यमिक विद्यालयमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment