Comments Add Comment

प्युठानमा बाढी र पहिरोले पाँचको मृत्यु, आठ वेपत्ता

flood
फाइल तस्वीर

११ साउन, प्युठान । प्युठानमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले जनधनको व्यापक क्षति भएको छ । प्युठानमा हालसम्म १९ जनाको मृत्यु भएको स्थानीयले दाबी गरेका छन् तर जिल्ला प्रशासन कार्यालयले भने पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्युठान जिल्लाभर दुई सय पचासभन्दा बढी विस्थापित भएका छन् ।

गत असार २१ गते प्युठानको रजवारा गाविस ३ नेटामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी जनक पन्तका अनुसार झिम्रुक जलविद्युत आयोजनाको ड्यामसाइडमा मंगलबार तीन शव भेटिएका छन् । बाढीको बहाव तिव्र रहेकाले शव निकाल्न सकिएको छैन र शवको पहिचान पनि भएको छैन । यसैगरी बाग्दुलामा अन्दाजी १२ वर्षीया बालिका, विजुवारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको छ ।

पहिरोका कारण प्यूठानको लुङ गाविस वडा नम्बर ६ बाहाने बजार र सिमलबुटामा गरी तीन वटा घर पुरिँदा पाँच जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा स्थानीय शोभा रिजाल, कालि परियार र किरण थापा छन् । अन्य दुई जनाको नाम खुलेको छैन ।

त्यस्तै खवाङ गाविस ३ मा सविले विकको घर पहिरोमा पुरिँदा एकै परिवारका तीन जना वेपत्ता भएका छन् । अर्खा गाविसमा आठ जना वेपत्ता छन् । उनीहरुको अवस्था अज्ञात छ ।

वेपत्ताहरुको खोजीकार्य जारी छ । तर, पानी परिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

यसैगरी फोप्ली गाविसमा चार जना विद्यार्थी पहिरोमा पुरिएका छन् । फोप्ली गाविस-५ मा १९५ घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय ठाकुरभुमी प्राविमा सारिएको छ ।

सापडाँडाको मेचीखोलामा पाँच र लुङ गाविसको सिउरीकाटेमा तीन घर परिवार विस्थापित भएका छन् । ओखरबोट गाविस-७ मा एउटा घर पहिरोका कारण भत्किएको छ ।

खवाङ-४ चोरमोलको बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन् । त्यहाँ ४३ घरपरिवारमा करिब तीन सय जना छन् । चारैतिरबाट पहिरो गएकाले आफूहरुलाई छिटो उद्धार गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

बाढीले बिजुवार-खलंगा सडकमा पर्ने पक्की पुल जोखिममा परेको छ । यसैगरी ऐटारीको पक्की पुल पनि जोखिममा परेको स्थानीयले बताएका छन् । प्यूठान-अर्घाखाँची जोड्ने चुकाहा खोलाको मोटरेवल पक्की पुल उच्च जोखिममा छ । जोखिम क्षेत्रमा सुरक्षाकर्मीहरुले तार जाली भरेर रोकथामको प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

गएरातिदेखि लगातार पानी परिरहेकाले प्युठान जिल्लाको जनजीबन पूर्णरुपमा प्रभावित भएको छ । ठाउँ-ठाउँमा पहिरो गएकाले सडकहरु अवरुद्ध भएका छन् । प्युठान नगरपालिका १३ सापडाँडा, स्याउलिवाङ, फोप्ली, लिघा, लुङ, अर्खा, उदयपुरकोट लगायत क्षेत्रका दर्जन बढी बस्तीहरु उच्च जोखिममा परेको स्थानीयले बताएका छन् ।

जुम्री खोलामा पानीको बहाव उच्च छ । त्यस वरपरका बासिन्दा त्रासले रातभर जाग्राम बस्ने गरेका छन् ।

झिम्रुक नदीमा पानीको बहाव हालसम्मकै उच्च मापन गरिएको छ । मंगलबार ९५५ घनमिटर पानी मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment