Comments Add Comment

बाढीपीडितलाई राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण

Samsad

११ साउन, काठमाडौं । केहि दिनदेखिको अविरल बर्षाका कारण आएको बाढीले तराईका जनता विचल्लीमा परेको भन्दै सांसद्हरुले राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा शून्य र विशेष समय लिएर बोलेका सांसद्हरुले डुबानमा परेका जनताको तदारुकता साथ उद्दार गरी उनीहरुलाई खानेकुरा र अन्य अत्यावश्यकीय वस्तु उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद्हरुले डुबानमा परेका क्षेत्रहरुमा झाडापखालाको महामारीको संभावना रहेको भन्दै डुबानमा परेका जनतालाई निःशुल्क उपचारको सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।

उनीहरुले डुबानमा परेका जनताले आतपकालिन बसोबासका लागि त्रिपालसम्म पनि पाउन नसकेको भन्दै डुबान प्रभावितहरुलाई तत्काल बसोबासको प्रबन्ध गर्नका लागि सरकारलाई रुलिङ्ग गर्न सभामुख ओनसरी घर्तीसँग आग्रह गरे ।

सांसद्हरुले बाढीबाट हरेक वर्ष तराईका जिल्लाहरु डुबानमा पर्दै आएपनि पूर्व तयारीमा ध्यान नदिएको भन्दै सरकारको आलोचना समेत गरे ।

बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले भारतले एकतर्फी रुपमा बनाएको वाँध र तटबन्धका कारण तराई क्षेत्र डुबानमा परेको बताए । उनले यस विषयमा आफ्नो पार्टीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सभामुखसँग आग्रह गरे ।

केही दिनयता आएको बाढीका कारण तराईका जिल्लाहरुमा सयौं घर परिवार विस्थापित भएका छन् । सांसद्हरुले बाढीबाट कति परिवार विस्थापित भए र के कति क्षति भयो भन्नेबारेमा यथाशीघ्र जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment