Comments Add Comment

जनताको पैसा, सांसदको गुणगान !

Farmullaha Mansur

११ साउन, कलैया । तपाईं बारा जानु भएको छ भने सांसद विकास कोष दुरुपयोगको चरम नमूना देख्न सक्नुहुन्छ ।

कांग्रेस नेता फरमुल्लाह मन्सुर बारा क्षेत्र नम्बर तीनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकमबाट निर्माण भएका भौतिक पूर्वाधारहरुमा सांसद मन्सुरले निर्माणकर्ताको रुपमा आफ्नो नामसहितको शिलालेख राखेका छन् ।

झट्ट हेर्दा यस्तो लाग्छ, यो सबै उनले आफ्नो व्यक्तिगत रकम खर्चम निर्माण गरेका हुन् ।

मन्सुरले सार्बजनिक शौचालय, मन्दिर लगायतका क्षेत्रमा आफ्नो नामसहितको शिलालेख राखेका छन् । मन्सुरले कलैया नगरपालिका ६ स्थित राम मन्दिरमा ट्र्याक ढलान पश्चात सोको निर्माणकर्ताको रुपमा टायल्समा आफ्नो नाम लेखाई सबैले देख्ने गरी सिमेन्टले फिक्स गराएका छन् ।

जिल्ला अस्पताल कलैयामा निर्माण भएको सार्वजनिक शौचालयमा समेत उनले आफ्नो नाम लेखाएका छन् । कलैया नगरपालिका-१० को त्रिभुवन नाट्य परिषदको भवनको केहि अंश निर्माणमा पनि उनले शिलालेख लगाउन तयार पारेका छन् ।

प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदलाई सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमार्फत खर्च गर्न ३ करोड रुपैयाँ दिएको छ । अघिल्लो आर्थिक वर्षसम्म सांसदहरुले १ करोड ५० लाख रुपैयाँ पाउँथे ।

जनताको करबाट प्राप्त बजेटलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठानी सांसद मन्सुरले त्यसमाथि मोहर लगाउने काम गरेको भन्दै जिल्लामा विरोध भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबु कुमार यादवले सांसद मन्सुरका नामहरु तत्काल हटाउन माग गरे । जिल्ला विकास समितिले नहटाए मोर्चा आफैले हटाइदिने उनले चेतावनी दिए ।

जिल्ला विकास समिति बाराका योजना तथा अनुगमन अधिकृत विरेन्द्र महतोले जिल्लामा भएको विकासको कार्य र सोमा लागेको रकम नेपाल सरकारको भएकाले सांसद वा अरु कसैले नाम लेख्न नपाउने बताए । जिविस बाराको बोर्ड बैठकले सांसद मन्सुरका नाम अंकित शिलालेखहरु हटाउने निर्णय गरिसकेको उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्सुरले आफ्नो प्रतिनिधि मार्फत उपभोक्ता समितिबाट पैसा माग गरी शिलालेख तयार पार्ने गरेको उपभोक्ता समितिका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment