Comments Add Comment

निमाको बाङ्गो ढाडको सफल शल्यक्रिया

Nima Lama (2)

काठमाडौं । छोरीलाई ढाड बाङ्गो हुने समस्या देखिएपछि काभ्रेका काजीमान लामा र उनकी श्रीमती सुष्मा निकै चिन्तामा परे । जन्मैदेखि ढाड बाङ्गो भएकाले लामा दम्पतीले त्यसको कारण र उपचारबारे केही सोच्नै सकेनन् ।

त्यसबेला उनीहरुले काभ्रेकै एक अस्पतालमा छोरी निमाको स्वास्थ्य परीक्षण गराएका थिए । त्यहाँका चिकित्सकले यसको लागि जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिए । तर, कहाँ जाने, के गर्ने भन्ने अलमलका बीच उनीहरुले लामो समय यत्तिकै गुजारे ।

अहिले आठ वर्ष पुगेकी निमा काठमाडौंको सामाखुसीमा रहेको रेडन स्कुलमा कक्षा तीनमा पढ्छिन् । समय क्रममा उनका बुबा–आमाले धापासीको ग्रान्डी अस्पतालमा बाङ्गो ढाडको जटिल शल्यक्रिया हुने थाहा पाए ।

उनीहरुले त्यहाँ चिकित्सक टोलीसँग भेटेर छोरीको उपचारबारे सल्लाह गरे । काजीमानले भने – ‘शल्यक्रियाको जटिलता र सम्भावित खतराबारे डक्टरहरुले जानकारी गराएपछि केही ढुक्क लाग्यो । त्यही ढाडस पाएर छोरीको शल्यक्रिया गर्ने निर्णयमा हामी पुग्यौं ।’

Nima Lama (1)

निकै अध्ययनपछि देशमै पहिलोपटक ग्रोइङ रड प्रविधिबाट उपचार गरेको अस्पतालको दाबी छ । ढाड बाङ्गो हुने समस्याले निमाको फोक्सोको विकासमा असर पुर्‍याउने खतरा देखिएको थियो । ढाड बाङ्गिने क्रम उमेरसँगै बढेर मुटु र फोक्सो थप थिचिने भएकाले उनको उपचार जतिसक्दो छिटो थाल्नुपर्ने दबाब चिकित्सकहरुमाथि थियो ।

उपचार टोलीका प्रमुख डा. विनोद बिजुक्छेले शल्यक्रियाबाट ढाड सीधा भएपछि निमालाई सास फेर्न सजिलो भएको बताए । ‘ढाड सीधा भएपछि उनको उँचाइ पनि करिब पाँच सेन्टिमिटर बढेको छ । पहिले लामो-छोटो रहेका गोडाहरु बराबर भएपछि उनलाई हिँड्न सजिलो भएको छ,’ उनले भने । जन्मसँगै सुरु भएको ढाड बाङ्गिने समस्यालाई चिकित्सकीय भाषामा अर्ली अनसेट स्कोलियोसिस (early onset scoliosis) भनिन्छ ।

ढाड सीधा पार्ने प्रविधिमा विदेशमा एउटै ग्रोइङ रडको मूल्य बीस लाख पर्ने भए पनि देश सुहाउँदो हुने गरी प्रविधिलाई परिस्कृत गरेर सेवा दिएको ग्रान्डी अस्पतालको दाबी छ । निमाको शल्यक्रिया गर्दा करिब तीन लाख रुपैयाँको समाग्री लागेको परिवारले जनाएको छ ।

शल्यक्रिया सफल भएपछि पनि निमालाई हरेक ६ महिनामा सानो शल्यक्रिया गरी ग्रोइङ रडलाई लामो पार्दै जानुपर्छ । चिकित्सकका अनुसार, यो क्रम उनको उँचाइ बढ्ने क्रम नरोकिउन्जेल जारी रहनेछ ।

एकै पटक रड तन्काएर राख्दा भने उँचाइ नबढ्ने र नसाहरुमा समस्या देखिने भएकाले क्रमिक रुपमा तन्काउनुपर्ने डा. बिजुक्छेले बताए । निमाको उपचारमा डा. बिजुक्छेसँगै डा. जावेद अहमद खान र डा. प्रशान्त अधिकारी संलग्न थिए भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारीले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment