Comments Add Comment

डेनमार्क बैठक यूरोपका मुद्दामा केन्द्रित हुनुपर्छःअध्यक्ष घले

shesh-ghale--in-meet
बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले यूरोपका मुद्दाहरुलाई नै केन्द्रित गरेर यूरोपेली बैठक सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुन लागेको “एनआरएनए नवौ यूरोपेली क्षेत्रीय बैठकको पुर्ब सन्ध्यामा अध्यक्ष घलेले यस्तो बताएका हुन्।

अध्यक्ष घलेले एनआरएनको यूरोप क्षेत्रमा सबैभन्दा बढी २७ राष्ट्रहरु रहेको बताउँदै तिनै राष्ट्रिय समन्वय परिषदहरु र युरोपको नेपाली समुदायलाई केन्द्रित गरेर नै  बैठकको एजेन्डा तय हुनुपर्ने बताए ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले सोमबार लुभेनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घलेले भने,” यूरोपमा रहेका नेपालीका समस्याहरु हुन् वा यही क्षेत्रबाट संघले गर्न सक्ने लक्ष्यलाई केन्द्रित गरेर बैठक गर्नुपर्छ। बिशेष गरी घोषणापत्र जारी गर्दा पनि छलफलमा नै उठेका बिषय बस्तु र सहभागी गैर आबासीयहरुको भावानालाई केन्द्रित गर्दै बुँदामा समेट्न सक्नु पर्छ।”

गत साता गैर आवासीय नेपाली संघको पाँचौ मध्यपुर्व क्षेत्रीय सम्मेलनलाई कतारमा सम्बोधन गरेका घलेले यूरोप क्षेत्रको बैठक पनि सफल हुनेमा आशा ब्यक्त गरेका छन्।यस अघि उनले न्युजिल्याण्डमा सम्पन्न दोस्रो ओसेनिया बैठकमा पनि भाग लिएका थिए।

यसअघि सम्पन्न भएका बैठकहरुबारे बेल्जियमका गैर आबासीयहरुलाई जानकारी दिदै अध्यक्ष घलेले भने,” ओसेनिया र मध्यपूर्ब बैठकमा नै सोहि क्षेत्रका मुद्दालाई आधार बनाएर बैठक गर्यौ र सफल भए,अब यूरोपेली बैठकमा पनि यूरोप क्षेत्र कै एजेन्डा माथि  छलफल हुनुपर्छ र घोषणापत्र पनि त्यसमा नै केन्द्रित भएर जारी गर्नुपर्छ।”

उनले संघलाई संस्थागत रुपमा अगाडि बढाउन र वर्तमान अवस्थामा गैर आवासीय नेपाली संघलाई रुपान्तरित गर्दै लैजान यूरोपको विशेष भुमिका हुने हुँदा बैठक फलदायी हुने बिश्वास ब्यक्त गरेका छन्।

ग्लोबल सम्मेलन, क्षेत्रीय सम्मेलन र क्षेत्रीय बैठकको आ-आफ्नै बिशेषता रहेको बताउँदै छलफल पनि सोहि अनुरुप हुन सके सँस्था बलियो हुने बताए। अध्यक्ष घलेले आगामी अगष्टमा अमेरिकाको न्यू जर्सीमा हुने नवौ क्षेत्रीय सम्मेलनमा सहभागी बन्न युरोपबासी गैर आबासीय नेपालीहरुलाई आह्व्वान गरेका छन्। उनले भने,” दुई बर्षमा हुने क्षेत्रीय बैठकमा यस पटक सँस्थाको पूनर्संरचनाको लागि बिशेष छलफल हुँदै छ,यहाँहरुलाई सहभागी बन्न अनुरोध गर्दछु।”

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग संघले सम्झौता गरे पछिको प्रगती बिबरण बारे पनि जानकारी गराएका थिए। उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए।

“देशभर सरकारले भूकम्प पिडितका लागि ७ लाख भन्दा घर निर्माण गर्नु पर्ने देखिन्छ। एनआरएनले एक हजार निर्माण गरेर एउटा नमुना बस्ती बनाउँन चाहान्छ,त्यही प्रक्रियाबाट अरु घरहरु बनुन् भन्ने हाम्रो चाहाना हो।” अध्यक्ष घलेले भने।

यसैबीच गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद वेल्जियमका अध्यक्ष गंगाधर गौतमले क्षेत्रीय बैठकहरु  गर्दा सम्पूर्ण खर्च आयोजक राष्ट्रले नै उठाउँन सक्न गरी तयारी गर्नु पर्नेमा जोड दिएका छन् । अनलाईनखबरसँग कुराकानी गर्दै गौतमले भने,” यूरोपेली बैठक गर्दा आयोजकले नेपाली समुदाय बाक्लो भएको ठाउँलाई केन्द्रित गर्नुपर्छ भने बैठकमा लाग्ने खर्चको लागि आयोजक राष्ट्र जिम्मेबारी हुनुपर्छ।”

अन्तरक्रिया कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक दिल गुरुङ,केन्द्रीय सचिव अर्जुन कुमार श्रेष्ठ, महिला उपसंयोजक रजनी प्रधान, युरोप क्षेत्रीय उपसंयोजक प्रेम गुरुङ लगायत बेल्जियम स्थित संघ संस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो।

अध्यक्ष घले पाँचौ मध्यपुर्व क्षेत्रीय सम्मेलनलाई कतारमा सम्बोधन पछि स्विटजल्याण्ड हुँदै बेल्जियम पुगेका हुन्। जुलाई २८ मा जर्मनीमा र २९ तारिख नबौ यूरोपेली क्षेत्रीय बैठकमा सहभागी बन्न डेनमार्कको कोपेनहेगनमा घले पुग्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment