Comments Add Comment

लोकमानलाई नहटाएसम्म अझै अनशन बस्छु (भिडियोसहित)

राजेन्द्र पाण्डेलाई जवाफ - तिमी दाङ्गमा गएर अस्पताल खोल

चिकित्सा विज्ञानसम्बन्धी विभिन्न माग राखेर १६ दिनसम्म आमरण अनशनमा बसेका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सोमबार दिउँसो दुई बजे जुस पिएर आफ्नो अनशन तोडे । उनी अहिले टिचिङ्ग अस्पतालको एन् एक्स ६०२ मा उपचाररत छन् ।

अनशनका कारण डा. केसीको स्वास्थ्यमा केही कमजोरी देखिए पनि उनको मन भने अझै गलेको छैन । उनी अहिले पनि अनशनमै रहेको दाबी गर्छन् । फरक यति हो कि हिजोका दिनसम्म उनले नखाई अनसन बसेका थिए, अहिले खाएर बसिरहेको बताउँछन् ।

डा. केसीले सोमबार सरकारसँग गरेको सम्झौताबारे अनलाइनखबरकर्मी ऋचा अर्यालसँग कुरा गर्दै फेरि पनि अनसन बस्ने चेतावनी दिए ।

Dr Govinda KC (5)

सरकारबाट तपाईको माग सम्बोधन भएको छ । तर, कतिपय मानिसले यो सम्झौतालाई अनसन तोड्ने जुक्तिका रुपमा मात्रै लिएका छन् । तपाई के भन्नुहुन्छ ?

मानिसहरुले अनसन तोडाउनै सम्झौता गरेको हो भने पनि ठीकै छ । तर, कुरा के हो भने हामी हिजो भएको सहमति कार्यान्वयन गर्न लगाएरै छोड्छौं । हामीलाई कसैले पनि सधैंभरि झुक्याइराख्न सक्दैन ।

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई न्याम्समा गाभ्ने सम्झौता भएको छ । तर, राजेन्द्र पाण्डेले त अरुको सम्पत्ति लेनदेन गर्ने गोविन्द केसी को हो भनेछन् नि ?

यसबारेमा त मलाई खासै थाहा भएन । फेरि यो अस्पताल कुनै संस्था, व्यक्ति, दल, गुटको हो भनेर हामी लागि परेका हैनौं । हामीले त सिस्टम बसाल्न मात्रै खोजेका हौं । त्यसमा कुरा यतिमात्र हो कि सबै नेपालीको स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्‍यो भन्ने हो । र, सबै विद्यार्थीहरुले शिक्षामा समान पहुँच हुनुपर्‍यो भन्ने हो । हामी त्यसैका लागि लडाइँ लडिरहेका छौं ।

नेपालमा ८० प्रतिशत जनतामा सर्वसुलभ रुपमा स्वास्थ्यको पहुँच छैन । गाउँमा मेडिकल कलेज छैनन् । ८६ प्रतिशत जनताले आधारभूत स्वास्थ्य सेवासम्म पाइरहेका छैनन् । साधारण रोग लाग्दा समेत उपचार नपाएर मर्नुपरेको छ । जब कि काठमाडौका ठुल्ठुला शहरमा भने चाहिनेभन्दा बढी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरु खोलिएका छन् । अहिले पनि १२ वटा मेडिकल कलेज खोल्न तत्पर भएर बसेका छन् ।

त्यसैले गर्दा हामीले मात्रै नभई जयराम गिरीको कार्यदलले समेत काठमाडौ भन्दा बाहिर यस्ता संस्था खोलिनुपर्छ भनेको छ । त्यसैगरी माथेमा प्रतिवेदनले पनि यस कुरामा जोड दिएको छ । त्यसैले काठमाडौंमा खोलिनु भनेको अन्यायपूर्ण हो, ८० प्रतिशत जनताका लागि । यो कुरा १२ वटा कलेजमा मात्रै लागु हुँदैन । एउटाले खोलेपछि अरु पनि आइहाल्छन् ।

त्यसैले यो निश्चित दल, स्वास्थ्य संस्था विरुद्ध नभई सामाजिक न्यायका लागि लडिएको लडाइँ हो ।

मनमोहन अधिकारीले त आफनो जीवन सम्पूर्ण नेपालीका लागि संघर्ष गरेर बिताउनुभयो । त्यस्तो व्यक्तिको नाम बिक्री गरेर यिनीहरुले मुनाफा कमाउन खोजिरहेका छन् । यस कुरामा यिनीहरुलाई लाज लाग्नुपर्ने हो ।

मनमोहन अस्पतालका बारेमा किन यस्तो सम्झौता गरेको त ?

मनमोहन अस्पताल किन्ने नकिन्ने भन्ने कुरा सरकारको हो । अथवा दलहरुको कुरा होला । तर, यहाँ (काठमाडौंमा) खोलिनुहुँदैन । खोलियो भने अन्य ठाउँमा खोलिनुपर्छ भन्ने हाम्रो मान्यता हो । साथै अहिले भएको सम्झौतालाई कार्यान्वयन गराएर छाडिन्छ भन्ने हाम्रो अडान हो ।

एमाले सांसद पाण्डेका अनुसार तपाईको अनशन मनमोहन अस्पतालका लागि मात्रै हो रे नि ?

मनमोहनलाई संस्थानमा रुपान्तरण गरेको एउटा दलले हो । मेडिकल कलेज भनेको सेवामूलक संस्था हो । तर, अहिलेका दल, नेताहरुले यसलाई नाम बिक्री गरेर मुनाफा कमाउने संस्थाका रुपमा लिएका छन् । यिनीहरु मनमोहन जस्तो आदर्श व्यक्तिको नाम बिक्री गरेर मुनाफा कमाउनेतर्फ लागेका छन् ।

मनमोहन अधिकारीले त आफनो जीवन सम्पूर्ण नेपालीका लागि संघर्ष गरेर बिताउनुभयो । त्यस्तो व्यक्तिको नाम बिक्री गरेर यिनीहरुले मुनाफा कमाउन खोजिरहेका छन् । यस कुरामा यिनीहरुलाई लाज लाग्नुपर्ने हो ।

फेरि मनमोहन अस्पताल अहिलेको मुद्दा हैन । हामीले भन्न खोजेको के हो भने अब काठमाडौमा मेडिकल कलेज खोलिनुहुँदैन । खोल्ने हो भने पनि काठमाडौ बाहिर खोलिनुपर्छ । मनमोहनकै कुरा गर्नु हुन्छ भने जहाँ चाहिन्छ, त्यहीँ गएर उहाँको नाममा स्वास्थ्य संस्था खोल भन्ने हो । यसो हुँदा ग्रामीण भेगका जनताले पनि गुणस्तरीय शिक्षा पाउँथे, स्वास्थ्य सेवा पाउँथे । त्यति हुदाँ मनमोहन अधिकारीको नाम पनि सार्थक हुन्थ्यो । तर, यहाँ आफ्नै पार्टीका नेता, कार्यकर्ताहरुले उहाँको नाम विक्री गरेर मुनाफामूलक संस्था खोलिरहेका छन् ।

मनमोहन प्रतिष्ठाको मुद्दा उनीहरु आफैंले उचालेको मुद्दा हो । मनमोहन, वीपी, गणेशमान, पुष्पलाल भनेका त हाम्रा आदर्श नेता हुन् । फेरि मनमोहनसित मेरो के नै रीस छ र ? यदि गर्ने नै थियो भने टिचिङ्ग अस्पतालमै यत्रो मनमोहन कार्डियाक सेन्टर छ, यसले यति राम्रो गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । विरोध गर्नुपर्ने भए त्यसैको विरोध गर्नु पर्ने हो ।

त्यसैगरी वी.पी कोइरालाका नाममा यहाँ मेडिकल कलेज छैन, धरानमा छ । त्यसैगरी तिमी दाङ्गमा खोल । त्यहाँ पाँच/छवटा जिल्लाले राम्रो स्वास्थ्य सेवा पाइरहेका छैनन् । उनीहरुलाई कि त भारत जानुपर्ने बाध्यता छ, कि त काठमाडौ, कि नेपालगञ्ज जानुपर्छ ।

ती ठाउँमा मात्र सरकारी अस्पताल खोलिदिने हो भने मात्रै पनि त्यस क्षेत्रको कायापलट हुने थियो र मनमोहनजीको नाम पनि सार्थक हुन्थ्यो ।

मेडिकल कलेज खोल्न पाइँदैन भन्ने माग किन नि ?

जनताले राम्रो स्वास्थ्य सेवा पाउँछन् । यसैका लागि म लडिरहेको छु । मेरो माग यही हो

दश वर्षसम्म काठमाडौमा मेडिकल कलेज खोलिनुहुँदैन भनेको हो, नेपालमा भनेको हैन । मैले दश वर्षसम्म नेपालमा मेडिकल कलेज खोलिनु हुँदैन भनेको छैन । काठमाडौंमा हुँदैन भनिरहेको छु । किनकि यसको जरुरत अहिले काठमाडौमाभन्दा बाहिर गाउँ-गाउँमा छ ।

अझ म त के भन्छु भने यस्ता मेडिकल कलेज खोल्नै परे पनि सरकारी मेडिकल कलेज खोलिनुपर्छ । त्यो खोल्दा सर्वप्रथम जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन् । त्यसमा धनी-गरिब दबै पर्छन् । त्यसपछि त्यहाँका मानिसले सेवा पनि पाउँछन् । ती डाक्टरहरु सरकारले खटाएका जुनसुकै ठाउँमा जान्छन् । र, जेहेन्दार विद्यार्थीले पढेपछि राज्यले पनि राम्रा डाक्टर पाउँछ । जनताले राम्रो स्वास्थ्य सेवा पाउँछन् । यसैका लागि म लडिरहेको छु । मेरो माग यही हो ।

यस आधारमा प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज खोलिनुपर्छ भन्ने हो । यस अर्थमा हामी मेडिकल कलेज खोल्ने विरुद्धमा हैनौं । खोल्नुपर्छ भन्ने मान्यता राख्छौ । तर, कहाँ खोल्ने भन्दा जहाँ त्यसको जरुरत छ, त्यहाँ खोल्ने मात्र भनेका हौ । यो कुरा कतिले नबुझेर भनेका होलान्, कतिले बुझेर पनि बुझ पचाएका छन् ।

अब पछिल्लो सहमतिपछि तपाईको आन्दोलन सकियो ?

हाम्रो आन्दोलन जारी नै छ । अहिले सुतेर तपाईसित बोल्नु पनि आन्दोलनकै एउटा पक्ष हो । उठेपछि मैदानमा उत्रनु परे फेरि पनि उत्रिइन्छ । त्यो भन्दैमा आफ्नो काम नै छोड्ने भन्ने हैन । फुर्सद निकालेर अन्य काम पनि गर्ने भन्ने हो ।

यो अन्त्यहीन लडाइँ केका लागि ?

हामी लडेको भनेको नीतिका लागि हो । यस्तो नीति बनोस् कि सबै नेपालीहरुको गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच होस् । योग्य विद्यार्थीले आफुले चाहेको विषय पढ्न पाऊन् । पैसा बाधक नबनोस् भन्नका लागि हामीले यो लडाइँ लडेका हौं ।

तर, यहाँ नीति बन्न पनि दिइएन । हामीले यतिका समयसम्म लड्यौं, पहिले कार्यदल नै बन्न नदिने, कार्यदल बन्यो भने काम गर्न नदिने काम भयो । कार्यदलले रिर्पोट बनाउँछ, त्यो रिर्पाेट सार्वजनिक नगर्ने । अनि त्यसलाई बिथोल्न कोशिस गर्ने लगायतका काम भइरहेका छन् ।

उसोभए अहिले सम्झौता … ?

Dr Govinda KC (6)

अहिलेे गरिएको सम्झौता पनि ‘कम्प्रोमाइज’ गरेर गरिएको छ । यहाँ सधैभरि मतियार र नेताहरु नै हावी भैरहेका छन् । अहिले हामीले गरिरहेको काम खासमा नेताहरुले गर्नुपर्ने काम हो । राजनैतिक दलले गर्नुपर्ने हो ।

हामी पनि त तीन करोड नेपालीको स्वास्थ्य तथा उनीहरुको जिउने अधिकारका लागि लडिरहेका छौं  । फेरि यो अधिकार संविधानले दिएको कुरा हो । तर, यहाँ राजनैतिक दल तथा माफियाहरु मिलेर सर्वसाधारण जनताको हक हितको विरुद्ध आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । मतियारको स्वार्थ पूर्ति गर्ने काम भइरहेको छ । त्यो हामी कदापी हुन दिँदैनौ । अन्त्यसम्म लडिरहिन्छ । जब यो नीति आउँछ, नीति पश्चात कसलाई के हुने, के गर्ने भन्ने नीतिले नै तय गर्छ ।

तर, यहाँ त नीति नै बन्न दिइएन । मनपरी ढङ्गले, अव्यवस्थित तरिकाले व्यवसायीकरण गरिरहेको अवस्था छ । जब कि विकसित देशहरुमा पनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा व्यवसायीकरण गरिँदैन । तर, यहाँ भने व्यवसायीकरण नहुनुपर्ने ठाउँमा समेत व्यवसायीकरण भैरहेको छ ।

यसमा लाग्ने पनि जनताको हक हितका लागि नीतिनिर्माण गर्नुपर्ने संघ संस्था, दल तथा नेताहरु छन् । सँगसँगै भ्रष्टाचार निर्मूल गर्नुपर्ने मान्छे, ऊ आफै पनि भ्रष्टाचारमा चुर्लुुम्म डुबेको छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पनि उसले जुन तरिकाले भ्रष्टाचार गरेको छ , त्यो माफीयोग्य छैन ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने प्रमुख मागलाई बाइपास गर्नुभएको हो ?

हैन, हैन । हामीले यसलाई कदापि बाइपास गर्न खोजेको छैन । संसदमा सुनुवाइ हुँदैछ । तर, ऊ जान चाहिरहेको छैन रे । यो भनेको संसदको अपमान हो । संसदमा बोलाएपछि ऊ जानै पर्थ्यो । त्यसरी बोलाउँदा पनि नजानु भनेको उसले आफूलाई संसदभन्दा माथि ठान्नु हो । यो अहिलेसम्म यसरी नै चलिरहेको छ ।

यहाँ विडम्बना के छ भने सरकार ढाल्न ५१ प्रतिशत भए पुग्ने । तर, यस्ता भ्रष्टाचारीलाई हटाउन दुई तिहाई भन्दा बढी मत चाहिने

संविधानभन्दा माथि कोही पनि हुँदैन । वास्तवमा जनतामात्र संविधानभन्दा माथि हुन्छन् । फेरि संविधानमा जे लेख्ने हो, जे बनाउने हो, जनताकै लागि गर्ने हो । तर, ऊ संविधानभन्दा माथि बसेर चलिरहेको छ । त्यो कुरा सांसदहरुले हेर्नुपर्ने कुरा हो । यसको कारवाही पनि संसदले नै गर्नु पर्ने हो ।

जे होस् अहिले संसदले पनि यो मुद्दालाई गम्भीरतापूर्वक हेरेको छ । अहिले तीनजना सांसदले त साहसपूर्वक नेतृत्व क्षमता प्रदर्शन गरेर देखाउनुभएको छ । अरु पनि शायद अगाडि आउनुहुन्छ । अहिले त यो मुद्दाको संसदमा सुनुवाइ पनि हुँदैछ । त्यो हामी हेर्दै पनि छौं ।

भनेपछि तपाईले अझै महाअभियोगको माग छाड्नुभएको छैन ?

हामी त अहिले आन्दोलनमै छौं । हिजोसम्म अनसनमा बसेर आन्दोलन गरेका थियौं, अहिले खाएर गर्दैर्छौं । जबसम्म उसलाई (लोकमानलाई) पदबाट हटाइँदैन, हाम्रो आन्दोलन सकिँदैन ।

यहाँ विडम्बना के छ भने सरकार ढाल्न ५१ प्रतिशत भए पुग्ने । तर, यस्ता भ्रष्टाचारीलाई हटाउन दुई तिहाई भन्दा बढी मत चाहिने ?

यस्ता नियमले तानाशाही जन्माउने भए । यदि ५० प्रतिशतमात्र भएको भए पनि मानिसहरु डराउँथे । यस्ता सन्त्रास फैलाउने काम गर्दैन थे । भ्रष्टाचार तथा अख्तियारको दुरुपयोग हुँदैनथ्यो । दुई तिहाइ चाहिने भएकाले यी सबै कुरा आएको हो । फेरि ऊ त पहिलेदेखि नै भ्रष्ट हो । उसले दबाव र लोभमा परेरै यो सबै काम गरेको हो । नेताहरुले पनि यस्ता मान्छेलाई प्रमुख पदमा ल्याउनुहुँदैनथ्यो । यसैको परिणामस्वरुप अहिले देश र जनतालेे मार खेप्नु परिरहेको छ ।

तपाई आठौंपटक अनसन बसिसक्नुभयो । अझैसम्म चुनौती कम भएका छैनन्, बरु बढ्दैछन् । अहिले तपाईमाथि पनि आलोचना हुन थालेको छ, यसबारे के भन्नुहुन्छ ?

पहिलो कुरा त अब मैले खाएर अनसन गर्ने हो । भएन भने फेरि अनशन बस्नुपर्ने हुन्छ । मैले पहिले नै भनिसकें कि हामी रहरले अनसन बसेका हैनौं । बाध्य भएर बसेका हौं । जबसम्म ठुल्ठुला चुनौती रहन्छन् र जनताको हकहित विपरीत काम भइरहन्छन् तबसम्म म अनसन बसिरहन्छु ।

तर, यो त आफ्नै ज्यानलाई सास्ती भएन र ?

अनसन बस्नु भनेको मैले मेरो स्वास्थ्य र ज्यानलाई हत्केलामा लिएर हिँड्नु हो । यहाँ मेरो ज्यानभन्दा तीन करोड जनताको स्वास्थ्य र ज्यान नै ठूलो हो । यदि मेरो ज्यान तीन करोड जनताको काममा आउँछ भने म यस्ता काम गर्न सधैं तत्पर छु । त्यसैले म अर्कोपटक अनशन बस्न परे पनि पछि हट्दिँन ।

अब मेरो जीउले कतिसम्म साथ दिन्छ त थाहा छैन, तर ज्यानले साथ दिएसम्म गरिरहन्छु । यसमा सबैभन्दा ठूलो कुरा भनेको आत्मबल हो । यो कुरामा मेरो आत्मबल रत्तिभर पनि कम भएको छैन । अनशनका कारण मेरो शरीर केही गल्ला, तर मन गलेेको छैन र गल्दैन पनि ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment