Comments Add Comment

बाढी र पहिरोले ३७ को मृत्यु, २४ वेपत्ता

tinau_badhi

११ साउन, काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोका कारण चौबिस घण्टाको अवधिमा ३७ जनाको मृत्यु भएको छ । अरु २४ जना हराइरहेका छन् ।

बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पश्चिम नेपालमा पुर्याएको छ । प्युठान जिल्लामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले १४ जनाको शव प्राप्त भएको जानकारी दिए ।

पहिरोले पुरिएका घरहरुबाट नौं जनाको शव निकालिएको र झिम्रुक नदीले बगाएको अवस्थामा चार जनाको शव फेला परेको राठौरले जानकारी दिए ।

प्युठानमा पहिरोमा पुरिएकाहरुको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्युठानका स्थानीय पत्रकार विजयसिंह भारतीले १७ जनाको मृत्यु भएको बताएका छन् ।

काठमाडौंमा उपलब्ध प्युठानका राजनीतिक दलका नेताहरुको संयुक्त बैठकले तत्काल उद्धार तथा राहत पुर्याउने निर्णय गरेको छ । पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले बाढी पहिरो पीडितहरुको उद्धार, राहत र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सबै प्रकारका उपाय अवलम्बन गरिने बताइन् ।

उनले भनिन्, ‘हामी आफै पनि प्रभावित क्षेत्रमा जान्छौं र सम्पूर्ण पार्टी पंक्ति, संघसंस्था, समाजसेवीहरुलाई उद्धार तथा राहतमा परिचालित हुन अनुरोध गर्दछौं ।’

प्युठानपछि धेरै क्षति गुल्मीमा

गुल्मीमा पनि ठूलो मानवीय क्षति भएको छ । गुल्मीमा ७ जनाको मृत्यु भएको खबर छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार हस्तीचौर गाविसमा तीन जनाको, बिसुखर्क गाविसमा दुई जनाको र वाङदी गाविसमा दुई जनाको मृत्यु भएको छ ।

पाल्पामा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमका अनुसार गोठादी गाविसमा तीन जना र दोभान गाविसमा एक जना गरी चार जनाको मृत्यु भएको हो ।

बाग्लुङ जिल्लामा पनि पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले हस्तीचौर गाविसमा तीन, बिसुखर्क गाविसमा दुई र वाङदी गाविसमा दुई गरी सात जनाको पहिरोमा पुरिएर मृत्यु भएको जानकारी दिए ।

मकवानपुरमा ३ जनाको, रुपन्देहीमा २ जनाको र काठमाडौं, अर्घाखाँची, दोलखा र सर्लाही जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।

जताततै डुबान र कटान

अविरल वर्षा तथा बाढीले झापा, सर्लाही, सुनसरी, विराटनगर, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका स्थानका बस्ती डुबानमा परेका छन् । सयौं विघा खेतियोग्य जमिन कटान भएको छ ।

देशभरका नदी र खोलाहरुमा बाढीको बहाव उच्च छ । कोशी व्यारेजको बहाव हालसम्मकै उच्च भएपछि खतराको सूचक रातो बत्ती बालिएको छ ।

नारायणी नदीमा पनि बाढीको सतहले खतराको संकेत पार गरेको छ । त्यसलगत्तै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै साइरन बजाइएको थियो ।

नवलपरासीको गण्डक क्षेत्रमा पनि बाढीको सतहले खतराको संकेत नाघेको छ ।

Tinau Bridge Swept in Flood
रुपन्देहीमा तिनाउ नदीको बाढीले बगाएको झोलुङ्गे पुल

रुपन्देहीको तिनाउ नदीको बाढीले वरपरका सुकुम्बासी बस्ती विस्थापित भएका छन् । तिनाउको बाढीले बुटवल–१३ देबीनगर र बुद्धनगर जोड्ने झोलुंगे पुल बगाएको छ ।

कपिलवस्तुमा वाणगंगा नदीको बाढी बस्तीमा पस्दा दुई सय घर डुबानमा परेका छन् । वाणगंगा नगरपालिका १२, १३, १४ र १७ का बस्ती डुबानमा परेका स्थानीयले बताएका छन् ।

राप्ती नदीमा १२ वर्षयताकै ठूलो बाढी आउँदा दाङ, बाँके लगायतका जिल्लाका बस्तीहरु पनि डुबानमा परेका छन् । दाङ देउखुरीको सतबरियामा सबैभन्दा धेरै घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रकाश शर्माले जानकारी दिए ।

बाँकेमा पनि राप्ती नदीको बाढीले खतराको संकेत पार गरेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Rapti
बाँकेमा राप्ती नदीको बाढी

अविरल वर्षाका कारण बबई, महाकाली, कर्णाली लगायतका नदीहरुमा पनि पानीको बहाव उच्च रहेको अधिकारीहरुले बताएका छन् ।

मौसमविद भन्छन्– वर्षा जारी रहन्छ

मौसमविदहरुले पानी पर्नेक्रम अझै केहि दिन जारी रहने बताएका छन् । बुधबार देशका अधिकांश ठाउँमा पानी पर्ने र पूर्वी तथा पश्चिमी भेगमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै पोखरामा २ सय ६३ मिलिमिटर पानी परेको छ ।

यस्तै विरेन्द्रनगरमा २ सय २८, लुम्लेमा २ सय १६, दाङमा ९६, काठमाडौंमा ८६, नेपालगञ्जमा ८५, धनगढीमा ७५, विराटनगरमा ५६ र धरानमा ५५ मिलिमिटर पानी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment