Comments Add Comment

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्ब

earthqueak_victim_barpak

१२ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ ।

प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको हो । प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ ।

अनुदान रकम व्यवस्थापन गर्न सरकार र दातृ निकायको १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिनेछ । बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उपत्यकाबाहिरका भूकम्प अति प्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिका गरी पाँच लाख ३३ हजार एक सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ ।

त्यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि पहिलो किस्तामा जम्मा भएको छ । यसअघि सरकारले एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।

अर्थ मन्त्रालयले करिब ८४ अर्ब रुपैयाँको बजेट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई अख्तियारी दिएको थियो । अनुदान पाउन सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरसकारी संस्थासँग सम्झौता भएको छ ।

उनीहरूले प्राधिकरणबाट तोकिएका बैंकमार्फत नेपाल सरकारले उपलब्ध गराएसरह पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता ८० हजार र तेस्रो किस्ता ७० हजार रुपैयाँ उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

सो अख्तियारीमा गैरसरकारी संस्थामार्फत उपलब्ध गराइने रकम समावेश छैन । प्राधिकरणले उल्लेखित रकम उपलब्ध गराउन यसअघि क, ख र ग वर्गका गरी ५९ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेको छ । काठमाडौं उपत्यकाकामा सर्वेक्षण सुरु भएको छ ।

भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षणको तयारी भइरहेको छ । सर्वेक्षणपछि तथ्यांक विश्लेषण गरी अनुदान पाउने सूचीमा परेका घरधनीसँग सम्झौतापछि अनुदान रकम उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment