Comments Add Comment

कहिले बनिसक्ला धोबीखोला करिडोर ?

१२ साउन, काठमाडौं । सार्वजनिक सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला करिडोरलाई अघि सारिएको छ । तर, अहिलेसम्म पहिलो खण्डको काम पनि सकिएको छैन ।

dhobi kholaaदुई चरणमा निर्माण गर्ने लक्ष्य राखिएको करिडोरमा पहिलो चरणअन्तर्गतको बुद्धनगरस्थित बागमती दोभानदेखि चाबहिलको बैजनीपुलसम्म दायाँ साढे पाँच र बायाँ साढे पाँच गरेर ११ किलोमिटर सडक बनेको छ । तर, अझैसम्म कालोपत्रे नहुँदा यो करिडोर प्रयोग हुन सकेको छैन ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धोबीखोला करिडोर हुँदै ढल ओछ्याउने काम गरिरेको छ ।

तर, ढलको काम नसकिँदा सडकमा पिचको काम गर्न नसकिएको काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालय काठमाडौंले जनाएको छ । यसैकारण पहिलो चरणको लक्ष्यअनुरुप काम हुन नसकेको काठमाडौं कार्यालयका कायममुकायम आयुक्त रामप्रसाद श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

धोबीखोला आयोजनाले आगामी आर्थिक वर्षको पुससम्म पहिलो चरणअन्तर्गत बुद्धनगरको वागमती दोभानदेखि चाबहिलको बैजनी पुलसम्म पक्की सडक निर्माण गरिसक्नुपर्ने लक्ष्य राखेको थियो ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ओछ्याउन सुरु गरेपनि पीचका लागि ‘साइट’ नदिँदा समस्या भएको श्रेष्ठले जानकारी दिए । ‘गत आर्थिक वर्षमा पिचका लागि काम गर्नै सकिएन’ श्रेष्ठले भने, ‘बाग्मती सभ्यताको आयोजनाले समयमै ढल नबिछ्याउँदा कालोपत्रे रोकिएको हो ।’

तर, करिडोरमा ट्रयाक खोल्ने, फुटपाथ बनाउने, पर्खाल, रेलिङ लगाउने काम भने सकिएको उनले बताए ।

सरकारले काठमाडौंको पूर्वी र मध्य सहरी क्षेत्रको उत्तर-दक्षिणी भागमा रहेको सवारीसाधनको करिब ४० प्रतिशत चाप कम गर्न भन्दै धोबीखोला करिडर निर्माण गर्न सुरु गरेको थियो । यो खण्ड निर्माण सम्पन्न भएपछि रिङरोडबाट बागमती दोभानसम्म १५ मिनेटमा पुग्न सकिने अपेक्षा गरिएको छ ।

शहरीकरणले संकुुचित बन्दै गएको काठमाडौंमा धोबीखोला करिडोर सडकखण्ड सहायक सडक बन्न सक्ने आयोजनाको विश्वास छ । चक्रपथदेखि प्रशासनिक केन्द्र सिंहदरबार हुँदै प्रसूतिगृह पुग्न यो सडकले अहिले कायम दूरी घटाउनेछ ।

यसले समय र इन्धन बचतमा पनि सहयोग पुर्‍याउनेछ । पैदल यात्रीकालागि यो सडकखण्ड उपयुक्त विकल्प बन्न सक्ने कामु आयुक्त श्रेष्ठले बताए ।

मुख्य सडकमा हुने ट्राफिक जामको समस्या न्यूनीकरण गर्न पनि सहयोगी हुनेछ ।  सडकखण्डमा बजार विस्तारको सम्भावनासमेत छ ।

धोबीखोला करिडोर सम्पन्न भएपछि सडकखण्डभित्र ढल नदीमा मिसिने छैन । २०७६ भित्र वर्षमा धोबीखोला ढलरहित हुनेछ । धोबीखोलालाई स्वच्छ बनाउन सडकमा रुख विरूवा पनि हुर्काइँदैछ ।

काठमाडौं महानगरपालिकाअन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्राजेक्टबाट यो करिडोर सुधार आयोजना सुरु गरिएको थियो । २०५९ साल फागुनदेखि आयोजना सञ्चालनमा आए पनि खासै सुधारात्मक कार्य भने हुन सकेको थिएन ।

त्यसैले, २०६४ पुसमा आयोजनाको जिम्मा सरकारले लिएको थियो । यो आयोजनामा ३ अर्ब ३५ करोड रुपैयाँ खर्च हुनेछ । यो आयोजना २०७६ सालसम्म सक्ने लक्ष्यको साथ अहिले काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment