Comments Add Comment

एमालेसँग सरकारमा होइन, राजनीतिक मुद्दामा सहमतिः कांग्रेस

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग सरकारमा नभई राष्ट्रिय राजनीतिक मुद्दामा सहमति खोजिने बताएको छ ।

Congress-Flagसहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले संसदमा रहेका दलहरुलाई सात दिनको समय दिएकी छन् । तर, दुई दिन हुँदा समेत प्रमुख दलहरुबीच औपचारिक सम्वाद हुन सकेको छैन ।

प्रधानमन्त्री बन्ने तरखरमा रहेका माओवादी अध्यक्ष प्रचण्डले अविश्वासको प्रस्ताव संसदमा पेश गर्दैगर्दा अझै पनि एमालेसहितका दलहरुसँग सम्वाद गरेर राष्ट्रिय सहमति कायम गर्ने बताएका थिए ।

तर, कांग्रेसका नेताहरुले भने अब बन्ने नयाँ सरकारमा एमालेलाई ल्याउने कुनै इच्छा नै नरहेको बताएका छन् ।

दुई ठूला दलमध्ये एक प्रतिपक्षमा बस्नुपर्ने कांग्रेसको तर्क छ । एमाले नेतृत्वको वर्तमान सरकारमा आउन आहृवान गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले यो अडान राखेका थिए ।

देउवा निकट नेता मीन विश्वकर्मा भन्छन्, ‘अहिले एमालेसँग सरकारबारे कुनै सम्वाद हुँदैन । सबै दल सरकारमा हुनुपर्छ भन्ने हामी मान्दैनौं ।’

उनका अनुसार सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय विताएपछि बहुमतीय सरकार गठन हुनेछ । कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने समझदारी गरिसकेको छ ।

कांग्रेस नेता विश्वकर्मा भन्छन्, ‘एमालेसँग सरकार बनेपछि सम्वाद गर्छौं र राष्ट्रिय राजनीतिका मुद्दाहरुमा सहमति खोज्छौं ।’

अहिले सरकारको नेतृत्वमा रहेको एमाले स्वयं पनि प्रचण्डको नेतृत्व राष्ट्रिय सरकार बनाउने पक्षमा देखिएको छैन । एमाले नेताहरुले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment