Comments Add Comment

सीमित स्रोतसाधनबीच उल्लेखनीय कृषि अनुसन्धान

Rautahat-ropai१२ साउन, काठमाडौं। नेपालमा खाद्यान्नको उत्पादनको क्षेत्रमा अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद्ले सीमित स्रोतसाधन तथा जनशक्तिका बीच पनि कृषि अनुसन्धान क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

जनताले अपेक्षा गरे अनुसारको कृषि क्षेत्रमा परिवर्तन गर्न राज्यले यस परिषद्को विकास तथा विस्तारमा विशेष चासो दिनुपर्ने, आर्थिक अभाव रहेको तथा बदलिँदो परिवेशअनुसार ऐन तथा नियममा परिवर्तन गर्नुपर्नेमा परिषद्ले जोड दिएको छ ।

रासस प्रतिनिधिसँगको कुराकानीमा परिषद्का आर्थिक प्रशासन निर्देशक रामबहादुर केसीले परिषद्को भौतिक पूर्वाधार जीर्ण अवस्थामा रहेको, कृषि क्षेत्रका वैज्ञानिकको आकर्षणमा कमी तथा अनुसन्धान गर्ने वैज्ञानिकलाई प्रोत्साहन दिनुपर्ने खाँचो औँल्याए ।

उहाँका अनुसार परिषद्ले बालीनाली, फलफूल, पशुपन्छी, सुख्खा धानजस्ता महत्वपूर्ण विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

काठमाडौँसहित देशका विभिन्न २३ जिलामा ६१ वटा कार्यालयबाट सेवा पु¥याउँदै आएको सो परिषद्ले बालीनालीको क्षेत्रमा धान, गहुँ, मकै, जौ, उवा, बागबानीको क्षेत्रमा हिमाली स्याउ, मध्यपहाडी क्षेत्रको सुन्तला, तराई क्षेत्रको लिची तथा अन्य नगदेबाली चिया र अलैँचीको विभिन्न जात तथा बीउको उच्च गुणस्तर तथा उन्नत खालको जात तथा बीउ पत्ता लगाएर सरकार तथा कृषकलाई सिफारिस गर्दै आएको छ ।

त्यस्तै, पशुपन्छीमा गाई, भैँसी, कुखुरा, बङ्गुर, माछा, रेन्बो ट्राउट माछा तथा धानमा सुख्खा १, २, ३, ४, ५ र ६ सुख्खा सहने बालीको विकास गरी सिफारिस गरेको छ । कागतीको क्षेत्रमा सुन कागती–१ र २ विकास गरेको, चिसो पानीमा रेन्बो ट्राउट माछाको जुम्लासहित हिमाली जिल्लामा सम्भाव्यता अध्ययन भइरहेको निर्देशक केसीले जानकारी दिए ।

त्यस्तै, तराईमा पानी धान (सबमर्ज) तातो र जमेको पानीमा बर्सातपछि उम्रने धान) सिफारिस गरेको छ । बितेको १० वर्षमा परिषद्ले धानमा १६ जात, मकैमा ११ जात, कोदो, फापर तथा जौमा तीन जात, तेलहनमा दुई जात, तरकारीमा नौ जात, फलफूलमा दुई जात तथा तराईमा प्लास्टिकभित्र सिर्जना नामको गोलभेँडा गरी ६८ जात पत्ता लगाई सिफारिस गरिसकेको छ ।

काठमाडौँमा तीन महिना लगाएर उत्पादन हुने काउलीमा उन्नत जातको खुमल ज्यापू नामको नयाँ काउलीको बीउ पत्ता लगाएको र सो काउली ७५ दिनमा उत्पादन हुने गरेको उहाँले जानकारी दिए । त्यस्तै, खुमल उपहार तथा खुमल उज्वल नामका आलुका दुई जात सिफारिस गरेको, मसलाबालीमा बेसारको जात कपुरकोहर हलेदो–१ को विकास गरेको छ ।

त्यस्तै, गाईभैँसीलाई खुवाइने घाँसमा जैघाँस, अमृत धारा, तथा राई घाँस तथा वसिम पोसिलो घाँसको वसिम ग्रीन गोल्डको सिफारिस गरिएको छ । उनले देशको कृषि विकासमा सरकारले विशेष चासो राखेर काम गरेमा देशमा कृषि क्षेत्रको विकासको ढोका खोल्न सकिने र जनताको अपेक्षा पूरा गर्न मद्दत मिल्ने पनि विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment