Comments Add Comment

नारायणी नदीमा पानीको सतह घट्यो, जनजीवन सामान्य बन्दै

Gandak1

१२ साउन, नवलपरासी । मुलुकको तीन ठूला नदीहरुमध्येको एक नारायणी नदीमा पानीको बहाव विस्तारै घट्न थालेपछि बाढीको त्रासमा सुरक्षित स्थानमा बसेका स्थानीयहरु आ-आफ्नो घर फर्कन थालेका छन् ।

मंगलबार रातिसम्म नारायणी नदीमा पानीको सतह खतराको चिन्ह पार गरेर १०.२४ मिटर सम्म पुगेको थियो भने अहिले घटेर ७.५ मिटरमा आएको मापन केन्द्र देवघाटका बलराम लुइटेलले बताए ।

नारायणी नदीमा ८.४ मिटर नाघेपछि खतराको संकेत मानिन्छ । त्यसैगरी ७ दशमलब ३ मिटर नाघेको अवस्थामा चेतावनी लेवल मानिन्छ । अहिले नदीमा पानीका सतह विस्तारै घट्दै गएकोले चेतावनीको संकेत भन्दा पनि तल झर्ने सम्भवना रहेकेा लुइटेलले बताए ।

नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैडाकोटमा पसेको पानी सुकेको छ भने गैैडाकोटमा नदीको छाल पस्न छाडेको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले नदीमा पानीको बहाव घटेसँगै जनजीवन सामान्य बन्दै जानकारी दिए । नवलपरासीमा यस बर्ष बाढीका कारण कुनै पनि मानवीय क्षति भने नभएको पन्तले बताए ।

करिब सातादिन अघि डुबानमा परेको सरमुकाम परासीमा तथ्यांक संकलनको काम भईरहेको र अहिलेसम्म विभिन्न संघसंस्थाहरुले परासी क्षेत्रका डुबानमा परेका ४ सय १९ घर परिवारलाई राहत वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

पानीको सतह घटेपनि गण्डक नहरको ठोकरहरु भने कटान जारी छ । उक्त क्षेत्रमा अझै पनि सतर्कता अपनाइएको प्रजिअ पन्तले बताए ।

नारायणी नदीमा पानीको सतह विस्तारै घट्दै गएको भए पनि नदीहरुको पानीको सतह देखाइने नेपाल सरकारको वेभसाइट hydrology.gov.np मा भने अझै पनि पानीको सतह खतरा भन्दा माथि देखाइएको छ ।

वेभसाइटमा अपडेट नभएपनि पानीको सतह भने खतराको संकेत भन्दा धेरै तल झरेकोे मापन केन्द्र देवघाटका बलराम लुइटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment