Comments Add Comment

सरकारद्वारा २८ स्रष्टा सम्मानित

Sharsta-Samman,-Photo-RSS

१२ साउन, काठमाडौं । भाषा, साहित्य, संस्कृति, नाट्य संगीत र ललितकला क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै सरकारले २८ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार काठमाडौमा एक समारोह गरी विभिन्न विधामा ४ जनालाई राष्ट्रिय प्रतिभा, १९ जनालाई क्षेत्रीय प्रतिभा र ५ जनालाई महाकवि देवकोटा पुरस्कार प्रदान गरेको हो । २८ जना स्रष्टाहरुलाई पुरस्कारस्वरुप १८ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

२०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्रा. डा. कृष्णबहादुर थापा, भाषा साहित्य विधामा सरोजकुमार ओली, संगीत तथा नाट्य विधामा विष्णुभक्त फुयाल र ललितकला विधामा अनिलकुमार साहलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । पुरस्कृत सबैलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरे ।

यस्तै, महाकवि देवकोटा पुरस्कार कवितातर्फ मेघराज शर्मा मञ्जुल, निबन्धतर्फ हेमनाथ पौडेल, गद्याख्यानतर्फ माया ठकुरी, बाल तथा लोक साहित्यतर्फ डा. तीर्थराज सुवेदी र भाषा साहित्यतर्फ भोजपुरी साहित्यकार गोपाल अश्कलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पनि जनही एक लाख रुपैयाँ छ ।

५० हजार रुपैयाँ राशीको क्षेत्रीय प्रतिभा पुरस्कार चार वटा विधामा पाँच विकास क्षेत्रबाट १९ जनालाई प्रदान गरिएको छ ।

क्षेत्रीय पुरस्कार पाउनेहरुमा पाँचथरका डा. देवी क्षेत्री दुलाल, भक्तपुरका डा. गोपालभक्त धौबञ्जा, दाङका डा. राजकुमार सुवेदी, अछामका खगेन्द्र घोडासैनी, उदयपुरका कृष्ण शाह यात्री, रुपन्देहीकी गीता थापा, कास्कीका रामभक्त जोजिजु, बबर्दियाका विष्णुबहादुर थापा, दार्चुलाका शंकर सिंह विष्ट, मोरङकी अनुराधा थापा र काठमाडौका सुरेन्द्र प्रधान छन् ।

यस्तै, रुपन्देहीका मन गोल्डी, सल्यानका सागर शाह, डडेल्धुराका भोजबहादुर ऐर, मोरङका चर्तुभुजलाल दास केवरत, धनुषाका डा. रेवतीरमण लाल कर्ण, वाग्लुङकी सन्तकुमारी श्रेष्ठ, सुर्खेतका पृथ्वीबहादुर सिंह र डोटीका रामलाल जोशीले पनि क्षेत्रीय प्रतिभा पुरस्कार पाएका छन् ।

समारोहमा दलित मुक्ति आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको नाममा गत वर्ष स्थापित भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार पनि प्रदान गरियो । यो पुरस्कार स्वर्गीय पदम सिंह विश्वकर्मा, पदम सुन्दास र मोदनाथ प्रश्रतिलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।

तस्वीरः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment