Comments Add Comment

‘कम सुत्ने बालबालिकामा डिप्रेशनको खतरा’

Sleeping-Child

१२ साउन, काठमाडौं । कम निदाउने तथा राम्ररी नसुत्ने बालबालिकालाई भविष्यमा डिप्रेशन तथा तनाव उत्पन्न हुनसक्ने नयाँ अनुसन्धानले पत्ता लगाएको छ ।

हस्टन विश्वविद्यालयकी मनोविज्ञानकी एसोसियट प्रोफेसर क्यान्डिस अल्फानोले गरेको अनुसन्धानले यो कुरा पत्ता लगाएको हो ।

अध्ययनकर्ताले यस अनुसन्धानका लागि सातदेखि एघार वर्ष उमेर समूहका ५० बालबालिकालाई अस्थायी रुपमा सुत्नमा प्रतिवन्ध लगाएका थिए ।

अपर्याप्त निद्राले बालबालिकाको मनोविज्ञानमा नकारात्मक भावना मात्र नजगाई सकारात्मक भावनालाई बदलेर समेत असर पार्ने नतिजाले देखाएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

उदाहरणको लागि दुई रातको अनिद्राले नै बालबालिकालाई सकारात्मक कुराबाट कम खुशी प्रदान गर्ने, त्यसतर्फ कम प्रतिकृया जनाउने तथा भविष्यमा समेत ती कुरालाई जतिसक्दो कम सम्झने बनाइदिन्छ ।

जब उनीहरु राती समयमै सुत्न थाल्छन् तब उनीहरुमा यस किसिमका नकारात्मक भावना तथा त्यसले पार्ने असर कम हुँदै जाने अध्ययनले देखाएको छ ।

‘त्यसैले पनि अभिभावकहरुले आफ्नो बच्चाको समग्र विकासका निम्ति खानपान, शारिरीक तन्दरुस्तीबारे ध्यान दिए जसरी नै निद्राबारे पनि विशेष ध्यान दिनु आवश्यक छ’, हस्टन विश्वविद्यालयले जारी गरेको विज्ञप्तीमा अल्फानोले भनेकी छन् ।

‘यदी तपाईको बच्चालाई विहान उठ्न समस्या हुन्छ वा दिउँसो निद्रा लागिरहन्छ भने उसलाई पक्कै पनि रातीको निद्रा पुगेको छैन । यसको कारण ढिलो सुत्नु, रातीमा अरामपूर्वक नसुत्नु, तथा समयमा सुत्ने बानीको विकास नहुनु लगायतका विविध कारण हुनसक्छ’, अल्फानोले भनेकी छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment