Comments Add Comment

पाँच सचिव पदका लागि को-को छन् ११ दावेदार ?

यस्ता छन् सचिव बन्ने दौडमा रहेका सहसचिवहरु

१३ साउन, काठमाडौं । उमेरहदका कारण साउन मसान्तसम्म नेपाल सरकारका पाँच सचिव पद रिक्त हुँदैछ । लोकसेवा आयोगका माधवप्रसाद रेग्मी, राष्ट्रिय योजना आयोगका सुरेशमान श्रेष्ठ र शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले यही साउन ११ गते अवकाश पाएका छन् ।

sachib Dabedar listउद्योग मन्त्रालयका सचिव सुर्यप्रसाद सिलवालले यही साउन १५ गते र पुरुषोत्तम पौडेलले यही साउन १७ गते अनिवार्य अवकाश पाउँदैछन् ।

साउन महिना भित्रै रिक्त पाँच सचिव पदका लागि अहिले ११ जना सहसचिव दाबेदार छन् । राजेश्वर मानसिंह, लोकप्रसाद आचार्य, शम्भु कोइराला, लवदेव अवस्थी, खगराज बराल, गोपीनाथ मैनाली, विनोद केसी, सूर्य आचार्य, कृष्णप्रसाद देवकोटा, पूर्णचन्द्र भट्टराई र चुडामणि शर्मा सचिवका दाबेदार हुन् ।

त्यसमा एउटा सचिव वरिष्ठताका आधारमा नियुक्त हुन्छन् भने बाँकीमा एकजना बराबर तीन जना पर्नेगरी लोकसेवाले सिफारिस गरेका सहसचिवबाट सरकारले सचिव नियुक्त गर्छ ।

यस्ता छन् सचिव पदका दावेदार

राजेश्वर मानसिंहः वरिष्ठताका आधारमा पहिलो नम्बरमा छन् राजेश्वर मानसिंह । सिंह उपसचिव हुँदासम्म लेखा समूहमा थिए । बढुवा भएपछि उनी प्रशासन समूहमा आएका हुन् । उनको राजनीतिक आस्था प्रष्ट खुलेको छैन तर उनीमाथि निर्णय क्षमता नभएको आरोप लाग्नेे गरेको छ ।

लोकप्रसाद आचार्यः राजेश्वरमान पछि सहसचिवको वरिष्ठताको आधारमा आचार्य दोस्रो वरियतामा छन् । राजेश्वरमानका प्रतिस्पर्धी आचार्य कर्मचारी प्रशासनभित्र इमान्दार सहसचिवका रुपमा परिचित छन् ।
तर, उनी गम्भीर प्रकारको रोगबाट पीडित भएकाले पछि पर्दै आएका छन् । उनी यसअघि नै सचिव भइसक्नुपर्ने हो तर, स्वास्थ्यकै कारण बढुवा हुन सकेन । राजनीतिक रुपमा उनी वामपन्थी धारका मानिन्छन् ।

शम्भु कोइरालाः वरियताक्रममा सचिवको अर्का दाबेदार हुन् कोइराला । अहिले उनी वाणिज्य विभागका महानिर्देशक छन् । तर, उनको कार्यसम्पादन मूल्यांकन कमजोर रहेको स्रोतको दाबी छ । किनकी उनी यसअघि नै सचिवको उमेदवार बनिसक्नुु पर्ने हो तर, सचिवका लागि नाम सिफारिसमा परेको थिएन ।

त्यसो त उनी उपसचिवबाट सहसचिवमा बढुवा हुँदा पनि रोलक्रममा परेका थिएनन् । बढुवा नभएपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दा जितेर २०५३ सालमा एक ब्याजपछि उनी सहसचिवमा बढुवा भएका थिए । कर्मचारीभित्र उनलाई चल्तापूर्जा कर्मचारीको रुपमा लिइन्छ । कोइराला राजनीतिक रुपमा प्रजातान्त्रिक धारको वकालत गर्छन् ।

लवदेव अवस्थीः यसअघि पनि सचिवका लागि प्रस्तावित थिए अवस्थी तर उनी परेनन् । अहिलेको चरणमा सचिव बन्ने सम्भावना त बलियो छ तर असोजमा उमेरहदले अनिवार्य अवकास पाउँदैछन् । निजामती सेवाको पुरै समय शिक्षा मन्त्रालय अन्तरगतका कार्यालयहरुमामात्र बसेर काम गरेका अवस्थी शिक्षाविद पनि हुन् । उनलाई शालिन कर्मचारीको रुपमा हेरिन्छ । तर उनको निर्णय क्षमता कमजोर मानिन्छ ।

खगराज बरालः बरालले पनि अधिकांश समय शिक्षा मन्त्रालयमै बिताए । शिक्षाविद भनेर चिनिने उनी साहित्यमा रुची राख्ने सहसचिवमा पर्छन् । उनीसँग करिब आधा दर्जन जिल्लामा जिल्ला शिक्षा अधिकारी भएर काम गरेको अनुभव छ । तर, उनी जिल्ला शिक्षा अधिकारी हुँदा विवादमा पनि आएका थिए । कास्की जिल्ला घर भएका उनको राजनीतिक दृष्टिकोण प्रजातान्त्रिक धारप्रति सकारात्मक छ ।

गोपीनाथ मैनालीः लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीका आफ्नै भाइ हुन् गोपिनाथ । उनी उपसचिव हुँदासम्म लेखा समूहमा थिए र लेखा प्रमुख भएर काम गरेको अनुभव छ । सहसचिवमा बढुवा भएसँगै उनले राष्ट्रिय योजना आयोगमा मात्र बसेर काम गरिरहेका छन् । उनलाई योजना निर्माणमा राम्रो ज्ञान भएको सहसचिवको रुपमा लिइन्छ ।

तर, उनीसँग निजामती सेवामा रहँदा अहिलेसम्म कुनै पनि कार्यालयको प्रमुख भएर काम गरेको अनुभव छैन ।

विनोद केसीः कहिँ कतै विवादमा नतानिएका सहसचिव हुन् केसी । उनीसँग मुख्य त स्थानीय विकास मन्त्रालयमा लेखा प्रमुखका रुपमा लामो समय काम गरेको अनुभव छ । शान्ति मन्त्रालय हुँदै अहिले उनी गृह मन्त्रालयमा छन् । उनी राजनीतिक रुपमा वामपक्षधर मानिन्छन् । उनीमाथि निर्णय क्षमता नभएको आरोप लाग्ने गरेको छ ।

सूर्य आचार्यः आचार्यको कार्यसम्पादन मूल्यांकन राम्रो रहेको स्रोतको दाब्ी छ । उनलाई वामपक्षधरमा पनि माओवादी निकटका सहसचिवका रुपमा चिनिन्छ । तर, सचिव नियुक्त भएपनि उनी भदौको १२ गते उमेरहदले अनिवार्य अवकास पाउँदैछन् । उनी अहिले अर्थ मन्त्रालयमा कार्यरत छन् ।

आचार्यसँग स्थानीय विकास मन्त्रालयमा २० वर्ष काम गरेको अनुभव छ । स्थानीय विकासमै रहँदा सहसचिवमा बढुवा भएपछि उनी अर्थ मन्त्रालय गएका हुन् । धेरै मन्त्रालय पुगेपनि काममा इमान्दार रहने आचार्यलाई स्थानीय निकायको विज्ञको रुपमा समेत लिइन्छ ।

कृष्णप्रसाद देवकोटाः देवकोटा हाल अर्थ मन्त्रालयमा छन् । उनी अहिलेसम्म विवादमा परेका छैनन् । उनीसँग धेरै कार्यालयको प्रमुख भएर काम गरेको अनुभव छ । मालपोल प्रमुख र विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भएका उनीसँग गृह मन्त्रालयमा बसेर पनि काम गरेको अनुभव छ । तर, स्थानीय विकासमा बढी बसेको र उनकोे रुची पनि स्थानीय निकायसम्वन्धी नै रहेकाले स्थानीय निकायको जानकारको रुपमा लिइन्छ । राजनीतिक आस्थाका रुपमा उनी वामपक्षधर हुन् ।

पूर्णचन्द्र भट्टराईः भट्टराईले प्रशासनभित्र आफूलाई सुधारक कर्मचारीको परिचय छोडेका छन् । उनको निर्णय गर्नसक्ने क्षमता पनि बलियो रहेको बताइन्छ । लामो समय स्थानीय विकास मन्त्रालयमा विताएका उनी यसअघि स्थानीय विकास अधिकारी भएर समेत केही जिल्लामा काम गरे ।

हुलाक सेवाबाट स्थानीय विकास मन्त्रालयमा आएपछि उनले अधिकांश समय स्थानीय विकास मन्त्रालयमै विताएका छन् । सहसचिवमा बढुवा भएपछि श्रम मन्त्रालयमा बसेर उनले काम गरे । त्यतिबेला बैदेशिक रोजगार विभागमा सुधारको काम गरेर उनी चर्चामा आएका हुन् । उनको सुधारमा असमझदारी हुँदा तत्कालीन श्रम मन्त्री सरिता गिरीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त नै गरिदिएका थिए । उनको राजनीतिक दृष्टिकोण प्रजातान्त्रिक पक्षधरसँग नजिक छ ।

चुडामणि शर्माः पाँच जना सचिव पदका लागि कान्छा दावेदार हुन् शर्मा । उनलाई राजस्वको विज्ञ पनि भनिन्छ । तर एनसेलको लाभकर असुल्ने विषयमा उनले दोहोरो चरित्र देखाएको भन्दै पछिल्लो समय निकै विवादमा तानिए । एनसेलले कर तिर्दिन भन्ने वातावरण उनैले बनाइदिएको आरोप लाग्ने गरेको छ । राजनीतिक रुपमा प्रजातान्त्रिक धारमा भएपनि उनी सबैसँग राम्रो सम्बन्ध राख्न सक्ने कर्मचारीका रुपमा चिनिन्छन् । यस्तै निजामती क्षेत्र भित्र उनलाई चल्तीका सहसचिव समेत भन्ने गरिन्छ ।

राजनीतिक दौडधुप

सचिव पदमा सरकारबाट सिफारिस हुन दाबेदारहरुको राजनीतिक दौड जारी छ । रमाइलो कुरा के छ भने केपी शर्मा ओली नेतृत्वको सरकार रहँदासम्म एमालेको नजिकको मान्छे भन्दै सचिव हुने दौडमा रहेका केही सहसचिवहरु सत्ता समिकरण परिवर्तनसँगै कांग्रेसको कोटाबाट सचिव हुने दौडमा छन् ।

वाम पृष्ठभूमिका सहसचिवहरु भने माओवादी नेताको घर खोज्दै हिँड्न थालेको कर्मचारी प्रशासनभित्र चर्चा हुने गरेको छ । सहसचिवलाई बढुवा गरेर सरकारले सचिव नियुक्त गर्ने भएकाले यस्तो अवस्था आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment