Comments Add Comment

‘ग्याङ्ग अफ फोर’ को झगडाले एमालेलाई कहाँ पुर्‍याउला ?

UML Leaders

माओवादीबाट एमालेमा फर्किएका वामपन्थी नेता राधाकृष्ण मैनाली बेलाबखत भन्ने गर्छन्, नेकपा एमाले दक्षिण एशियाकै गोल्डेन पार्टी हो, तर यसलाई चारजना नेता (केपी, माधव, झलनाथ र वामदेव) ले औंसाहा पारेर बिगारे । इतिहासले यही सिद्ध गरेको छ कि यी चारनेता मिले भने एमाले अघि बढ्छ, अन्यथा कमजोर हुन्छ ।

मैनालीकै भाषामा भन्दा अहिले एमालेभित्र यी चार नेताहरुले फेरि औंसाहा पार्न सुरु गरेका छन् । माधव नेपाल र केपी ओली गुटका वीचमा चर्किएको मनमुटाव र अन्तरविरोध यतिबेला सामाजिक सञ्जालहरुमा छारस्ट भइरहेको छ ।

विशेष गरी केपी गुटका कार्यकर्ताले फेसबुक र ट्वीटरमार्फत आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको बदख्वाइँ गरिरहेका छन् ।

हेर्नुहोस् माधव नेपालले संसदमा के भनेका थिए

एमाले नेताहरुले आफूलाई बहुदलीय जनवादको पक्षपाती भन्छन् । मदन भण्डारी अध्ययन प्रतिष्ठान पनि चलाएको छ एमालेले । तर, पार्टी अध्यक्ष पदमा रहेका केपी ओली समूहका नेता-कार्यकर्ताहरु पार्टीभित्रै अलिकति फरक विचार आउनासाथ यति असहिष्णु हुने गरेका छन् कि मरिसकेका स्टालिन समेत हाँसिरहेको प्रतीत हुन्छ ।

व्यवस्थापिका संसदमा माधव नेपालले दिएको अभिव्यक्तिलाई लिएर अहिले एमालेभित्र ओली पक्षका नेता-कार्यकर्ताहरु ‘औंसाहा पार्ने’ अभियानमा सक्रिय बनेका छन् । उनीहरु सत्ता-स्वादबाट बाहिरिनुको पीडामा छन् ।

केपीको देवत्वकरण, माधवको दानवीकरण

एमालेमा यतिबेला केपी ओलीलाई देवत्वकरण गर्ने अभियान नै सुरु भएको छ । कसैलाई देवता बनाउन राक्षसको अस्थित्व अनिवार्य हुन्छ कि ? पार्टीभित्र माधव नेपाललाई दानवीकरण गर्ने अभियानसमेत सँगसँगै चलिरहेको छ । माधव नेपालमाथिको प्रहारसँगै झलनाथ खनाल र वामदेव गौतमलाई समेत एमालेभित्रका स्टालिनपन्थीहरुले डामिरहेका छन् ।

kp-oli-and-Madhav-nepalदेवताकै रुपमा नभएर मान्छेकै रुपमा विश्लेषण गर्दा केपी ओलीले ९ महिने शासनकालमा लिएको ‘राष्ट्रियता’को अडानले उनी गैरमधेसी एवं गैरजनजाति समुदायमा लोकप्रिय बनेकै हुन् । यो सत्यतालाई कसैले पनि अस्वीकार गर्न सक्दैन ।

तर, ओलीले आफ्नो शासन कालमा राष्ट्रको ढुकुटीको कति दुरुपयोग गरे र बालुवाटारमा भोज खाएर कति करोड सकियो भन्ने कुराको उनको योगदानका रुपमा बाहिर आएको छैन । एमालेको उच्चस्तरीय बैठकमै माधव नेपालले ‘बालुवाटारको भ्रष्टाचार’ बारे कुरा उठाएकै थिए । सुशासनको यो पक्षतिर पूरै आँखा चिम्लेर यतिबेला उनको ‘हनुमान चालिसा’ चलिरहेको छ ।

ओली पक्षका एमालेजनहरु कांग्रेस, माओवादी, मधेसवादी लगायतका अन्य दलका नेतालाई त ‘भारतीय दलाल’ भनिरहेका छन् नै, सँगसँगै आफ्नै पार्टीका नेता माधव, झलनाथ र वामदेवलाई दानवीकरण गरिरहेका छन् । एमालेभित्र अब यसको परिणाम के होला ? यो गम्भीर विश्लेषणको पाटो हो ।

सरकारबाट हटेको ओली समूहले आगामी निर्वाचनका लागि राम्रो र अनुकूल वातावरण पाएको छ । तर, ठीक यहीबेलामा पार्टीभित्र भुसको आगोजसरी झगडा चर्किएको छ । यो स्थिति काम रह्यो र अध्यक्षकै गुटबाट ‘औंसाहा पार्ने’ क्रम तीव्र बन्यो भने एमालेको नियति ०५६ साल वा ०६४ सालको चुनावमा जस्तै हुन सक्छ ।

ओली ठीक, अरु नेता बेठीक ?

एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापिका संसदमा सारगर्भित भाषण गरेका थिए । उनी राजनेता जसरी प्रस्तुत भएका थिए । अब नयाँ सरकार गठन प्रक्रियामा प्रचण्डले एमालेसँग पनि वार्ता गर्नुपर्ने भन्दै खनालले राष्ट्रिय सरकार गठनमा जोड दिएका थिए ।

KP-Oli-and-Bamdev-Gautam

त्यसैगरी अर्का नेता वामदेव गौतमले संसदमा बोल्दै बजेट घोषणापछि ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएकै हो भन्ने स्पष्ट पारेका थिए । के वामदेवले यसो भनेर झूठ बोलेका हुन् ? वामदेवको यो भाषण संसदको रेकर्डबाट हटाइएको छैन, अझै हेर्न सकिन्छ । र, वामदेवले यो पनि भनेका थिए कि उनी वचनमा सधैं पक्का छन् र प्रचण्डलाई धोका दिने छैनन् ।

हेर्नुहोस् वामदेव गौतमले संसदमा के भनेका थिए

अर्का पूर्वप्रधानमन्त्री एवं एमालेका पूर्वअध्यक्ष माधवकुमार नेपालले पनि संसदमा राजनेताले दिने खालकै सन्तुलित अभिव्यक्ति दिए । माधवले कसैलाई पनि अपमान गर्न नहुने, सबैको कदर गरिनुपर्ने र गुटका आधारमा नभई संस्थागत ढंगले चल्नुपर्ने अभिव्यक्ति दिएका थिए संसदमा ।

झलनाथ, वामदेव र माधव तीनैजना नेताको भाषण सन्तुलित थियो, देशलाई ध्रवीकरणतिर होइन, एकतातर्फ लैजाने कुरामा परिलक्षित थियो ।

प्रधानमन्त्रीका रुपमा संसदमा केपी ओलीको भाषण कलात्मक र खँदिलो थियो । तर, त्यो भाषणमा आगामी बाटो प्रष्ट थिएन । लक्ष प्रष्ट थिएन । विपक्षीको जोडदार खण्डन थियो तर समाधान थिएन । समाधानमूलक भाषण झलनाथले गरेका थिए । माधव नेपालले गरेका थिए ।

हामीले यो पनि नबिर्सौं कि विगतमा रोल्पासम्म पुगेर माओवादीसँग सम्झौता गर्ने नेता वामदेव गौतम नै हुन् । यसैवापत वामदेवलाई पार्टीभित्र माओवादीको पुच्छर बनेको आरोप लगाइएको थियो । माओवादीसँग सहकार्य गर्दा ‘नीलो स्याल’ को आरोप झलनाथ खनालमाथि एमालेभित्रैबाट लागेको थियो । तर, इतिहासको त्यो भूमिका अन्ततः केपी ओली समूहले पनि स्वीकार गर्‍यो र एमाले माओवादी सहकार्यकै प्रतिफलस्वरुप केपी ओली प्रधानमन्त्री बन्न सफल भए ।

JhalaNath-Khanalअहिले पनि झलनाथ, वामदेव र माधव नेपालले जुन कार्यनीति अघि सारिरहेका छन्, त्यो बाटो नै एमालेको हितमा देखिन्छ । यही लाइनबाट मात्रै अब राष्ट्रिय एकता सम्भव हुन्छ र संविधान कार्यान्वयन हुन सक्छ ।

तर, यतिबेला एमालेभित्र केपी ओलीका भजनमण्डलीहरुले संसदमा आफ्नै नेताले बोलेका सारगर्भित विषयलाई लिएर पार्टीका तीनवटा खम्बा भत्काउने र ‘एक खम्बे (बहुदलीय ?) जनवाद’ को नीति लाद्ने अभ्यास सुरु गरेका छन् ।

ओली गुटको यो एक खम्बे नीतिले एमालेलाई कहाँ पुर्‍याउँला ? अनि देशलाई कता पुर्‍याउला ? नेपाली समाज, सभ्यता अनि लोकतान्त्रिक मूल्य-मान्यतालाई कति विद्रूप बनाउला ? भिन्न मत र भिन्न विचारलाई माटोमा मिलाउन खोज्ने र सबैलाई भारतको दलाल देख्ने ओली गुटको यस्तो ‘डोनाल्ट ट्रम्प प्रवृत्ति’ ले नेपाललाई कस्तो हविगतमा पुर्‍याउँला ? यसको गम्भीरताबारे एमालेभित्र र बाहिर बेलैमा विश्लेषण हुन जरुरी छ ।

हेर्नुहोस् संसदमा झलनाथ खनालले के भनेका थिए

अहिले एमालेभित्र केपी ओलीमात्रै ठीक हुन् र अरु सबै जगत् नै मिथ्या हो भन्ने सिद्धान्तको प्रतिपादन भइरहेको छ । एमालेबाहेक यो देशका सबै राजनीतिक दलहरु भारतीय एजेन्ट हुन् र एमालेभित्र पनि ओली गुटमात्रै २४ क्यारेटको राष्ट्रवादी हो भन्ने पुराण वाचन भइरहेको छ ।

अब एमालेले के गर्छ ?

Kp-oli-with-Bishnu-Paudel

केपी ओली नेतृत्वको सरकार ढल्नुको मुख्य कारण यो हो कि सरकारमा सहभागी दल माओवादीलाई विश्वासमा लिन नसक्नु । वामदेवले संसदमा रेकर्ड नै गराइसकेका छन् कि सत्ता हस्तान्तरणको भद्र सहमति भएकै थियो र प्रचण्डलाई प्रधानमन्त्री बनाई गठबन्धन कायम राख्ने सहमति एमाले र माओवादीका नेताहरुवीच भएकै थियो । वामदेव गलत हैनन् भने केपी ओलीले माओवादीलाई धोका दिनु नै गठबन्धन टुट्नुको मुख्य कारण थियो ।

झलनाथ खनालले ठीकै भनिरहेका छन्, संविधान कार्यान्वयनका लागि अब एमाले पनि राष्ट्रिय सरकारमा सहभागी हुनुपर्छ र संविधान कार्यान्वयनका लागि सबैले मिलेर अघि बढ्नुपर्छ ।

भारत सरकारको नियन्त्रणमा नरहेका र अन्टसन्ट लेखेर रमाउने  दिल्लीका केही हावादारी पत्रिकाले ओलीको बहिर्गमनमा खुशी मनाएकै कुरालाई लिएर ओली सरकार भारतले ढालेको भन्नु आफ्नो कमजोरीलाई विषयान्तर गर्नु मात्रै हो ।

तर, अब दिल्लीतिर औंलो ठड्याएरमात्रै एमालेको भूमिका पूरा हुँदैन । कांग्रेस र माअोवादीले आगामी चैतमा स्थानीय निकायको चुनाव गर्ने भनेका छन् । ०७४ मंसिरसम्म तीनवटा चुनाव गरिसक्नुपर्ने छ । यसका लागि कानून बनाउनुपर्ने छ । संविधानमा नमिलेका विवादहरु मिलाउनुपर्नेछ । प्रदेशहरुको नाम र सीमा स्पष्ट पार्नुपर्नेछ । र, यी सबै विषयहरुमा एमालेको भूमिका निर्णायक छ । यसका लागि एमाले संयमित हुन आवश्यक छ । गम्भीर हुन आवश्यक छ ।

आरके मैनालीले ठीकै भनेका हुन् । नेकपा एमाले दक्षिण एशियाकै मजबुत एवं गोल्डेन पार्टी हो । तर, यसलाई ‘ग्याङ्ग अफ फोर’ ले किरा पारेर सिध्याउने खतरा छ

विगतमा ०५४ सालको स्थानीय चुनावमा एमालेले दुई तिहाइ जीत हात पारेको थियो । त्यसबेला वामदेव गृहमन्त्री थिए । अहिले पनि वामदेव, झलनाथहरुले भनेजस्तै एमाले सरकारमा उपस्थित भएर हुने चुनाव र सरकार बाहिर बसेर हुने चुनावमा फरक पर्न सक्छ ।

तर, प्रतिपक्षमै बसेर चुनावमा जाने जोखिम मोल्ने हो भने पनि अब एमालेले  मुलुकलाई अघि बढ्ने निकास खोल्छ या ०४८ सालतिरको रेलिङ र माइक भाँच्ने ध्वंशात्मक विपक्षीको भूमिका खेल्छ ? यसले नै अब एमालेको भविश्य निर्धारण गर्नेवाला छ ।

केपी अोली साच्चै महान हुन्, उनी राजनेता नै हुन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको ध्रुवीकरण समाधान गरुन् । अनि देशमा बढेको ध्रुवीकरणलाई राष्ट्रिय एकतामा बदलुन् । बाइसे-चौबीसे गुटको मात्रै नेता भएर आधुनिक पृथ्वीनारायण शाह बन्ने सपना कसैले नदेखे हुन्छ । देशलाई राजनेताको खाँचो छ, गुटनेताको होइन ।

के केपी ओलीमा राजनेता बन्ने विशेषता छ ? इमान-जमानमा पक्का भएको नैतिकता छ ? भिन्न विचारप्रति सहिष्णु बन्ने लोकतान्त्रिक संस्कार छ ? सबैभन्दा पहिले यसका साक्षी, भाष्यकार वा उपवाचकहरु झलनाथ, माधव र वामदेव बन्न सक्नुपर्छ । आफ्नै पार्टीलाई एकतावद्ध पार्न नसक्ने ढुक्कुरे छाती बोकेको गुटको नेताले मीठो भाषण गरेकै भरमा देशलाई कसरी एकतावद्ध बनाउला ? यक्ष प्रश्न तेसिर्एको छ यतिबेला केपी ओलीमाथि ।

अन्त्यमा, आरके मैनालीले ठीकै भनेका हुन् । नेकपा एमाले दक्षिण एशियाकै मजबुत एवं गोल्डेन पार्टी हो । तर, यसलाई ‘ग्याङ्ग अफ फोर’ ले किरा पारेर सिध्याउने खतरा छ । एमाले फुट्दा उसलाई मात्रै होइन, देशलाई नै घाटा हुन्छ । देश कमजोर हुन्छ ।

र, यो कुरा निश्चित छ कि यदि एमाले नेताहरुमा एकता भएन र उनीहरुले राष्ट्रको आवश्यकता अनुसारको सही नीति लिन सकेनन् भने भाइ फुटे गँवार लुटे भन्ने आहानजस्तो आगामी चुनावमा ‘एमाले फुटे कांग्रेस लुटे’ भनेजस्तो परिस्थिति आउन पनि सक्छ ।

अब एमालेले के गर्छ ? आगे श्रीमान ओलीज्यूको जो विचार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment