Comments Add Comment

अर्जुन पोखरेलः आमाको अनुहारले आत्महत्याबाट जोगायो

Arjun pokhrel

अहिलेका उम्दा संगीतकार हुन् अर्जुन पोखरेल । गीत लेख्न र संगीत संयोजनमा समेत पोख्त छन् उनी । लोकसंगीतबाट संगीतमा प्रवेश गरेका अर्जुनले शास्त्रीय र पाश्चात्य संगीत समेत अध्ययन गरेका छन् ।

राम्रो संगीतकार हुन संगीत संयोजनको ज्ञान पनि हुनैपर्छ भन्ने मान्यता राख्ने अर्जुनको संगीत आफ्नो फिल्ममा राख्ने निर्देशकको संख्या बढ्दो छ । कतिसम्म भने, अर्जुनले समय दिन नसक्दा उनकै संगीतका लागि कुर्न समेत तयार छन् केही निर्देशक ।

दुई सय ५० भन्दा बढी गीतमा संगीत दिएका अर्जुनका धेरै संगीत चर्चित छन् । पछिल्लो समय ‘प्रेमगीत’ फिल्मको ‘म यस्तो गीत गाउँछु’ बोलको गीतले निकै चर्चा पायो । आजका व्यस्त संगीतकार अर्जुन कुनै बेला निर्देशकलाई आफ्नो धुन सुनाएर हैरान थिए । यस्तो पनि समय थियो, उनका गीत सुनेपछि निर्देशकले ‘गीत साहै्र राम्रो लाग्यो, मेरो फिल्ममा राख्छु’ भन्थे, तर फिल्म बनाउँदा अर्कै संगीतकार राखेको हुन्थ्यो ।

संगीत यात्रामा यस्ता हन्डर धेरै खेपे उनले । सित्तैमा काम गर भन्ने मात्रै हैन, राम्रो गरौं भन्दा फिल्मबाटै निकालिए । उनका संघर्षको कथा-व्यथा कस्तो रहेछ ? पढौं उनकै शब्दमाः

आठ कक्षामा फेल भएपछि भजन गाउन बन्द

म लोकगीत गाएर आएको मान्छे । सुरुमा संगीतमा लाग्दा आधुनिक र पप गीत पाउनेहरुले ‘लोके’ भनेर हेप्थे । मेरो घर लोकगीत र भजनका लागि उर्वर ठाउँ थियो ।

बुबा बाबुराम पोखरेल भजन गाउनुहुन्थ्यो । अहिले पनि उहाँ चितवन भजन टोलीको अध्यक्ष हुनुहुन्छ । आमा मनु पोखरेल तीज र रत्यौलीमा गाउँमै कहलिनुभएको थियो ।

गाउँमा बिहे, नारायण पूजा, रुद्री र त्यस्तै केही उत्सव हुँदा मेरा बा-आमा नभई हुन्थेन । गाउँमा कसैको घरमा केही कार्जे पर्‍यो कि घरमा बुबा र आमाको प्राक्टिस सुरु हुन्थ्यो । म मादल बजाउँथेँ ।

बुबा वाचन शिरोमणि स्व.नारायण पोखरेलसँग पनि नजिक हुनुहुन्थ्यो । उहाँको कार्यक्रममा भजन गाउनुहुन्थ्यो । बुबाले भजन गाएको ठाउँमा म प्रायः जान्थेँ र खैंजडी बजाएर भजन गाउँथे ।

तीज आउनुभन्दा एक महिना अगाडिदेखि कस्तो गीत बनाउने भनेर आमाहरुले प्राक्टिस सुरु गर्नुहुन्थ्यो । बुबाले शब्द लेख्नुहुन्थ्यो । यसपालि कुन परिवेशको गीत गाउने भनेर बुबा, आमा र गाउँका अरु मान्छेहरूबीच छलफल हुन्थ्यो । समय सान्दर्भिक गीत बनाउने चलन थियो । बुबालाई रामायण र महाभारत कण्ठस्थ थियो । बुबा श्लोक भजनमा दोहोरी खेल्नुहुन्थ्यो । दोहोरी खेल्दा कहिल्यै हार्नु भएन ।

arjun pokhrel (3)गाउँमा प्रायः कार्यक्रम भइरहन्थ्यो । कहिले कसैको घरमा पूजा । कहिले बिहे । गाउँमा केही भएन भने घरमै गाना-बजानाको अभ्यास हुन्थ्यो । खैंजडी बजाएर भजन गाउँदा-गाउँदै मेरो पढाइ त चेट भएछ । जब म आठ कक्षामा फेल भएँ, बुबाले भजनमा जान बन्द गरिदिनुभयो । सबैले मलाई पढाइमा जान्ने छ भन्थे, तर फेल भएँ ।

मामाहरु खूबै पढन्ते हुनुहुन्थ्यो । म फेल भएपछि मामाहरुले भान्जाले गर्दा हाम्रो इज्जत गयो भन्नुभयो । त्यसपछि म मामाहरुसँगै ट्युसन पढन थालेँ । अर्को वर्ष त टप थ्री विद्यार्थीमा परिहालेँ । फस्ट डिभिजनमा एसएलसी पास गर्ने थोरै विद्यार्थीमा म परेँ ।

एक्लो भइसकेको थिएँ

एसएलसी दिएपछि काठमाडौं आएँ । आरआर क्याम्पसमा आईए भर्ना भएँ । म निकै सोझो थिएँ । जाँड-रक्सी कहिल्यै खाइनँ । अझै पनि तास खेल्न आउँदैन ।

त्यतिबेला मलाई ढाड दुख्ने समस्या भयो । नसामा समस्या देखिन थाल्यो । कसैले ताने जस्तो दुखिरहने । वीर हस्पिटलबाट उपचार सुरु गरेँ, टिचिङ, नेपाल मेडिकल कलेज लगायत धेरै अस्पताल धाएँ । नेपाल मेडिकल कलेजमा उपेन्द्र देवकोटा हुनुहुन्छ भनेर गए पनि उहाँसँग भेट भएन । उहाँको असिस्टेन्टले हेरेर ब्रेनको नसा च्यापिएको छ भने । अपरेशन गर्दा पनि ५० प्रतिशत रिस्क छ भनेपछि म निराश भएँ ।

म त्यतिबेलासम्म एक्लो भइसकेको थिएँ । फ्रस्टेशन भइसकेको थियो । संगीत पढ्दै थिएँ । तर, भित्री मनमा जिन्दगीमा केही गर्न सकिँदैन जस्तो लागेको थियो । आफ्नो रोगको बारेमा कसैलाई खुलेर भन्न पनि सक्दिन थिएँ ।

मैले डक्टरलाई सोधेँ- ‘अपरेशन गरिनँ भने म सधैं यस्तै हो त ?’

डक्टरले रोग लागेपछि यस्तै हो, औषधि खानुपर्छ भन्नुभयो । मैले साथीहरुको अगाडि बोल्न पनि लाज लाग्छ भन्ने कुरा गरेँ ।
डक्टरले भन्नुभयो- ‘मानौं तपाईं बस दुर्घटनामा परेर खुट्टा काट्नुपर्ने भयो । तपाईंको गर्लफ्रेन्ड वा अरु केटी साथी होलान् । त्यतिबेला तपाईं उनीहरूसँग बोल्ने कि नबोल्ने ? बाँचिन्छ भने त्यस्तो अवस्थामा खुट्टा पनि काट्नुपर्छ । समस्यालाई ठूलो नमान्नुस्, पछि ठीक हुन्छ ।’

औषधि पनि खाएँ । तर, मेरो रोग निको भएन ।

नाम चलेको अरु पनि अस्पताल गएँ । मेरो व्यथा घट्नुको साटो झन् धेरै दुख्न थाल्यो । पछि आयुर्वेद अस्पताल पनि गएँ । त्यहाँबाट के-के धूलैधूलो औषधिको पोका दिएर पठाए । काठमाडौंका लगभग सबैजसो अस्पताल चहारे पनि रोग बीसको उन्नाइस भएन ।

आमालाई भनेँ- आत्महत्या गर्दिनँ, ढुक्क हुनुस्

पछि म चितवन गएँ । आमाले सोध्दा म ठीक भयो भन्थेँ । तर, मेरो अनुहार हेरेरै आमाले थाहा पाउनुहुन्थ्यो । आमा ‘किन ढाँट्छस् ? तँलाई ठीक भएकै छैन’ भन्नुहुन्थ्यो । आमाले मेरो बारेमा पीर गर्न थाल्नुभएको थियो ।

यदि मेरो बुबा-आमाको अर्को छोरा भएको भए म त जोगी बनेर हिँड्थेँ होला । तर, म नभए बुबा-आमाको हालत के होला भनेर सम्हालिन्थेँ ।

एकदिन मैले आमालाई भनेँ ‘मलाई जस्तै परेपछि मान्छेले आत्महत्या गर्छ होला, तर तपाईँ र बाको अनुहार सम्झेपछि त्यस्तो गर्न सक्दिनँ म । तपाईँ ढुक्क हुनुस्, म कहिल्यै आत्महत्या गर्दिनँ ।’

आमा रुनुभयो । तँलाई म सबै जग्गा बेचेर भए पनि इन्डिया लगेर उपचार गर्छु भन्नुभयो । आँखामा पो समस्या छ कि भनेर भोलिपल्टै भरतपुर लिएर जानुभयो । भरतपुर आँखा अस्पतालमा आँखा जाँचेपछि डक्टरले क्यान्सर हस्पिटलमा चाइनिज डक्टर भएकोेले त्यहाँ यसको उपचार हुन सक्छ भनेर सुझाव दिए ।

सोचेँ- मेरो जिन्दगी सकियो

म क्यान्सर हस्पिटल गएँ । त्यहाँका डक्टरले हेरेर ठीक हुन्छ भन्नुभयो । त्यतिखेर त्यहाँ भर्खर अकुपन्चर सुरु भएको रहेछ । डक्टरहरुले तीन महिना अकुपन्चर गर्नुपर्छ भनेका थिए । मेरो अकुपन्चर थालेको एक हप्तामा दरबार हत्याकाण्ड भयो । एक सातासम्म उपचार भएन । तर, उपचार अघि बढेको दुई सातापछि नै चिनियाँ डक्टरहरुको म्याद सकिएछ । उनीहरू गएपछि अर्को ग्रुप आउन दुई महिना लाग्यो ।

फेरि सुरु भयो । उपचार यस्तो गाह्रो हुन्थ्यो, जिउभरि सुइरो रोप्थे, टाउकोबाट करेन्ट पास गर्थे । त्यस्तो हेर्न नसकेर आमाहरु त बाहिर बस्नुहुन्थ्यो । उपचार यति गाह्रो भएपछि मैले सोच्थेँ, मेरो जिन्दगी अब त गयो !

उपचार सकियो । तर, कत्ति पनि ठीक भएन । डक्टरहरुले भन्नुभो ‘अब तपाईँलाई जे गर्दा सजिलो हुन्छ त्यहीँ गर्नुस् तर यहाँ नआउनुस् । हामीले गर्ने यत्ति नै हो ।’

निराशा बाहेक मसँग केही थिएन । आमाले पनि केही भन्न सक्नुभएन ।

हारमोनियम किन्ने पैसा बोकेर काठमाडौं हिँडेँ

मलाई ठीक नहुँदा म जति दुःखी थिएँ, मेेरो बुबा-आमा मभन्दा धेरै दुःखी हुनुहुन्थ्यो । उपचार सफल नभएपछि चितवन बस्न मन लागेन । काठमाडौं आएँ फेरि ।

आरआर क्याम्पसमा पहिल्यै भर्ना गरिसकेको थिएँ । संगीत पढ्न भनेर नाइट सिफ्टमा भर्ना गरेको थिएँ । तर, भर्ना भएपछि पो थाहा पाएँ, नाइटमा त संगीत रहेनछ ।

आफू त सोझो मान्छे, डे मा सार्नेतिर सोच्दै सोचिनँ । पछि थाहा भयो, स्ववियुलाई भनेको भए जे पनि हुने रहेछ ।

चितवनमा हुँदा मैले आमासँग मलाई निको भएन, अब काठमाडौं नै जान्छु भन्ने कुरा राखेको थिएँ । प्राइभेटमा भए पनि संगीत पढ्छु, जे हुन्छ-हुन्छ भन्ने सोच थियो । आमाले मलाई २० हजार रुपैयाँ दिँदै भन्नुभयो- ‘१० हजारको हारमोनियम किन्नु, अरु पैसा खर्च चला । नपुगे फोन गर् ।’

‘लोके’ भनेर हेप्थे

संगीत सिक्न पनि सजिलो रहेनछ । लोकगीतबाट आएको भनेपछि पप र आधुनिकवालाहरुले निकै हेप्दा रहेछन् । लोके भनेर उडाउँथे । डोरेमी र अनुराग संगीत विद्यालयमा संगीत सिक्न थालेँ । संगीत सिक्दा शरीरको समस्याले झन् बढी सताउँथ्यो ।
अचम्मको रोग थियो मेरो । वर्षमा ३/४ महिना पूरै ठिक हुन्थेँ, फेरि उस्तै समस्या । अलिकति ठीक भएको बेला सुरज मामासँग जागिर खोजिदिन भनेँ । मामाले मेघा मेडिकलमा जागिर खोजिदिनुभयो ।

मैले काम गरेको कम्पनीले औषधि कम्पनीलाई केमिकल उपलब्ध गराउँथ्यो । मैले त्यही बेला थाहा पाएँ, सरकारी अस्पतालमा कतिसम्म ब्रह्मलुट हुन्छ भनेर । पचास हजार रुपैयाँको सामान पठाएपछि एक लाखको बिल बनाउनुपथ्र्यो ।

arjun pokhrel (2)त्यतिबेला मेरो काम पैसा उठाउने थियो । तर, कहिलेकाहीँ साइकलमा राखेर सामान पनि पुर्‍याउनु पथ्र्यो । एकदिन साइकलमा सामान लिएर जाँदै थिएँ, बाइकले ठक्कर दियो । अफिसमा आएर मैले कि बाइक दिनुस्, कि बसमा हिँड्छु भनेर कुरा गरेँ । अफिसले बाइक दिन नसकेपछि जागिर छाडेँ ।

बत्ती निभाएर पढाएँ

मैले अनुरागमा संगीत सिक्न थालेको एक वर्ष भएको थियो । एक वर्षपछि त्यहीँ पढाउन थालेँ । विद्यार्थीले मेरो शैली मन पराए ।

कहिलेकाहीँ मलाई पढाउँदा पढाउँदै रोगले च्याप्थ्यो । असाध्यै गाह्रो हुन्थ्यो । मलाई अप्ठेरो भएको विद्यार्थीलाई थाहा नहोस् भन्ने लाग्थ्यो । मैले एउटा टि्रक अपनाएँ ।

बत्ती निभाएर पढाउन थालेँ । अँध्यारोमा मलाई दुखाइको पीडाले अनुहार बिगि्रएको विद्यार्थीले देख्दैन थिए । तर, मैले उनीहरुलाई बत्ती निभाएर पढ्दा शान्त हुन्छ भनेको थिएँ । उनीहरुले पत्याएका थिए ।

त्यतिबेलै मैले गीत लेख्ने र कम्पोज गर्ने काम सुरु गरेको थिएँ । म गीत लेखेर र कम्पोज गरेर अरुहरूलाई देखाउथेँ । तर, आधुनिक गायनमा जमेकाहरुले ‘कहाँ यो लोकेहरूले आधुनिक गीत लेख्न सक्छ भन्थे । मनमा एकखालको इख थियो । रोग पनि क्रमशः कम हुँदै गयो । अहिले कुनै समस्या देखिएको छैन । तर, एकपटक दिल्ली गएर ब्रेनको चेकजाँच गर्ने योजनामा छु । नेपालमा चेकजाँच गर्न पनि रिस्क छ ।

नेपालमा हेलचेक्र्याइँ बढी

अस्ति ताक मेरो घाँटीमा समस्या भयो । एउटा सरकारी र दुइटा निजी अस्पतालमा चेकजाँच गराएँ । म तेस्रो हस्पिटल नपुगेको भए मेरो गला बन्द हुन पनि सक्थ्यो ।

दुइटा अस्पतालका डक्टरले घाँटीमा फोका परेको भन्दै तत्काल मासु जचाउन भने । डक्टरले तपाईँलाई क्यान्सर पनि हुनसक्छ भनेपछि मलाई डर लाग्यो ।

गलाको मासु चेक गर्ने ठाउँमा जाँदा त्यहाँको डक्टरले चिट हेर्दै यो कसले लेखेको भनेर सोध्नुभयो । उहाँले निडलको टुप्पो समेत नछिर्ने ठाउँबाट कसरी मासु निकालेर चेक गर्ने भन्नुभयो । रुघाखोकी लागेको मान्छेलाई यत्तिको फोका त जहिले पनि हुन्छ भन्दै उहाँले औषधि दिनुभयो । एक महिना औषधि खाएपछि मलाई ठीक भो ।

डक्टरले मलाई भन्नुभयो- ‘यदि मासु निकाल्ने हो भने मैले कम्तीमा ६ महिना रेस्ट गर्नुपर्ने थियो ।’ उहाँकै आग्रहमा औषधि खाएपछि ठीक भयो । उहाँलाई नभेटेको भए अहिले चाहिँ म बिरामी भएर बसिरहेको हुन्थेँ ।

फिल्मी संगीतको फ्यान थिएँ

म फिल्मी संगीतको एकदमै फ्यान थिएँ । रञ्जित गजमेरको कम्पोजिसन मन पर्छ । शम्भुजीत बाँस्कोटाको फिल्मी संगीत राम्रो लाग्छ । उहाँहरूले हिन्दी गीतमा नाच्नुपर्ने बाध्यतालाई तोडिदिनुभयो । गोपाल योञ्जन सरको संगीत पनि निकै मन पथ्र्यो ।

मलाई गाउन र नाच्न पाए पनि हुन्थ्यो जस्तो लागिरहन्थ्यो । परिवर्तन नेपालमा मैले अभिनय पनि सिकेँ । नायक आर्यन सिग्देल पनि त्यतिबेला त्यहाँ सिक्दै हुनुहुन्थ्यो । अनुराग संगीत पाठशालामा हुँदा म संगीत कम्पोज गरेर धेरैलाई सुनाउथेँ । पछि त यस्तो भयो, हरेक शनिबार निर्माता/निर्देशकलाई गीत सुनाउँथेँ ।

मेरो संगीत सुनेर निर्देशक भन्थे – ‘क्या बबाल गीत ! यो गीत त म मेरो फिल्ममा राख्छु ।’ पछि थाहा पाएँ, मलाई त्यसो भन्ने निर्देशक आफैं प्रोड्युसरको खोजीमा हुनुहुँदो रहेछ ।

एकताक भोजपुरी र नेपाली भाषामा फिल्म बनाउने चलन खूब बढेको थियो । भोजपुरी फिल्म बनाउनेले होटलमा बोलाउँथे । म हारमोनियम बोकेर जान्थेँ र गीत सुनाउथेँ ।

म ट्याक्सी चढेर जान्थेँ । गीत सुनाउथेँ । उनीहरू ‘निकै राम्रो रैछ, अर्को पनि सुनाऊ’ भन्थे । म अरु गीतहरू सुनाउथेँ । सबले गजब रैछ, पछि भेटौंला भन्थे । तर, त्यो पछि कहिल्यै आएन । कसैले बोलाउँदैन थिए । मलाई लाग्छ, सायद ममा त्यतिबेला अहिले जस्तो आत्मविश्वास थिएन कि !

११ सय कोठाभाडा तिर्न सकिनँ

म संगीत सिक्दै थिएँ । बहिनीले एसएलसी पास गरिन् । म अनुराग संगीत विद्यालयमा पढाउथेँ । मेरो कमाइ तीन हजार थियो, जब कि ११ सय त कोठाभाडा नै तिनुपथ्र्यो ।

बहिनीलाई मैले नै काठमाडौं ल्याएर पढाउनुपर्ने थियो । मैले घरबेटीलाई भनेँ- ‘म ११ सय तिर्न सक्दिनँ, कोठा सर्छु ।’ तर, घरबेटीले मलाई तिमी सज्जन मान्छे यहीँ बस भन्दै दुई सय रुपैयाँ घटाइदिए ।

मलाई कस्तो समस्या पर्‍यो भने बहिनीलाई काठमाडौ ल्याएर पढाउन सक्ने हैसियत त छँदै थिएन । तर, यतिका वर्ष काठमाडौ बसेको मान्छेले बहिनीलाई पढाउन सक्दिनँ भनेर घरमा भन्न पनि सकिनँ ।

आमाले फोन गरेर सोध्नुहुन्थ्यो- ‘बहिनी लिन कहिले आउँछस् ?’

आज आउँछु । भोलि आउँछु भनेर टार्दै गएँ ।

धेरै मान्छेलाई स्कुल पढाउन सक्छु मलाई एउटा जागिर खोजिदेऊ भनेँ । केही उपाय नलागेपछि म राजु दाइ -संगीतकार राजु सिंह) लाई भेटन गएँ ।

उहाँसँग कुनै पनि स्कुलमा जागिरका लागि भनिदिन आग्रह गरेँ । उहाँले तुरुन्तै काठमाडौं भ्याली स्कुलमा फोन गर्नुभयो । त्यहाँ दिल्लीका टिचर गौतम राय र अभि गुरुङ सर हुनुहुन्थ्यो । हुन त मलाई पहिला श्यामसुन्दर र राम सरले पनि निकै सहयोग गर्नुभएको थियो ।

राजु दाइकै सुझावअनुसार म पूरै तयारी गरेर स्कुल गएको थिएँ । पहिलो दिन नै कक्षा ७ का विद्यार्थीलाई पढाएँ । विद्यार्थी सन्तुष्ट भए ।

स्कुलका मान्छेले बोर्डको मिटिङपछि खबर गर्ने कुरा सुनाए । १५ दिन बित्यो, २० दिन बित्यो खबर आएन । जागिर खानुपर्ने बाध्यताले आफूलाई हतार भइसकेको थियो ।

धेरै पर्खिँदा पनि खबर नआएपछि एक दिन स्कुल गएर भनेँ’मैले त अर्को स्कुलमा काम पाएँ, के गरुँ ?’

उहाँहरूले पढाउन बोलाउनुभयो । भोलिपल्टदेखि जान थालेँ । हप्तामा तीन दिन पढाएवापत ३५ सय रुपैयाँ पाइन्थ्यो । त्यो ३५ सयले त्यतिखेर निकै भरथेग गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment