Comments Add Comment

‘काठमाडौंः गिद्धैगिद्धको सहर’

nischhal

निश्चल बस्नेत पछिल्लो समयका निकै चल्तीका निर्देशक हुन् । ‘लुट’ र ‘टलकजंग भर्सेज टुल्के’ जस्ता हिट फिल्म दिइसकेका उनी अहिले ‘लुट २’ बनाउने तयारीमा छन् ।

चार वर्षअघि निर्माण भएको ‘लुट’ फिल्ममा राजधानी काठमाडौंको परिवेश उतारिएको छ । विभिन्न ठाउँबाट अवसरको खोजीमा सहर पसेका युवाको संघर्षदेखि अपराधले जेलिएको सहरको शल्यक्रिया फिल्मले गरेको थियो । फिल्ममा हाकु कालेको भूमिकामा देखिने सौगात मल्लमार्फत काठमाडौंलाई गिद्धैगिद्धको सहर भनिएको छ ।

फिल्मको लेखक समेत रहेका निश्चलको काठमाडौंलाई हेर्ने दृष्टिकोण त्यही हो कि फरक छ ? यो सहर उनलाई कस्तो लाग्छ ?

पढौं उनकै शब्दमाः

काठमाडौं सहरसँग मेरो निकै गाढा साइनो छ । हाम्रो पुख्र्यौली घर झापाको विर्तामोड भए पनि जीवनको करिब ३० वर्ष मैले राजधानी सहरमै गुजारेको छु । विशालनगर चण्डोलमा छ मेरो घर । बीचमा विर्तामोड चारपानेमा चार वर्ष जति बसेर पढेको थिएँ ।

काठमाडौंमै जन्मिएर हुर्किएकोले यो सहर मलाई निकै आत्मीय लाग्छ । सहरी युवाको नजरबाट हेर्दा आकर्षक ठाउँ हो काठमाडौं । देशका अन्य ठाउँको तुलनामा सबै चिजको अलिक बढी सुविधा छ । तर, काठमाडौंलाई राजधानी भनिए पनि राजधानीमा हुनुपर्ने केही कुरा छैन ।

धारा खोल्यो पानी आउँदैन, स्विच थिच्यो बत्ती हुँदैन । गाउँघरमा बरु बत्ती र पानीको त्यति धेरै समस्या छैन । राजधानी अरु ठाउँको लागि उदाहरण बन्नुपर्ने हो । तर, त्यस्तो नहुँदा दुःख लाग्छ । नेपालमा यस्तै हो भनेर यही स्थितिमा अभ्यस्त भइसक्यौं हामी । यही समस्यामा बानी परिसक्यो । आधारभूत आवश्यकतामै पछि परेको यो स्थितिमा यहाँ बसेर खुसी हुने अवस्था छ जस्तो मलाई लाग्दैन ।

तर, सहर जस्तोसुकै भए पनि आफ्नो ठाउँ भएपछि आत्मीयता एकदम हुँदो रैछ । नराम्रो चिज भए पनि देख्न खोजिँदैन । बाहिर कतै जाँदा दुई-चार दिन रमाइलो हुन्छ, कहिले फर्किऊँ जस्तो हुन्छ । जहाँ घर हुन्छ, त्यहीँ हुन्छ मन ।

अवसर र सुविधाहरू राजधानीमा मात्र नथुप्रेर विभिन्न ठाउँमा बाँडिएको भए यसरी राजधानीमा मान्छे ओइरिनुपर्दैनथ्यो । अवसर यहीँ छ, समस्या पनि यहीँ छ

काठमाडौं सबै कुराको लागि हब भएको छ । विदेश जाने मान्छे यहीँ आउनुपर्छ, अड्डा-अदालतको कामको लागि पनि यहीँ आउनुपर्छ । स्वास्थ्यको हिसाबले हेर्ने हो भने टप डक्टरहरू यहीँ छन्, बाहिरी जिल्लातिर जानुभएकै छैन धेरै । गाउँतिर राम्रो सेवा छैन । त्यतातिर गयो भने त मरिन्छ कि क्या हो भन्ने डर हुन्छ । सबै चिजको लागि नआई नहुने ठाउँ हो काठमाडौं । सबै सरसुविधा यहीँ केन्दि्रत भएकोले जनसंख्याको चाप पनि बढी छ ।

बाहिरबाट ठूलो सपना बोकेर मान्छेहरू यहाँ आउँछन्, कतिपय मान्छे जिन्दगीभर घर फर्किन सक्दैनन् । उनीहरू यहीँ संघर्ष गर्दागर्दै कता हराउँछन् । सपना देख्ने र टुट्ने हरेक दिन भइरहन्छ यहाँ । अवसर र सुविधाहरू राजधानीमा मात्र नथुप्रेर विभिन्न ठाउँमा बाँडिएको भए यसरी राजधानीमा मान्छे ओइरिनुपर्दैनथ्यो । अवसर यहीँ छ, समस्या पनि यहीँ छ । अपराध पनि यहीँ धेरै छ । त्यसको समाधान पनि सायद यहीँभित्र बस्ने मान्छेहरूसँगै छ । तर, सकारात्मक पक्ष हामी कहिले पनि देख्दैनौं ।

‘लुट’ फिल्ममा पनि धेरै चिज सकारात्मक हिसाबबाट देखाइएको त छैन । बैंक लुटपाट, ठगीको कुरा हेर्दा त्यसले गलत सन्देश दिन्छ कि भन्ने जस्तो देखिन्छ । तर, समाज जस्तो छ, त्यसैको प्रतिविम्ब देखाउन खोजेको मात्रै हो । यसैले ‘काठमाडौं सहर, हेर्दा लाग्छ रहर । साला गिद्धैगिद्धको सहर’ भनेर डाइलगमा पनि भनियो । गिद्ध भनेर अवसरवादी मान्छेलाई इंगित गरिएको हो ।

यहाँ धेरै मान्छेहरू अवसरवादी छन् । सबैलाई आफू अगाडि बढ्नु छ, चाहे जोसुकैलाई पछाडि तानेर किन नहोस् Û अपराध नियन्त्रण हुन सकिरहेको छैन । राज्यको सिस्टममा सुस्तता छ । यिनै कुरा विचार गरेर फिल्म बनाएँ । मेरो दिमागले जति जानेको थिएँ, आफ्नो तरिकाले फिल्ममा उतारेँ । फिल्म मैले लेखे पनि ‘गिद्धैगिद्धको सहर’ डाइलग हाकु काले अर्थात् सौगात मल्ल दाइ आफैंले बनाउनुभएको थियो ।

nischal-1मैले हाकु कालेको चरित्र, काठमाडौंको परिवेश, यहाँको अवसरवादी प्रवृत्तिबारे सौगात दाइलाई सम्झाएको थिएँ । कथाको प्लट र सेट अपअनुसार उहाँले त्यस्तो डाइलग बनाएर ल्याउनुभयो । त्यो रूपमा आएपछि निकै मजा मानेका थियौं हामीले । स्कुलको कुनै कविताबाट उठाएर आफ्नो तरिकाले उहाँले मोडिफाई गर्नुभएको रै’छ ।

फिल्मको लोकेसन काठमाडौं नै रोज्नुको पनि कारण छ । काठमाडौंमै हुर्केकोले यो ठाउँको बारेमा नजिकबाट बुझेको थिएँ । यहीँको परिवेश र देखिरहेको ठाउँ भएकोले पनि कथा लेख्न सजिलो भयो मलाई । पहिले अर्कै रूपमा देखेको सहरलाई पछि हेर्दै आउँदा अर्कै अवस्थामा देखेँ । त्यो परिवर्तन याद गरेको थिएँ । अर्कोतिर, म पत्रपत्रिका र टिभीमा समाचार बढी नै हेर्छु ।

‘लुट’ लेख्ने समयमा मैले समाचारहरू हेर्दा धेरैजसो समाचार अपराधकै हुन्थे । सकारात्मकभन्दा नकारात्मक समाचार नै बढी । फिल्म बनाउने प्रेरणा नै त्यसैबाट पाएको हो । न्युज क्लिपहरूबाट उठाएको कथा थियो त्यो । बैंक लुटपाटका विषयमा हेरिरहेको थिएँ । लुटिएका बैंकहरू पनि काठमाडौंभित्रैका थिए । कस्ता मान्छेले लुटेका रैछन् भन्नेबारे पनि रिसर्च गरिरहेको थिएँ । उनीहरू ठूलो सपना बोकेर विभिन्न जिल्लाबाट सहर पसेका पात्र थिए । लोकेसन काठमाडौंभन्दा बाहिर लगेको भए सपना देख्ने कुरा त्यति धेरै असरदार हुँदैनथ्यो होला ।

देशमा सिस्टम छ, तर सिस्टमलाई कसैले मान्दैन । दोष नेताको मात्र हैन, हामी जनता पनि तल्लो तहसम्म सिस्टमलाई पछ्याउँदैनौं । यो बेथितिको सिस्टमबाट उब्जिएको कोही टेढो दिमागवाला मान्छेले गर्‍यो भने के-के सम्म गर्न सक्छ भनेर देखाउने सोच आयो ।

त्यतिखेर बन्ने नेपाली फिल्महरू हेर्दा दृश्यको लागि राम्रा-राम्रा ठाउँहरू रोजिएको पाइन्थ्यो । हाम्रो समाज जस्तो छैन, त्योभन्दा राम्रो देखाइने टे्रन्ड थियो । मैले चाहिँ म जस्तो काठमाडौंमा बस्छु, त्यही काठमाडौंको रूप देखाउन खोजेँ । हो, यो सहरको गति त्यति साह्रो खत्तम पनि छैन, तर यहाँका धेरै चिज खत्तम छन् । त्यो चिज देखाउन जरुरी छ भन्ने लाग्यो । फिल्म हेरेपछि दर्शकहरूले आफूले देखिरहेको सहरलाई फिल्ममा कसैले ल्याइदियो भन्ने कुरा गर्नुभयो । फिल्ममा देखाएका चिजहरूले दर्शकलाई पनि सहरको कथावस्तुमा कतै जोडेकोले धेरै मजा आएको हो जस्तो लाग्छ ।

सबैथोक काठमाडौंमै केन्द्रित भएकोले यहाँ बढी बेथिति भएको जस्तो देखिन्छ, तर हेर्ने हो भने अन्य ठाउँमा पनि यस्तै स्थिति छ । हामी काठमाडौं बस्नेलाई पोखरा एकदम सफा र सुग्घर ठाउँ लाग्छ । त्यो हेर्दा मान्छेले गर्न चाह्यो भने त हुँदो रैछ त भन्ने लाग्छ । तर, पोखराको सम्भावना त्यति मात्र हैन । त्योभन्दा कहाँ हो कहाँ राम्रो हुनुपर्ने ठाउँ हो । नीति-निर्माण गर्ने ठाउँमा इच्छाशक्ति बलियो भएको मान्छे आयो भने काठमाडौं मात्र हैन, पूरै देश पाँच/दस वर्षमा बदल्न सकिन्छ ।

‘लुट २’ मा पनि काठमाडौंकै परिवेश हुनेछ । हामीले भूकम्पपछि सहरको अवस्था देख्यौं । नाकाबन्दीको बेलाको सहर पनि देख्यौं । भूकम्पपछि एकातिर राहत र उद्धारको काम चलिरहेको थियो भने अर्कातिर व्यापार र राहतमा पनि भ्रष्टाचार लगायत धेरै कुरा भइरहेको थियो । त्यसपछि नाकाबन्दीमा पूरै देश नै कालोबजारीले चल्यो । त्यो समयमा मान्छेहरूले के-के गरे होलान्, ‘लुट’ मा छुटेका हाम्रो पात्रहरूले यहाँसम्म आउँदा के-के गरे ? त्यो देखाइनेछ । साउन १२ गतेबाट सुटिङ सुरु हुँदै छ । ४०-४५ दिनमा सक्ने योजना छ ।

प्रस्तुतिः जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment