Comments Add Comment

मलेसियामा अवैध बसाइको पीडा, कमल भन्छन्- फेरि विदेश जान्नँ

kamal-khatri

मलेसियामा कमाउन गएका सुर्खेत दशरथपुरका कमल खत्री एक महिनाअघि सडक दुर्घटनामा परे ।

त्यसपछि त्यहाँ नेपाली दाजुभाइबाट थरिथरि प्रश्नको सामना गरे उनले । खुट्टामा के भएको ? अस्पताल नगई किन यत्तिकै बसेको ? कम्पनीले उपचार गराएन र ?

एक महिनाभरि यस्तै प्रश्नको जवाफ दिइरहे उनले ।

नेपाल फर्किएपछि पनि उस्तै प्रश्नको ओइरो लाग्यो । घर-परिवारको भने सान्त्वना थियो – ‘धन्न बाँचेर आइस्, जे गर्ने हो अब नेपालमै गर् ।’

मलेसियामा दुर्घटनामा परेपछि कमलको दाहिने खुट्टाको गोलीगाँठो छियाछिया भएको थियो । उनी अहिले काठमाडांैको अस्पतालमा उपचार गराइरहेका छन् । मलेसियाको अस्पतालमा डक्टरले खुट्टा काट्नुपर्छ भने पनि उनले त्यसो गर्नुपरेन । केही दिनमा हिंडडुल गर्न सक्ने अस्पतालले जनाएको छ ।

२१ वर्षको उमेरमा रोजगारीको लागि मलेसिया पुगेका थिए कमल । साढे दुई वर्ष त्यहाँ बस्दा धेरै हण्डर खाए । पैसा कमाउन त परको कुरा, उल्टै परिवारलाई ऋणको भारी बोकाएर जेनतेन नेपाल फर्किए ।

मेनपावरलाई एक लाख ३५ हजार रुपैयाँ बुझाएर उनी जोहोरवारुको फुड कम्पनीमा गएका थिए । कम्पनी उही भए पनि काम भने फरक थियो । जसोतसो एक वर्षसम्म काम गरे ।

दोस्रो वर्षको भिसा लगाउने समयमा कम्पनीले सबै कामदारलाई मेडिकल टेस्टमा लग्यो । सँगै काम गर्ने र होस्टलमा पनि सँगै बस्ने साथी भने मेडिकलमा अनफिट भए । नेपालदेखि सँगै आएको साथी फेल भएपछि उनलाई निकै नरमाइलो लाग्यो ।

एक दिन कम्पनीलाई जानकारी नगराई बिदामा बसे । नेपाल र्फकन लागेको साथीसँगै दिनभर भलाकुसारी गरे ।

अर्को दिन काम गर्न जाँदा उनलाई कम्पनीले कामै दिएन । उनले माफी मागे पनि पाएनन् ।

नेपाल पठाइदिन कम्पनीसँग अनुरोध गरे । तर, कम्पनीले शर्त राख्यो – ‘नेपाल र्फकन चाहन्छस् भने दस हजार रिंगेट दे ।’ उनीसँग त्यत्रो पैसा थिएन । केही सीप नलागेपछि उनले कम्पनी छाडे ।

कम्पनीबाट बाहिरिएपछि उनले नेपाल फर्किने प्रयास गरे । नेपालमा परिवारसँग साथीको खातामा ४० हजार रुपैयाँ जम्मा गर्न लगाएर मलेसियामा साथीबाट त्यति पैसा लिए । धर्म नामको एजेन्टलाई पैसा पनि बुझाए । तर, एजेन्टले पैसा मात्र खाइदिएन, उनीसँग रहेको बाँकी पैसा र मोबाइल सेट समेत लुटेर लगिदियो ।

kamal-khatri1घरबाट पैसा पठाइसकेपछि परिवारले कहिले आउँछस् भनेर सोधिरहे । तर, कमलले आफ्नो हालत र ठगिएको-लुटिएको पीडा बताउन सकेनन् । उनी साथीको शरणमा पुगे । साथीको होस्टलमा दुई महिना यत्तिकै बसे । साथीले जसोतसो काम त लगाइदियो, तर एक महिना दस दिन काम गरेको तलब नै पाएनन् ।

धेरै हण्डर खाँदाखाँदै उनले जोहोरवारुको एक नेपाली रेस्टुरेन्टमा काम पाए । त्यहाँ करिब एक वर्षजति काम गरे । घर र्फकने चाँजोपाँजो मिलाउँदै थिए, असार ११ गते उनी दुर्घटनामा परे । सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको कारले उनलाई ठक्कर दियो । उनी सोही ठाउँमा ढले । होश खुल्दा उनी प्रहरी चौकीमा थिए ।

प्रहरीले एम्बुलेन्स मगाएर अस्पताल पुर्‍यायो । अस्पतालले उनीसँग पासपोर्ट माग्यो । तर, उनी पहिलेदेखि अवैधानिक कामदार भएका थिए । पासपोर्ट भए मात्रै उपचार हुने कुरा भयो । अस्पतालले सामान्य ब्यान्डेज मात्र गरिदियो । डक्टरहरुले उपचार गर्न नसके पनि खुट्टा काट्नुपर्छ भनेर बताए ।

दुर्घटनामा परेर रक्ताम्य भएका कमलसँग साथीलाई सम्पर्क गर्ने मोबाइलसम्म पनि थिएन । दुर्घटनामा पर्दा हराएछ । कतै एउटा कागजको टुक्रामा साथीको मोबाइल नम्बर टिपेर राखेका रहेछन् । डक्टरले साथीसँग सम्पर्क गराएर पठाए ।

नेपाली साथीभाइहरुले उपचारको लागि केही रकम संकलन गरे । तर, अवैधानिक भएकोले उनको उपचार हुन सकेन । साथीभाइको मद्दतले उनी क्वालालम्पुरसम्म त आइपुगे । तर, नेपाल कसरी पुग्ने भन्ने कुनै टुंगो थिएन । त्यसमा उनको लागि प्रवासी नेपाली समन्वय समिति सहयोगी भइदियो । समितिमार्फत मलेसियामा कार्यरत संस्थाहरुको सहयोगमा उनी सामान्य उपचारपछि नेपाल र्फकन सफल भए ।

नेपाल फर्किएपछि काठमाडौंको अस्पतालमा उपचार गराइरहेका कमल भन्छन् – ‘जे सोचेर विदेश गइयो, त्यस्तो भएन । अब कुनै हालतमा जान्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment