Comments Add Comment

बाहिरबाट हेर्दा औषधि पसल तर भित्री धन्दा अर्कै !

Medicine-shop

१४ साउन, काठमाडौं । गत मंगलबार साँझ करिब ६ बजे भोजपुर घर भै काठमाडौंको बागबजार बस्ने तेजबहादुर दाहाल आफ्ना १८ महिने छोरालाई ज्वरो आएपछि चेक गराउन नजिकै रहेको मेडिसिन प्वाइन्ट नामको औषधि पसलमा पुगे । दाहालका छोराको आदन शेख नाम गरेका व्यक्तिले जाँच गरे । त्यसपछि उनले ज्वरो आएको भन्दै रिलिफ नामको झोल औषधि दिएर पठाए ।

दाहाल पनि छोरा निको हुने भन्ठानेर घर फर्किए । शेखले भने बमोजिम छोरालाई औषधि खुवाए । तर, औषधि पेटमा पर्न नपाइ छोराले बान्ता गर्न थाल्यो । औषधि खाएपछि छोरालाई ठीक होला भनेको त झन् उल्टो भएपछि उनी आत्तिए ।

औषधिमा शंका लागेर उत्पादन मिति र म्याद सकिने मिति हेर्दा पो उनी झसंग भए । औषधि पसलेले दिएको त्यो रिलिफ नामक औषधिको म्याद त तीन महिना अघि नै सकिएको रहेछ ।

दाहालले तत्काल प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत्त सिंहदरवारको टोलिले औषधि पसलमा पुगेर अनुसन्धान गर्दा पनि शेखले बिरामी बच्चालाई म्याद गुज्रिएको औषधि दिएको भेटिएको डिएसपी मनोहरप्रसाद भट्टले बताए ।

प्रहरीले तत्काल शेखलाई नियन्त्रणमा लियो । थप अनुसन्धान गर्दा थाहा भयो उनी त शंकरदेव क्याम्पसमा बीबीएस अध्ययनरत विद्यार्थी रहेछन् । मोहम्द खुर्सिद आलमको उक्त औषधि पसलमा शेख काम गर्न बसेका रहेछन् ।

‘विगत दुई वर्षदेखि सोही औषधि पसलमा काम गर्दै आएका शेखलाई औषधि सम्बन्धी ज्ञानै रहेनछ । तर पनि औषधि बिक्री गर्दोरहेछ,’ डिएसपी भट्टले भने, ‘पसल धनि फरार छन्, शेखलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

मेडिकल र औषधी पसलको नाममा कतिसम्म लापरवाही भैरहेको छ भन्ने यो पछिल्लो उदाहरण मात्रै हो । पछिल्लो समय एउटाले लाइसेन्स लिने र अर्कैलाई औषधि पसल चलाउन दिनेहरुका कारण कयौंको ज्यान जोखिममा परिरहेको छ ।

औषधि पसलको लाइसेन्स पनि भाडामा

लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका औषधि पसलहरुबाट अवैध रुपमा लागुऔषध बिक्री हुने गरेको सूचनाका आधारमा कारबाही चलाइरहेको छ ।

डाक्टरको सिफारिस बिना बिक्री गर्न नपाइने औषधिहरु खुलेआम लागुऔषध दुर्व्यसनीहरुलाई बिक्री गरेको भेटिएको छ । औषधिलाई लागुऔषधको रुपमा बिक्री गर्ने पसलका सञ्चालकहरु नै नक्कली भेटिन थालेका छन् । फार्मेसीको लागि लाइसेन्स एउटाले लिने र पसल अर्कालाई भाडामा सञ्चालन गर्न दिएको समेत भेटिएका छन् । त्यसरी अर्काको नाममा दर्ता भएको फार्मेसी पसल सञ्चालकहरु अधिकांशले औषधि लागुऔषध प्रयोगकर्ताहरुलाई बिक्री गर्ने गरेको पाइएको छ ।

केहि दिन लागुऔषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागको संयुक्त टोली लागुऔषधको रुपमा बिक्री गर्ने औषधि पसलहरुमा छापा मार्न निस्कियो ।

टोली भिमसेनगोलास्थित शेरावाली पोलिक्लिनिक प्रालीमा छापा मार्न पुग्दा रामराय श्रेष्ठ औषधि बिक्री गरिरहेको अवस्थामा भेटिए ।

केहिबेरको निगरानी पछि श्रेष्ठ विरामीलाई भन्दा लागुऔषध दुर्व्यसनीलाई धेरै औषधि बिक्री गर्न व्यस्त थिए । युवाहरु आउने र दुई सय रुपैयाँ बुझाएर केही ट्याबलेट लिएर गएको देखिएपछि ब्युरो र विभागको संयुक्त टोलीले औषधि पसलमा छापा मार्‍यो । श्रेष्ठले औषधि लागुऔषध दुर्व्यसनीलाई बिक्री गरेको मात्रै भेटिएन उनले औषधि पसल नै गैरकानुनी रुपमा चलाएको पाइयो ।

रोसन सापकोटाको नाममा रहेको औषधि पसल भाडामा चलाएर उनले लागुऔषध बिक्री मात्रै गरिरहेका थिएनन्, कस्तो औषधि बिक्री गर्थे भन्ने गम्भीर प्रश्न बनेको छ । त्यही औषधि पसलबाट लागुऔषध बिक्री भैरहेका ओपिडो स्पास्मो जस्ता एक हजार ट्याबलेट औषधिसमेत बरामद भएको थियो ।

त्यसो त चाबहिलको लामपोखरीमा सञ्चालन भैरहेको जोशी फार्मेसी पनि अर्कैको नाममा भएको भेटिएको थियो । ट्रमाडोल नामको औषधि लागुऔषधको रुपमा अवैध तरिकाले बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका न्हुच्छेलाल श्रेष्ठले सुन्दरकाजी जोशीको नाममा रहेको फार्मेसी चलाइरहेको खुलेको छ ।

जयबागेश्वरीमा रहेको बाग्ेश्वरी फर्माको लाइसेन्स सुजाता केसीको नाममा छ । तर उक्त फार्मेसी इन्दु आचार्य र सिर्जना श्रेष्ठले चलाइरहेका थिए । उनीहरु लागुऔषध दुर्व्यसनीलाई अवैध रुपमा डाक्टरको सिफारिस विना औषधि बिक्री गरेको आरोपमा पक्राउ परेका थिए ।

सचेत गराएर छाडियो

एउटाको नाममा लाइसेन्स लिएर अर्कै औषधि पसल सञ्चालन गरेको र औषधि लागुऔषधको रुपमा बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ब्युरोले कार्वाहीको लागि औषधि व्यवस्था विभागको जिम्मा लगाएको थियो । तर विभागले भने सबैलाई सामान्य चेतावनी दिएर मात्रै छाडिदिएको छ ।

विभागका महानिर्देशक बालकृष्ण खरेलका अनुसार पक्राउ परेकाहरु कतिपयको प्रमाणपत्र केहि दिनको लागि निम्बनसहित सचेत गराएर छाडिएको छ ।

‘एउटाको नाममा लाइसेन्स लिने पसल अर्कैले चलाउनेहरु पक्राउ परेका थिए, गल्ती भो सुधि्रने मौका पाऊँ भनेपछि एकपटकलाई सचेत गराएर छाडेका छौं,’ महानिर्देशक खकुरेलले भने ।

काठमाडौंका ३५ सय औषधि पसलको अनुगमन कस्ले गर्छ ?

औषधि व्यवस्था विभागको तथ्यांकअनुसार काठमाडौंमा मात्रै ३५ सयभन्दा बढीले फार्मेसी सञ्चालनको लाइसेन्स लिएका छन् । ‘विगतमा लाइसेन्स लिने मापदण्ड कम्जोर हुँदा पिउनदेखि ८ कक्षा पढेकाहरुले पनि लाइसेन्स लिए । अहिले त्यहि लाइसेन्स भाडामा दिएर खाइरहेका छन्,’ विभागका महानिर्देशक खरेलले भने ।

तर अहिले एसएलसी पास गरेपछि पनि तीन वर्ष फार्मेसी अध्ययन गरेकाले मात्रै लाइसेन्स पाउने गरेका छन् । फर्मासिस्टको लागि भने प्लस टु पछि तीन वर्ष फार्मेसी सम्बन्धी अध्ययन गरेको हुनु पर्दछ ।

विगतमा लाइसेन्स लिनेहरुलाई राम्रोसँग औषधिको ज्ञान हुँदैन । उनीहरुले नै औषधिलाई लागुऔषधको रुपमा बिक्री गरेको भेटिएको अनुगमनको क्रममा पाइएको छ । उनीहरुलाई कारबाहीको दायरामा ल्याउने महानिर्देशक खकुरेलले दावी गरे ।

कारबाही नगरे स्थिति डरलाग्दोः डिआइजी चन्द

औषधि पसलको नाममा खुलेका फार्मेसीहरुबाट लागुऔषध बिक्री भैरहेको तथ्य निकै डरलाग्दो देखिएको लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्द बताउँछन् ।

‘सस्तो लागुऔषध पाएपछि युवाहरु तिनै औषधि पसलमा लाइन लाग्छन् । पसलेहरु तिनीहरुलाई आम्दानीको स्रोत बनाइरहेका छन् । यस्ले भविष्यमा कस्तो स्थिति ल्याउला तपाइँ आफैं अनुमान गर्नुहोस्,’ डिआइजी चन्दले भने ।

अर्काको नाममा भएको लाइसेन्सबाट औषधि पसल सञ्चालन गर्ने र त्यसमा युवाहरुलाई लागुऔषध बिक्री गर्नेहरुलाई लागुऔषध ऐन अन्तर्गत कार्वाही गर्नुपर्ने डिआइजी चन्दको सुझाव छ ।

‘औषधि पसलजस्तो संवेदनशील क्षेत्रमा समेत लागुऔषध बिक्री भैरहेको छ त्यो पनि लाइसेन्स अर्काको नाममा छ अनि यिनीहरुलाई त्यसैले छोड्ने ? डिआइजी चन्दको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment