Comments Add Comment

सप्तरीबासी भन्छन्- भारतसँग नझुक्ने हामी नेपाली हौं, नेपाली रहन्छौं !

काठमाडौंलाई प्रश्न- 'तपाईहरु भारतको एस म्यान हो ?'

Saptari Jhadap (2)

१४ साउन, सप्तरी । सप्तरीको तिलाठी गाविसमा विहीबार भारतीय पक्षको लाठी प्रहारबाट पूर्वजिविस सदस्य देवनारायण यादवसहित १० नेपाली घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ । अनलाइनखबरकर्मीले उनीहरुलाई भेट्दा भारतीय थिचोमिचो सहँदै आए पनि सरकारले वास्ता नगरेको बताए ।

आफूहरुले दशकौंसम्म भारतसँग भिडेर सीमाको रक्षा गरिरहेको उनीहरुले बताए । यति हुँदा पनि सरकारले सहयोग नगरेको र उल्टै सरकारले मधेसीहरुलाई ‘भारतीय’ र ‘विहारी’ भनेको सुन्दा मन दुख्ने गरेको घाइते सप्तरीबासीले गुनासो सुनाए ।

१० नेपाली घाइते, बालकसहित दुईको अवस्था गम्भीर

भारतीय विधायक बैद्यनाथ यादव अनसन बसेर आफ्नो भूमिमा ०७१ सालमा बाँध बनाउन लगाए । तर, हाम्रा सांसदहरु यसबारेमा चासोसमेत राख्न सकेका छैनन् । हाम्रै राज्यले हाम्रो समस्या समाधान नगरिदिँदा हामी आफैं लड्न बाध्य भएका छौं- यादव

सप्तरीको तिलाठी गाविस र भारतीय गाउँ कुनौलीका बासिन्दाबीच वर्षौंदेखि विवाद हुँदै आएको छ । पछिल्लोपटक बिहीबार तिलाठी र भारतको बिहार राज्यअन्तर्गत कुनौलीका बासिन्दाबीच झडप नै भयो । एकले अर्कालाई बाँसको भाटा लिएर जथाभावी कुट्ने काम दुबै पक्षबाट भयो ।

प्रहरीका अनुसार यो झडपमा ६ जना नेपाली र १० जना भारतीय घाइते भएका छन् । यद्यपि तिलाठीका बासिन्दाका अनुसार १४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक बालकसहित दुईजनाको अवस्था गम्भीर छ ।

घाइतेको उपचारमा सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । यी दुईजनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा र बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ ।

पूर्वजिविस सदस्य देवनारायण यादवको टाउकोमा १२ वटा टाँका लगाइएको छ भने तिलाठी-१ का १४ वर्षीय हर्षबन्दन कर्णको पनि टाउकोमै चोट लागेको छ ।

यसरी भयो झडप

भारतीय पक्षले आफ्नो भूमि कुनौलीमा बनाएको बाँध नेपालीहरुले बिहीबार दिउँसो भत्काइदिए । सप्तरीसँगै सीमा जोडिएको कुनौलीमा भारतीय पक्षले बुधबारदेखि बाँध बनाउन शुरु गरेको थियो ।

भारतीय पक्षले एकतर्फीरुपमा बनाएको बाँधले नेपालतर्फको आधा दर्जन गाविस जलमग्न हुने भएपछि नेपालीहरुले बाँधलाई भत्काएका हुन् । यो बाँधले सप्तरीको रम्पुरा मल्हनियाँ, तिलाठी, लौनियाँसहितका गाविसहरु जलमग्न हुँदै आएका छन् ।

भारतले केही वर्ष अगाडि नै यो बाँध एकतर्फीरुपमा बनाएपछि यी गाविसहरु डुबानमा पर्दै आएका थिए । यसैक्रममा अविरल वर्षाका कारण गत शनिबार आफैं यो बाँध भत्कियो ।

बाँध भत्केपछि भारतीय पक्ष र नेपाली पक्षबीच तत्काल यो बाँध नबनाउने सहमति भयो । तर, बुधबारदेखि भारतीय पक्षले पूर्वसहमति विपरीत यो बाँध बाँध्ने काम शुरु गर्‍यो ।

विहानैदेखिको तयारी

Saptari Jhadap (3)

नेपालीहरुले बिहीबार बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरै भएपछि त्यत्तिकै फर्केका थिए ।

दिउँसोतिर नेपाली पक्षको संख्या धेरै भयो । त्यसपछि बाँधमा राखिएको बाँस र बालुवाका बोरा झिकेर नेपालीहरुले फालिदिए । त्यसपछि घटना केहीबेर साम्य भयो ।

साँझ ५ बजेतिर नेपाली पक्षका बासिन्दाहरु आ-आफ्नो घरतिर लागे । दशगजा क्षेत्रमा थोरै संख्यामा मात्रै नेपालीहरु थिए । त्यही मौका छोपेर दर्जनौं भारतीयहरु त्यहाँ आए र पूर्व जिविस सदस्य यादव सहितका नेपालीमाथि अन्धाधुन्ध कुटपिट गर्न थाले ।

यादवलाई कुट्दै भारततर्फ लग्न खोजेपछि नेपालीहरु पनि जम्मा भए र दुबै पक्षबीच बाँसको भाटा तथा ढुंगा हानाहान भयो । तिलाठीका निरज झा भन्छन्, “यादवलाई कुट्दै भारततर्फ लग्न खोजेपछि हामी बचाउन गयौं, तर भारतीयहरु हामीमाथि जाइलागे ।”

आफ्नै सरकारको छैन साथ

बिहीबार भारतीयहरुले नेपालीमाथि आक्रमण गर्दा भरपूर भारतीय सुरक्षाकर्मी उपस्थित थिए । तर, नेपाली सुरक्षाकर्मीको उपस्थिति न्यून थियो ।

‘हामीले पटक-पटक आफ्ना प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखदेखि लिएर मन्त्रिस्तरसम्म कुरा राखिसकेको छौं । तर, हाम्रो समस्या कसैले सुनेको छैन’ यादवले भने ।

‘भारतीय विधायक बैद्यनाथ यादव अनसन बसेर आफ्नो भूमिमा ०७१ सालमा बाँध बनाउन लगाए । तर, हाम्रा सांसदहरु यसबारेमा चासोसमेत राख्न सकेका छैनन्’ यादव थप्छन्, “हाम्रै राज्यले हाम्रो समस्या समाधान नगरिदिँदा हामी आफैं लड्न बाध्य भएका छौं ।”

‘बिहीबार झडप हुँदा भारतीय पक्षका धेरै सुरक्षाकर्मी उपस्थित थिए, तर हाम्रो सुरक्षाकर्मीको त्यत्ति उपस्थिति देखिएन्’ उनले प्रश्न गरे- “यसले हाम्रो सरकारले हामीसँग बेइमानी गरिरहेको ठहरिँदैन् ?”

प्रमुख जिल्ला अधिकारीदेखि वर्तमान गृहमन्त्रीसम्म गुहार लगाउँदा पनि आफूहरुको समस्या सुनुवाइ हुन नसकेको बताउँदै उनी भन्छन्, “के हाम्रा प्रशासक र सरकार भारतकै ‘एस म्यान’ बन्न खोजेका हुन् त ?”

भारतसँगै लड्दा हामी भारतीय कसरी भयौं ?

dev-narayanसप्तरीको तिलाठीसहित आसपास क्षेत्रका बासिन्दाहरु भारतबाट पीडित हुने नै भए । तर, उनीहरुले आफ्नै सरकारबाट अपहेलित भएको महसुस गरेका छन् ।

‘हामीलाई सुरक्षा नदिने, हाम्रो समस्या नसुनिदिनेजस्ता समस्या आफ्नो ठाउँमा छँदैछ’ घाइते बनेका पूर्वजिविस सदस्य यादव भन्छन्, “मधेसीहरु भारतीय नागरिक हो, बिहारबाट आएका हुन्, भारतका चम्चा हुन् जस्ता शब्दको प्रयोग गर्दा हामीलाई एकदमै पोल्छ ।”

‘एक त भारतको जस्तो आफ्ना जनतालाई सहयोग नगरिदिने, समस्याको समाधान नगरिदिने र अर्कातर्फ शब्दरुपी बाण प्रहार गर्दा हामी न घर न घाटका भएका छौं’ यादवले अनलाइनखबरसँग भने, “हामी नेपाली हौं र नेपाली नै रहनेछौं, हामी मधेसीहरुलाई काठमाडौंमा बसेर त्यस्तो शब्दको प्रयोग नगर्न सबैसँग आग्रह गर्दछु ।”

सीमा स्तम्भ नै गायव

दुबै देशका बासिन्दाबीचको विवाद लगाताररुपमा भइरहेको छ । तर, यी विवादका कारण दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भ विलीन भइसकेको छ । र, कसैले पनि ध्यान दिएको छैन ।

खाँडो खोलाको बालुवाले पाँच वर्षअघि नै सीमा स्तम्भ पुरिएको छ, तर त्यो मिलाउन पनि कसैले ध्यान नदिएको तिलाठी गाविसका बासिन्दाले बताएका छन् । सीमास्तम्भ हराउँदा अहिले नेपाल र भारतको ठाउँ कहाँसम्म छ भन्ने कुराको जानकारी पाउन मुश्किल छ’ स्थानीय निरज झाले भने, “यसबारेमा पनि हामीले पटक-पटक सरकारको जानकारी गराइसकेका छौं ।”

‘हो सीमा स्तम्भ बालुवामा पुरेको छ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम भन्छन्, “यसैले त भारतलाई अहिले कुनै किसिमको बाँध निर्माण नगर्न हामीले आग्रह गरेका छौं ।”

गौतमका अनुसार शनिबारको बाढीले उक्त बाँध भत्काउँदा भारतीय पक्षले पुनः बनाउन लागेका थिए । ‘तर त्यस क्रममा दुबै पक्षबीच नबनाउने सहमति भएको थियो । तर, एक्कासी आएर भारतीय पक्षले बनाउन लागेपछि हामीले विरोध गरेका हौं ।’

प्रत्येक वर्ष निकासको विवाद

यहाँ पानी निकासको विवाद प्रत्येक बर्ष हुने गरेको छ । प्रत्येक पटक नेपालीले भारतीय पक्षबाट गाली गलौज र कुटाइ पनि सहनुपरिरहेको छ’ स्थानीय सञ्चारकर्मी पंकज झा भन्छन्, “बारम्बार हामीले आफ्नो प्रशासनलाई भन्दा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।”

झाको भनाइमा भारतसँग बोल्न नसक्ने नेपाली प्रशासनले कुनै किसिमको ध्यान नदिँदा स्थानीय बासिन्दाले प्रत्येक बर्ष दुःख झेल्नुपरिरहेको छ । ‘०६४ सालमा भारतीय सुरक्षाकर्मीले झण्डै हामीमाथि गोली चलाएका थिए’ पूर्वजिविस सदस्य यादव भन्छन्, “त्यतिबेला जल उत्पन्न प्रकोप नियन्त्रणमार्फत आफ्नो भूमिमा बाँध बनाउने काम गरिरहँदा भारतीय सुरक्षाकर्मी आएर बन्दुक देखाउँदै आफ्ना ओभरसियर र इन्जिनियरलाई समातेर लगेका थिए ।

धेरै दिनको छलफल र सहमतिपश्चात भारतीय पक्षले आफ्ना मान्छेलाई छाडेको र आफूहरुले जसोतसो बाँध बनाउने काम पूरा गरेको यादव बताउँछन् ।

पछिल्लो १५ बर्षयता लगातार रुपमा दुबै देशका बासिन्दाबीच झडप भइरहेको स्मरण सुनाउँछन् यादव । यादवको भनाइमा पहिला केही वादविवाद हुँदै आए पनि तीन वर्षयता झडप नै हुँदै आएको छ । भारतीय पक्षले कुनौलीमा ०७१ सालमा एकतर्फी बाँध बनाएपछि झड्प हुन थालेको हो ।

यो पनि पढ्नुस् 

सप्तरीवासी जनतालार्इ सलाम छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment