Comments Add Comment

सिंहदरबारमा सदाबहार ! विजय गच्छदार !!

गठबन्धन, पार्टी र नैतिकता तोड्दै मन्त्री बन्दै

Bijay-Gachhadar

१४ साउन, काठमाडौं । प्रदीप गिरी र विजयकुमार गच्छदार दुबै राजनीतिमा छन् । लामो समय दुबै एउटै दल नेपाली कांग्रेसमा रहे । कांग्रेस छाडेका गच्छदार अहिले मधेसी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकमा छन् भने गिरी कांग्रेसमै टिकिरहेका छन् ।

तर, दलको आवद्धतामात्रै यी दुई नेताबीचको भिन्नता होइन । गिरी मूल्य मान्यताको राजनीति गर्छन् भने गच्छदार सत्ताको राजनीति गर्छन् ।

त्यसैले त गच्छदार ओली सरकारबाट बाहिएलगत्तै प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न दौडधुप गरिरहेका छन् । माओवादी उच्च स्रोतका अनुसार गच्छदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का जस्तै भएको छ ।

राजनीतिक विश्लेषकहरु यो नौलो कुरा नभएको बताउँछन् । ‘राम्रो नराम्रो भन्ने एउटा ठाउँमा छ । तर, नेपाली राजनीतिमा गच्छदार एक फरक पात्र हुन्, जो सत्ताका लागि राजनीति गर्छन्’ एक विश्लेषकले भने ।

मुलतः नेपालमा संघर्ष र सत्ताको राजनीति हुँदै आएको छ । ०४६ अघिसम्म वामपन्थीहरु संघर्षको राजनीति गर्थे भने पञ्चहरु सत्ताको । ०४६ पछि कांग्रेस र एमालेले सत्ताको राजनीति गरे, माओवादीले संघर्ष र हतियारको राजनीति गर्‍यो ।

त्यस्तै ०६२/०३ को परिर्वतनपछि मधेसी र जनजातिले संघर्ष गरे । तर, उनीहरु पनि संघर्षभन्दा सत्ताको राजनीतिमै बढी देखिए ।

यसको उत्कृष्ट नमूना हो गच्छदार प्रवृत्ति । अर्को शब्दमा भन्दा गणतन्त्रमा मुसा प्रवृत्तिको उत्कृष्ट नमूना हुन् उनी । ०६४ को संविधानसभा निर्वाचनपछि झलनाथ खनाल र सुशील कोइराला नेतृत्वका दुईवटा सरकारमा मात्रै उनले ठाउँ पाएनन् । अरु सबै सरकारमा उनी सदावहार छन् ।

प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा गच्छदार मधेसी जनअधिकार फोरमबाट मन्त्री बने । त्यसपछि भने उनको बढुवा भएको छ उप्रधानमन्त्रीमा । एकताका उनी थारुको छोरो प्रधानमन्त्री बन्छ भन्थे, अहिले त्यसो भन्न छाडेका छन् । प्रधानमन्त्री विदेश जाँदा कार्यवाहक प्रधानमन्त्री बनेरै चित्त बुझाइरहेका छन् ।

Bijay Gacchadar

माधवकुमार नेपाल ०६६ जेठमा सरकार बन्दा मधेसी फोरम सरकारमा नजाने पक्षमा थियो । तर, गच्छदारले पार्टी नै फुटाएर नेपाललाई साथ दिए । त्यसको बदलामा उनी उपप्रधानमन्त्री भए ।

त्यस्तै ०६८ भदौमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गच्छदार उपप्रधान तथा गृहमन्त्री बने । दोस्रो संविधानसभा चुनावपछि कांग्रेस र एमाले मिलेर सरकार बनाए । इच्छा हुँदाहुँदै पनि गच्छदार मन्त्री हुन पाएनन् ।

तर, संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्दा गच्छदारले उपप्रधानमन्त्री पड्काए । योपटक उनी मन्त्री बन्दा अनौठै भयो । जेठ २५ मा १६ बुँदे सहमतिको हस्ताक्षरकर्ता गच्छदार पार्टीभित्रको दबावका कारण भदौ २२ मा संविधानसभाबाट बाहिरिने निर्णयमा पुगेका थिए ।

असोज ३ मा जारी भएको नयाँ संविधानमा उनीसहित उनका पार्टीका १४ सांसदले हस्ताक्षर समेत गरेनन् । तर, त्यसको केही दिनपछि ओलीलाई प्रधानमन्त्री बनाउने बेला उनी टुप्लुक्क आइपुगे र मन्त्री पद सुरक्षित गरे ।

ओली सरकारमा फोरम लोकतान्त्रिकले दुई मन्त्रालय पाएको थियो । उनी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने भने आफ्नो पार्टीका रामजनम चौधरीलाई स्वास्थ्यमन्त्री बनाए । मुस्ताक आलम राज्यमन्त्री भए ।

सरकारमा गएकै कारण गच्छदार मधेसी मोर्चाबाट निकालिए । मधेसमा उनको पार्टीलाई ठूलै धक्का लाग्यो । पार्टीभित्र रडाको नै मच्चियो । सप्तरी लगायत केही जिल्लाका पार्टी नेताहरु राजेन्द्र महतोको पार्टीका लागे ।

गच्छदारले सरकारमा जाने क्रममा भएको आठबुँदे सहमति गरेर पार्टी विवाद थामथुम पारेका थिए । त्यो पनि कार्यान्वयन नभएको भन्दै पार्टी फुट नजिक पुग्दा समेत उनी टसका मस भएनन् ।

तर, जब ओली सरकार नटिक्ने नै भयो । उनले पार्टीमा समर्थन फिर्ता र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गराए । यसका बाबजुद योपटक गच्छदारलाई उपेन्द्र यादवसहितको मधेसी मोर्चाले सरकारमा रोक्ने प्रयास नगरेका होइनन् । मोर्चाले आफ्नो समर्थन चाहिने भए गच्छदारलाई मन्त्री बनाउन नहुने शर्त नै कांग्रेस र माओवादी सामू राखेको थियो । तर, अन्ततः गच्छदारको सत्ता राजनीतिकै जीत हुने देखिएको छ ।

प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डले आफ्नो सरकारमा गच्छदार मन्त्री हुने संकेत दिइसकेको फोरम लोकतान्त्रिकका नेताहरुको दाबी छ ।

नेपाली कांग्रेसमा प्रदीप गिरी वौद्धिक नेता मानिन्छन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्न लागेको पनि कांग्रेससँग मिलेरै हो । तर, प्रचण्डले आफ्नो सरकारमा प्रदीप गिरीलाई होइन, गच्छदारलाई नै रोज्ने छन् । बरु प्रचण्डले अध्ययनशील प्रदीप गिरीको साटो मदिराप्रेमी एकजना एकसीटे नेतालाई मन्त्री बनाउने सोचाइ बनाएका छन् । यसैबाट प्रष्ट हुन्छ, गन्धा संसदीय राजनीतिमा गच्छदार र गिरीहरुको उपादेयता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment