Comments Add Comment

मिर्गौला साटासाट गर्नेको स्वास्थ्य राम्रो

१४ साउन, काठमाडौ । आपसी सहमतिबाट मिर्गौला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअङ्ग प्रत्यारोपण केन्द्रले जनाएको छ ।

Mirgaula1नेपालमा नै पहिलो पटक भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा यही साउन १२ गते दुई परिवार बीचको आपसी सहमतिबाट मिर्गौला साटासाट गरी प्रत्यारोपण गरिएको थियो ।

ताप्लेजुङ जिल्ला फूलबारीका ४९ वर्षीय खेमराज निरौलाले गोर्खा जिल्ला मनकामनाका ५२ वर्षीया माया थापाबाट र गोर्खा मनकामनाकै ४० वर्षीय विष्णुबाबु श्रेष्ठले ताप्लेजुङ जिल्ला फूलबारीका ४५ वर्षीय मात्रिकादेवी चापागाईंसित मिर्गौला प्राप्त गरेका थिए ।

प्रत्यारोपणका लागि एकै परिवारका सदस्यमध्ये अङ्गदाता र ग्रहणकर्ताबीच मेल (म्याच) नभएमा दुई परिवारका बीचमा आपसी सहमतिद्वारा अङ्ग साटासाट गर्न सकिने प्रावधान रहिआएको छ ।

मिर्गौला रोगी खेमराज निरौलाको रक्त समूह ‘ए’ र उनकी श्रीमती मात्रिकादेवी चापागाइँको रक्त समूह ‘बी’ रहेको थियो भने माया थापाको रगत समूह ‘ए’ र उनका भाइ मिर्गाैला रोगी विष्णुबाबु श्रेष्ठको रगत समूह ‘बी’ रहेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा पुकार श्रेष्ठले प्रत्यारोपित ती दुवै बिरामीको हाल स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिए । उनको नेतृत्वमा ती प्रत्यारोपण एकैसाथ सम्पन्न भएका थिए ।

कार्यकारी निर्देशक डा श्रेष्ठसहित प्रत्यारोपण समूहमा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठ, सिनियर कन्सल्टेन्ट सर्जन प्रा डा राकेश वर्मा, मुटुका शल्यचिकित्सक डा मोहन देव भण्डारी र डा सम्पूर्ण तुलाधर, डा प्रेम वैद्य तथा ऐनेस्थेसिया विभागका डा महालक्ष्मी देउजा र डा किरण अधिकारी, सर्जन डा वीरेन्द्र यादव, डा प्रविण जोशी, डा नारायण भुसाल,नेफ्रोलोजिस्ट डा लुसनसिंह, डा सन्तोष गुरुङ र डा सागर श्रेष्ठ सहभागी रहेका थिए ।

हाल केन्द्रमा वार्षिक रुपमा एक सयजना भन्दा बढीको मिर्गाैला प्रत्यारोपण हुने गर्दछ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment