Comments Add Comment

माओवादी केन्द्रमा बहसः अर्थमन्त्री महरा कि पोखरेल ?

mahara_pokhrel

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नयाँ अनुहारका नेताहरुलाई मन्त्री बनाउने भएको छ । त्यस्तै अर्थमन्त्रीमा कृष्णबहादुर महराको विकल्प खोज्न थालिएको छ ।

केपी ओली सरकारमा सहभागी धेरै मन्त्रीहरु यसपटक पनि दोहोरिन चाहेका छन् । तर, उनीहरुले मौका पाउने सम्भावना कम देखिएको छ । माओवादी हेडक्वार्टरको बिहीबार बसेको बैठकले मन्त्री छनौटका लागि मापदण्ड बनाए पनि नाम भने टुंगो लगाएको छैन ।

माओवादी उच्च स्रोतका अनुसार अर्थमन्त्रीमा सरकार गठनमा भूमिका खेलेका कृष्णबहादुर महराको दाबी छ । उनी उपप्रधानमन्त्रीको हैसियतमा रहनेछन् ।

तर, महरालाई अन्य कुनै मन्त्रालय दिएर गिरिराजमणि पोखरेललाई अर्थमन्त्री बनाउनुपर्ने तर्क पनि माओवादीमा आएको छ । ओली सरकारमा गएका ८ मन्त्रीमध्ये शिक्षामन्त्रीका रुपमा पोखरेलले निकै राम्रो काम गरेको माओवादीभित्र बुझाइ छ । अर्थमन्त्रीका लागि महराभन्दा पोखरेल योग्य रहेको तर्क पार्टीका केही नेताहरुले गरेका छन् ।

यदि अर्थमन्त्री नदिने हो भने प्रचण्ड नेतृत्वको सरकारमा पोखरेल जाने सम्भावना न्यून छ । कृष्णबहादुर महरा उपप्रधानमन्त्रीको हैसियतमा मन्त्री बन्ने भएपछि मन्त्रीको सूचीबाट टोपबहादुर रायमाझीको नाम काटिने पक्का भएको छ ।

रायमाझी ओली सरकारमा उपप्रधान तथा उर्जामन्त्री थिए । अब फेरि उपप्रधानमन्त्री नहुने भएकाले उनलाई सरकारमा नलैजाने सम्भावना छ । एउटै पार्टीबाट दुईजना उपप्रधानमन्त्री नबन्ने अवस्थामा महरा र रायमाझी एकसाथ मन्त्री नबन्ने भएका हुन् ।

त्यस्तै ओली सरकारमा सामान्य प्रशासनमन्त्री रहेकी रेखा शर्मालाई पनि सरकारमा दोहोर्‍याउनुपर्ने मत माओवादीमा छ । संसदमा रहेका माओवादी महिला सांसदहरुमा रेखा अगाडि छिन् । तर, ओली सरकारमा मन्त्री भइसकेकाले उनलाई दोहोर्‍याउन नहुने भन्दै सीता नेपालीको नाम पनि चर्चामा ल्याइएको छ ।

माओवादी उच्च स्रोतका अनुसार दलित समुदायबाट दलजित श्रीपाइली र सीता नेपालीमध्ये एकलाई मन्त्री बनाइनेछ । श्रीपाइली प्रचण्ड निकटका हुन् । ओली सरकारमा उनलाई राज्यमन्त्री बनाउने तयारी पनि भएको थियो । तर, राज्यमन्त्रीका आकांक्षीहरु बढेपछि माओवादीले दलितबाट कसैलाई पनि पठाएन ।

ओली सरकारमा मन्त्री रहेका शक्ति बस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेल, गणेशमान पुन र उमेश साह भने सरकारमा दोहोरिने सम्भावना नरहेको माओवादीका एक नेताले बताए ।

माओवादीका केही मन्त्रीले कर्मचारीबाट सोझै घुस खाएको सूचनासमेत आएपछि त्यस्ता विवादितलाई प्रचण्ड नेतृत्वको सरकारमा नदोहोर्‍याउने स्रोतले बतायो ।

ओली नेतृत्वको सरकारमा ८ वटा मन्त्रालय पाएको माओवादीले प्रचण्डको नेतृत्वमा ९ मन्त्रीहरु पाउँदैछ । कांग्रेसले १३ मन्त्रालय पाउने बताइएको छ । तर, गच्छदार र राप्रपाको सहभागिता भए यो संख्यामा फेरबदल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment