Comments Add Comment

छिमेकीले रातदिन ‘छौंडा’ खेलाएर दुःख दिनु बेठीक: प्रधानमन्त्री

KP-Oli,-PM-of-Nepal

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीमा प्रधानमन्त्री ओलीले कुनै मुलुक नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहने र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको बताए । उनले भने, ‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो । कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन । हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन ।’

प्रधानमन्त्री ओलीले मित्रराष्ट्रहरूलाई मित्रकै हैसियतमा रहन आग्रह गरे । उनले भने, ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’

भारततर्फ लक्षित गर्दै उनले संविधान बन्न नदिने र त्यसपछि सरकार बन्न नदिने पक्षले आफ्नो सरकारलाई करेली र लगाम लगाएर ठेगान लगाउन खोजेको बताए । ‘हस्तक्षेपको विरोधमा नबोल्नु कूटनीति होइन, कूटनीतिभन्दा माथि नेपालको स्वाभिमान पहिलो हो । सार्वभौम मुलुकको हौसियत कायम गर्नु प्रमुख विषय होस’ प्रधानमन्त्री ओलीले भने ।

एक स्वतन्त्र राष्ट्रका हैसियतमा नेपालले दुनियाँका सबै मित्रराष्ट्रसँग आँखा जुधाएर कुरा गर्न सक्ने भन्दै उनले भने, ‘त्यही हैसियतामा मैले भारत र चीन भ्रमणका समयमा नेपालको हितमा सम्झौता गरेको छु । नयाँ सरकारले त्यसबाट पछि फर्कन मिल्दैन ।’

सरकार परिवर्तनतर्फ संकेत गर्दै उनले कागका गुँडमा कोइलीले खुसुक्क अन्डा हालेर बच्चा कोरलेजस्तो स्थिति नेपाली राजनीतिमा देखिएको बताएका छन् । यस्तो अवस्थामा यहाँ कसैले आफ्नो पुनःरोदय भयो भनेर दसैंमा आँगनमा निस्केर केटाकेटी नाँचेजस्तो गर्नु आवश्यक नभएको बताए ।

प्रधानमन्त्री ओलीले नयाँ सरकारमाथि सचेत जनताको निगरानीमा रहने बताए । उनले भने, ‘त्यो सरकार पनि नेपालभित्र चल्ने हो, बाहिर चल्ने होइन ।’

कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकको स्वाभिमान र राष्ट्रिय एकताका लागि सबै दल र शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपालले आफ्नो अस्तित्व आफैँले रक्षा गर्न आफ्नो सन्तुलित परराष्ट्र नीतिको पक्षमा उभिनुपर्नेमा उनको जोड छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका भारत र चीन दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।

काग्रेसनेत्री सुजाता कोइरालाले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गरिन् । वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment