Comments Add Comment

देउवासँग सम्बन्ध विच्छेद गर्ने खुमबहादुरको तयारी

Khum-Bahadur-Khadka 810

१४ साउन, काठमाडौं । कम्तिमा १० वर्षदेखि कांग्रेस पार्टीभित्रको आन्तरिक राजनीतिमा शेरबहादुर देउवालाई साथ दिँदै आएका प्रभावशाली नेता खुमबहादुर खड्काले अब उनको साथ छाड्ने भएका छन् ।

देउवाले खोलो तरेपछि लौरो बिर्सिएको भन्दै खड्काले अब उनको साथ छाड्ने जानकारी आफूनिकटहरुलाई गराएका छन् । स्रोतका अनुसार उनी रामचन्द्र पौडेलसँग छलफलमा छन् ।

खड्का र पौडेललाई नजिक्याउन तनहुँकै सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारी सक्रिय भएका छन् । संसदीय दलको नेताको चुनावमा समेत भण्डारीले रामचन्द्रलाई भोट दिएको भन्दै देउवा पक्षले उनलाई कालोसूचीमा राखेको थियो ।

खुमबहादुरलाई उपसभापति बनाउने आश्वासन दिएर महाधिवेशनमा देउवाले साथ लिएका थिए । तर, देउवाले अहिले आएर उनलाई कुनै हालतमा उपसभापति नबनाउने प्रष्ट भएपछि देउवाको साथ छाड्न लागेको खड्का निकट एक केन्द्रीय सदस्यले बताए ।

फेरि हिन्दु अभियान चलाउने

हिन्दू राज्यको अभियान चलाएर महाधिवेशनका बेला शक्ति आर्जन गरेका खड्का फेरि सो अभियानलाई तीब्र बनाउने तयारीमा छन् । आफूलाई उपसभापति र आफ्नो समूहका कम्तिमा एकजनालाई मन्त्री नबनाए देउवासँग सम्बन्ध बिच्छेद गर्ने उनले बताएका छन् ।

खड्कासँग कांग्रेसका कम्तिमा ५ जना निर्वाचित केन्द्रीय सदस्यहरु छन् । शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, मोहन बस्नेत र अजय चौरसिया खुमबहादुर निकट केन्द्रीय सदस्य हुन् । त्यस्तै संसदीय दलमा खड्काका ९ जना सांसद छन् ।

देउवाले खड्का भ्रष्टाचारी साबित भएर जेल बसेका कारण उपसभापति बनाउँदा पार्टीभित्र र बाहिरबाट बिरोध हुन सक्ने भन्दै उनको शर्त पूरा गर्न नसकिने संकेत दिएका छन् ।

देउवाका दाहिने हात मानिने विमलेन्द्र निधीले खड्कालाई कुनै हालतमा मान्न सक्ने बताइसकेका छन् ।

उता खुमबहादुरले महाधिवेशन र संसदीय दलको चुनावमा समेत देउवा पक्षलाई धोखा दिएको भन्दै अर्जुन नरसिंह केसी पक्षले पनि उनलाई पदाधिकारीमा नल्याउन देउवामाथि दबाव दिइरहेको छ । महाधिवेशनमा खुमवहादुर पक्षले महामन्त्रीमा अर्जुनलाई हराउन शशांकलाई साथ दिएको थियो ।

कांग्रेसका निर्वाचित केन्द्रीय सदयहरु मध्ये देउवा पक्षका ३५ र पौडेल पक्षका २८ जना छन् । खड्काका ५ जनाले देउवाको साथ झिकेको खण्डमा निर्वाचित केन्द्रीय सदस्यमा देउवा अल्पमतमा पर्ने दाबी उनीहरुको छ ।

पूर्णवहादुर खड्का, भरतकुमार शाह, तप्तवहादुर बिष्ट, पार्वती डीसी चौधरी, ईश्वरी न्यौपाने, मोहन बस्नेत र शंकर भण्डारीसहित ११ सांसदलाई खुमबहादुरले आफ्नो पक्षका भनेर बार्गेनिङ गरिरहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

पौडेलको आपत्ति

यसैबीच देउवाले सरकार गठनका सन्दर्भमा एकलौटी गर्न खोजेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । स्रोतका अनुसार उनले टेलिफोनबाटै देउवालाई एक्लै हिँड्न खोजे असहयोग गर्ने चेतावनी दिएका छन् ।

पौडेलको आपत्तिपछि देउवाले सरकारको न्युनतम कार्यक्रम मस्यौदा तथा मन्त्रालय बाँडफाँड गर्ने कार्यदलमा पौडेल पक्षका एक जनालाई राख्ने आश्वासन दिएका छन् ।

हाल देउवाले आफ्नो तर्फबाट मन्त्रालय बाँडफाँड लगायत काममा वार्ता गर्न विमलेन्द्र निधी र रमेश लेखकलाई खटाएका छन् ।

आरजूका लागि लबिङ

यसैबीच कांग्रेसका केही नेता-कार्यकर्ताले प्रचण्ड नेतृत्वको सरकारमा आरजू राणालाई परराष्ट्र मन्त्री बनाउन लबिङ थालेका छन् । देउवा निकट नेता कार्यकर्ताले आरजूलाई मन्त्री बनाउन दबाव दिएका हुन् ।

उनीहरुले बिमलेन्द्र निधी र रमेश लेखकलाई भेटेर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएकी र सक्षम महिला भन्दै आरजूलाई आउँदो क्याबिनेटमा समेट्नुर्पे माग गरेका हुन् ।

देउवा प्रधानमन्त्री बनेका बेला आरजू मन्त्री बन्दा बिरोध आउने भन्दै यसै सरकारमा उनको नाम समेट्न आरजू निकट केही सांसदले आग्रह गरेको स्रोतले जनाएको छ ।

देउवाले कांग्रेसमा लामो समयसम्म कोइराला परिवारको परिवारवाद बिरुद्ध लडेकाले पत्नीलाई मन्त्री बनाउन उनी हच्किएको स्रोतले बतायो । सक्षम हुँदाहुँदै आरजूलाई मन्त्री बनाउन चासो नदिएको देखिएकाले आफूहरुले पार्टीमा उनका लागि लबिङ गर्नुपरेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।

आरजू ०६४ र ०७० को निर्वाचनमा दुईपटक कांग्रेसबाट समानुपातिक सांसद भइसकेकी छन् । उनलाई अर्को निर्वाचनमा बर्दियाबाट प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने तयारी रहेको सिग्देलले बताए । सो क्षेत्रमा उनकी आमा प्रतिभा राणाले राप्रपाको राजनीति गरिरहेकी छन् ।

यद्यपि आरजूलाई परराष्ट्रमन्त्रीका लागि कार्यकर्ताहरुले लविङ गरे पनि कांग्रेसभित्र डा. शेखर कोइराला परराष्ट्रमन्त्रीका अर्का दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment