Comments Add Comment

३२ वर्षदेखि सधैं बजेट तर, पूरा हुन सकेनन् सडक

road construction 01

१५ साउन, काठमाडौं । एउटा सडक निर्माण सुरु भएको कति वर्षमा सम्पन्न होला ? तीन, पाँच वा १० वर्षमा ? अथवा, २० वर्षमा ? होइन, चार सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक आयोजना निर्माण सुरु भएको ३१ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

दुई दशकअघि निर्माण थालिएका, तर सम्पन्न नभएका सडक त नेपालमा प्रशस्तै छन् । ती आयोजनका लागि बजेट भने वर्षेनी छुट्याउने गरिएको छ ।

सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो । कुल चार सय २० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१/४२ मा सुरु गरिएको हो । यसको लागत २ अर्ब १७ करोड अनुमान गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

३१ आर्थिक वर्षसम्म निरन्तर सरकारको रातो किताबमा अटेको उक्त आयोजनाले चालू आव ०७३/७४ (३२औ वर्ष) मा पनि स्थान पाएको छ । बजेट उपशीर्षक नम्बर ३३७१०५–३/४ रहेको उक्त आयोजनाको चालू आबमा १२ किमि ट्रयाक खोलिने र दुईवटा पुल निर्माणलाई निरन्तरता दिने कार्यक्रम छ । अहिलेसम्म कुल लम्बाइको ४३ किमि ट्रयाक खोलिसकेको छ । तर, सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले यो आयोजना ०६५ तिर मात्र सुरु भएको दाबी गरे ।

आव ०४८/४९ मा सुरु गरिएको नुवाकोटको गंगटे–लब्धु समुद्रटार–गल्फुभञ्ज्याङ सडक थालिएको २५ वर्ष पूरा भइसकेको छ । कुल ५० किलोमिटर लम्बाइ रहेको यसको लागत ३१ करोड रुपैयाँ मात्र छ । तर, त्यसमा हरेक वर्ष पैसा विनियोजन हुने गरे पनि त्यो पूरा हुन सकेको छैन।

त्यस्तै, आर्थिक वर्ष ०५०/५१ मा बाग्लुङ–बेनी सडकमा बजेट विनियोजन गर्न सुरु गरिएको हो । १५ किलोमिटर लम्बाइको यो सडकको लागत ५० करोड रुपैयाँ रहेको छ । तर, अहिलेसम्म ६ किलोमिटर मात्र कालोपत्रे भएको छ । २२ वर्षपहिला सुरु भएको आयोजना वर्षको एक किलोमिटर मात्र निर्माण भएको हुन्थ्यो भने पनि सात वर्षअघि नै सम्पन्न भइसकेको हुने थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment