Comments Add Comment

बाबुराम, वासिङ पाउडर र उसिनेको अण्डा

बाबुराम भट्टराई अहिले आफ्नो पार्टीको औचित्य पुष्टि गर्न आफ्नै माउपार्टीविरूद्ध खनिएको देखिन्छ । कांग्रेस र एमालेले आफूहरू धोइपखालिन प्रचण्ड माओवादीलाई वासिङ पाउडरको रूपमा प्रयोग गरिरहेको भनेर भट्टराईले चार्ज लगाउन थालेका छन् । भट्टराईले यसरी भनिरहँदा उनी स्वयं आफूचाहिँ के हुन् त ?

रुजवेल्ट र बाबुराम

Baldipबाबुराम भट्टराईको नयाँ शक्तिको सन्दर्भमा अमेरिकाको २६ औं राष्ट्रपति थियोडर रुजवेल्ट जुनियरसंगको तुलना उल्लेख योग्य छ । हुन त भट्टराईभन्दा रुजवेल्ट सिपाही, लेखक, अन्वेषक, प्रकृतिवादी र सुधारक जस्ता बहुआयामिक व्यक्ति थिए ।

रुजवेल्ट अमेरिकामा सन् १९०१ देखि १९०९ सम्म दुई कार्यकाल राष्ट्रपति बनिसकेका व्यक्ति थिए । पछि तेश्रो कार्यकालका लागि आफ्नो रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न नसकेपछि उनले पार्टी फुटाएर सन् १९१२ मा”प्रोगेसिभ” पार्टी बनाए । यसको विचारधारा नयाँ राष्ट्रवाद र प्रगतिवाद थियो । नयाँ राष्ट्रवाद र प्रगतिशील नाराले सबैको ध्यान ताने ।

रुजवेल्टले नयाँ पार्टी खोलिसकेपछि यसको प्रचार प्रसार तामझामका साथ गरे । धेरै धनाढ्य र वौद्धिक मानिसहरू पनि यस पार्टीमा प्रवेश गरे । उनले यो पार्टीलाई “बुल मुज (साँढे जरायो)” को उपनाम दिइएको थियो । किनकि प्रचार-प्रसारको क्रममा आफ्नो पार्टीलाई बलियो देखाउन हृष्टपुष्ट साँढे जरायोको उदाहरण दिन्थे ।
रुजवेल्ट यति ज्याद्रो थिए कि एकपटक प्रचार प्रसारका क्रममा विरोधीले उनीमाथि गोली प्रहार गर्‍यो । ५० पेजको उनको भाषणको कापी छोड्दै उनको छातीभित्र गोली पुग्यो । उनी प्राणीजीवको शारीरिक संरचनाको विज्ञ पनि भएका कारण मुखबाट खुन ननिस्किन्दासम्म मरिन्न भन्ने उनलाई आत्मविश्वास थियो । त्यसकारण कारण उनले ढल्नुको सट्टा टसमस नभई भाषण गरे ।

उनले दर्शक र शुभचिन्तकहरूलाई भने, सज्जन वृन्दहरू, मलाई गोली लागेको तपाईहरूलाई थाहा भयो कि भएन । तर त्यस्ता गोलीले साँढे जरायोलाई मार्न सक्दैन । उनको ज्याद्रोपन देखेर सबै छक्क परे ।

तर रुजबेल्टको पार्टीको तडकभडक बाबजुत पनि सन् १९१२ को राष्ट्रपतीय निर्वाचनमा उनको पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन । राज्यस्तरको निर्वाचनमा पनि उनको पार्टीको हार भयो । यसबाट जनतामात्र होइन, सो पार्टीका कार्यकर्ता र नेताहरूमा नैराश्यता आयो । पछि सबै नेताकार्यकर्ता माउ पार्टी रिपब्लिकन पार्टीमै र्फकन थाले । अन्तमा रुजवेल्ट पनि पहिलेकै पार्टीमा आए ।

सन् १९१८ सम्म आइनपुग्दै यो पार्टी पूर्णरूपमा विघटन नै हुनपुग्यो । यसरी स्थापना भएको ६ वर्षसम्म मात्र यो नयाँ पार्टी टिक्न सफल भयो ।

हो, इतिहास त नदोहोरिएला । संयोग नै मान्नुपर्ला कि माओवादी पार्टीलाई एक्कासी त्यागेर भट्टराईले नयाँ पार्टी खोलेका छन्, उही थियोडर रुजवेल्टको शैलीमा । रुजवेल्टको नियति बाबुरामले भोग्नै पर्छ भन्ने त छैन । तर, बाटो सरल छैन । पार्टी खोल्नु ठूलो कुरा होइन, त्यसलाई धान्न चाहिँ महत्वपूर्ण हो ।

भट्टराईको अतिरिक्त महत्वाकांक्षा

राहुल सांस्कृत्यायनले भनेका छन, ‘दुनियाँदेखि भाग्ने होइन, त्यसलाई बदल्ने हो ।’ बाबुरामले माउ पार्टीमा जुन खोट देखाएर त्यहाँबाट टाढिए, यसबाट माउ पार्टीमा रहेको त्यो खोटले उन्मुक्ति पाउने भए । माउ पार्टीमा गम्भीर त्रुटी भए त्यसलाई समाधान नगरी भाग्ने हो भने त्यो त्रुटीको पक्षपोषकहरू त माउ पार्टीमा रहने नै भो । उनीहरूले त्यसलाई संस्थागत गर्ने नै भो । भोलि त्यही शक्ति बाबुरामको प्रतिद्वन्दीको रूपमा रहि नै रहने भो ।

यद्यपि भट्टराईर्ले त्यो आरोपले नयाँ पार्टी खोल्नुको औचित्य प्रदान गर्न खोजेका हुन् । वास्तवमा उनमा महत्वाकांक्षी लहड चलेको हो । मानिसले अन्तिम उपलब्धी हासिल गरिसकेपछि ऊ लापरवाही हुन्छ । उसले बाँकी जीवन जुवाको दाउमा राख्छ । यो मानवीय मनोविज्ञान हो ।

भट्टराईको मानसिकता भनेको “आए आँप गए झटारो” हो । बन्नुपर्ने मुलुकको प्रधानमन्त्री चाँडो उमेरमै बनेकै हो । भूपू प्रधानमन्त्रीको नाताले राज्यले मानसम्मान, सुरक्षा र भत्ता दिने नै छन् । सिंहदरवारमा फोटो टाँसेर इतिहास बनेकै छन् । अब उप्रान्त बाँकी उमेरमा प्रचण्डसँग कचकच गरेर रहनुभन्दा अर्कै राजनीतिक माहोल बनाएर जनताको वाहवाहीको पात्र बन्ने उनको अतिरिक्त महत्वाकांक्षा हो । ‘लागे लाग मोहनी, नत्र घरमै छ’ भनेझै यो पथबाट भोलि स्खलित हुनपरेता पनि अगाडि नै प्राप्त उपलब्धिले उनको उचाइ नघट्ने उनको आत्मानुभूति हो । आम जनताले आफूलाई विद्वान र स्वच्छ राजनीतिक छवि भएको नेताका रूपमा ग्रहण गरेका छन् भन्ने उनको स्वठम्याइलाई पनि उनले भँजाउन खोजेका हुन् ।

विभिन्न झुण्डहरूको स्वार्थ केन्द्रः नयाँशक्ति

नयाँ शक्तिको विचार भने पनि सिद्धान्त भने पनि बाबुराम भट्टराई व्यक्ति हो । व्यक्ति हेरेर नै मान्छे त्यहाँ गएका हुन् । बाबुरामको व्यक्तित्व भनेको हिजोका प्रधानमन्त्री हुन् । उनको व्यक्तित्वको अर्को आयाम भनेको विद्यालय तहदेखि उत्कृष्ट हुदै विद्यावारिधि हो । प्राज्ञिक योग्यताले होइन, राजनीतिक सहकारिताले मात्रै देश बन्छ भन्ने कुरा यो समाजले अझै बुझ्न भ्याएको छैन ।

नयाँ शक्ति थरिथरि स्वार्थ भएकाहरूको मञ्च हो । यहाँ तीन किसिमका मान्छे छन् । पहिलो, हिजोका आ-आफ्ना पार्टीमा आफ्नो राजनीतिक वृत्तविकासको भविष्य नदेखेर नयाँ शक्तिमा लाग्नेहरू छन् । जस्तै- माओवादीमै रहेर काम गर्दा उनीहरूको राजनीतिक महत्वाकांक्षा पूरा हुने सम्भावना नदेखेका नेताहरूले नै बाबुरामलाई साथ दिएका छन् । आर्थिक विकासको नाराको आडमा मुलुकमा नयाँ तरंग ल्याएर राजनीतिमा स्थापित हुन सकिन्छ कि भन्ने दाउ हो, उनीहरूको ।
विभन्न पार्टीमा पदीय लाभ कुर्दाकुर्दा हैरान भएकाहरू नयाँ शक्तिमा उदयीमान नेता हुन सकिन्छ कि भनेर लाग्नेहरू पनि छन् ।

दोश्रो तहका मान्छेहरू चाहिँ राजनीतिक पदीय लाभभन्दा पनि व्यक्तिगत लाभको आशामा छन् । विशेष गरी पढेका तर जागीर नपाएका युवा जमात यसमा पर्छन् । नयाँ शक्ति पार्टीले चाँडै उचाइ लिन सक्यो भने त्यसबाट केही लाभ लिन सकिन्छ भन्नेहरू छन् । बाबुरामकहाँ गइयो भने भारतको विश्वविद्यालयबाट विद्यावारिधि गर्न सजिलो हुन्छ भनेर मेरै एउटा साथी त्यहाँ गएका छन् ।

तेस्रो तहका मान्छेहरूचाहिँ निर्दोष पाराले लागेका छन् । ठूला पार्टीहरूले केही गर्न नसकिरहेको अवस्थामा बाबुरामको पार्टीले देशमा सुख र समृद्धि ल्याउला भन्ने आश उनीहरूमा छ । उनीहरूमा पदीय लाभ र अवसरको लोभ छैन् । देश कसरी समृद्ध हुन्छ भन्नेहरू हुन् उनीहरू ।

आर्थिक विकासको नाराः पहिचान र संघीयताको विषयान्तर

आर्थिक विकासको आधार भनेको स्थायी शान्ति हो । स्थायी शान्ति त जनताको राजनीतिक मुद्दा हल भएपछि कायम हुने हो । पुँजी र प्रविधिको लागानी र परिचालन स्थायीशान्तिकालमै हुने हो । यो अवस्था भनेको आर्थिक विकासको गतिविधि हो । तोडफोड, हत्या हिंसा, आतंक र असहयोगको आन्दोलनको परिवेशमा विकास निर्माणको काम गर्न सकिन्न । त्यस्तो परिस्थितिको पहिले राजनीतिक हल खोज्नुपर्ने हुन्छ ।

नेपामा आर्थिक विकासको आधार तयार तयार भएकै छैन । यहाँका जनताले अझै पहिचान र अधिकार खोजिरहेको अवस्था छ । जनताहरू चेतनाले नागरिकीकरणको प्रकृयामा छन् । नागरिकहरूलाई राजनीतिक अधिकारबाहेक अन्य कुरा तपशीलका हुन् । सबै परिवर्तन विकास हुन सक्दैन र सबै विकास जनताको आकांक्षा पनि हुन सक्दैन । राजनीतिसँग जोडिएको जनताको मुद्दालाई हल नगरी आर्थिक विकासको कुरा गर्नु हावादारी विषय हो । वास्तवमा बाबुरामको आर्थिक विकासको कुरा भनेको संघीयता र पहिचानको मुद्दाको विषयान्तर हो । यस मुद्दाबाट जनताको ध्यानलाई अन्तै मोड्नु हो ।

दोहोरो मापदण्ड

भट्टराईको दोहोरो मापदण्ड देखियो । यसैले उनीप्रतिको विश्वासमा संकट पैदा भयो । राजनीतिमा जे बाहिर देखिन्छ, त्यो भित्र हुन्न । भट्टराईको कदम बक्रगामी देखियो । जारी संविधानप्रति नै उनको आत्मिय झुकाव र समर्थन हो भन्ने कुरा संविधानसभामा यो संविधान जारी गर्दा ताका उनको भूमिकाले प्रस्ट पार्दछ । यो संविधान जारी गराउन उनको हस्ताक्षर छ । यो संविधान यो कारणले वेठीक छ भनेर उनले नोट अव डिसेन्ट अभिव्यक्ति दिन सकेन ।

संविधान जारी गराउने कुरामा भित्र सही ठोक्ने अनि बाहिर आएर असन्तुष्ट पक्षको आन्दोलनमा गएर त्यही संविधान ठीक भएन भनेर भाषण गर्ने कुराले नै उनी माथि प्रश्न ठडिए ।

गाईलाई राष्ट्रिय जनावर बनाउने र धर्मनिरपेक्षतालाई सनातनधर्मसँग जोडेर नेपाललाई फेरि उही हिन्दुराज्य नै बनाउने यो छद्म संविधानको जारीकर्ता भट्टराई एकल हिन्दु नश्लीय सर्वोच्चताको पक्षपाती होइन भन्ने आधार के ?

संविधान जारी गरिसकेपछि त्यसलाई पुनर्लेखन गराउन प्रायः असम्भव हुन्छ । सानातिनो आन्दोलनले त्यसलाई प्रभाव पार्न सक्दैन, यसो भएपछि यही संविधान नै रहिरहन्छ, यो संविधान रहुन्जेल जनजाति र मधेसीमा असन्तुष्टि रहिरहन्छ र त्यही असन्तुष्टिलाई “क्यास डाउन” गरेर नयाँ शक्ति निर्माण गर्न सकिन्छ भन्ने सोचकै परिणाम हो, उनको यो राजनीतिक यात्रा ।

ब्याक फायरः मधेसी र जनजातिमाथिको निर्भरता

असन्तुष्टि मधेसी र जनजातिमा छन् र तिनीहरूलाई जनाधार बनाएर लग्न सकिन्छ भन्ने उनको नीति हो । पार्टीमा जातीय क्लष्टरको अवधारणा छ । वास्तवमा बाहुनछेत्री बाबुरामको पार्टीको जनाधार बन्न सक्ने अवस्था छैन । उनको पार्टीमा लागिदिने भनेको उही जनजाति र मधेसी हुन् । तर, यी जातीय समुदायबाट पनि उनले साथ पाउलान् जस्तो छैन । अझै मधेसीहरू उनको पार्टीप्रति कुनै अभिरूची देखाएका छैनन् ।

उता जनजातिमा पनि विना जनाधारका परशुराम तामाङहरूजस्ता छवि धमिलिएकाहरू मात्रै छन् । आइएनजियो/एनजिओको लाभले बानी बिगि्रएकाहरू छन् । यसबाट के देखिन्छ भने पार्टीमा संकलित रकम भइञ्जेल उर्जा र आकर्षण हुने हो ।

यसको अर्थ यो होइन कि बाबुरामको पार्टी शुुुुन्य नै हुन्छ । केही जनाधार हन्छ, उसको । दुई चार ठाउँ जित्न पनि सक्छ । तर, वैकल्पिक शक्ति नै भएर तुरन्तै आइहाल्ने कुराचाहिँ ठट्टाको विषय हो ।

पार्टीको दीर्घकालीन जीवनप्रति आशंका

यो पार्टी बाबुराम भट्टराईको जीवनकालभरि मात्र रहने हो । किनकि मानिसहरू उनलाई नै हेरेर लागेका हुन् । भट्टराईको जीवन कथङ्कदाचित तलमाथि भए पार्टीको जीवनमा संकट आइपर्नेछ । त्यसपछि त्यहाँ कसैले एकले अर्कोलाई मान्नेवाला छैनन । त्यो उचाइको नेता पनि हुने छैनन् ।

हिजो युद्धकालमा सँगै मर्ने र सँगै बाँच्ने प्रण गर्ने सहयात्रीहरूलाई त चटक्कै छाडेर अन्य बाटोतिर लाग्ने मानिसले त्यस्तै नयाँ पार्टीमा संकट आयो भने अभागी झुण्डहरूलाई नै कुरी बस्लान् त भट्टराईजीले ? त्यस्तै आइपरे रुजवेल्टजस्तै माउ पार्टीमा र्फकन सक्दैन भन्ने के ग्यारेन्टी छ ?

कुनै पूर्वाग्रह नराखी वस्तुपरक ढंगमा यसो भन्दा कसैले आपत्ति मान्नुपर्ने आवश्यकता छैन कि बाबुराम भट्टराई उसिनेको अण्डा हुन्, जसले चल्ला उत्पादन गर्न सक्दैन । माउ पार्टीमा रहँदा नै भट्टराईको “पोलिटिकल भर्जिनिटी” भंग भैसकेको छ। उनको उर्वर दक्षता कति हो भन्ने कुरा त्यहीबेला परीक्षण भैसकेको हो । अबको उनको कदमले अधिकार र पहिचानको आन्दोलनलाई “डिस्टर्व” बाहेक अरू केही गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment