Comments Add Comment

ग्यास बुलेट खरिद प्रक्रियामा ६ करोडको चलखेल !

खरिद प्रक्रिया रोक्न मन्त्रालयको निर्देशन

Gas-Bullet-Intering-in-Nepa
फाइल फोटो

१६ साउन, काठमाडौं । एलपी ग्यास बुलेट खरिद प्रक्रियामा ६ करोड रूपैयाँको चलखेल भएको पाइएको छ । लगतै आपूर्ति मन्त्रालयले ग्यास बुलेट खरिद गर्न दिएको अनुमति तत्काल रद्ध गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघलाई ६ सय ग्यास बुलेट खरिद गर्न अनुमति दिएको थियो ।  तर, आपूर्ति मन्त्रालयले विना पूर्व तयारी एकैपटक धेरै संख्या ग्यास बुलेट खरिद गर्ने निर्णय भएको भन्दै अनुमति रोक्न दिएको छ ।

आयल निगमले अनुमति दिने क्रममा ६ करोड रुपैयाँ बराबर आर्थिक चलखेल भएको सूचना पाएको मन्त्रालय स्रोतले बताएको छ । तर, पर्याप्त प्रमाण नभएकाले निर्देशनमा भने यो उल्लेख छैन ।

ग्यास बुलेट किन्दा एलपी ग्यास उद्योग संघ र आयल निगमका उच्च पदाधिकारीले प्रतिबुलेट ८५ हजारदेखि १ लाखसम्म उठाएको सूचना आपूर्ति मन्त्रालयलसम्म पुगेको छ ।

ग्यास बुलेट किन्ने निर्णय गर्दा आयल निगमले सञ्चालक समितिलाई छल्दै सिधै टिप्पणी उठाएर ग्यास उद्योगलाई अनुमति दिएको आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अनुमति दिने क्रममा निर्णय गराउनका लागि विभिन्न पदाधिकारीकालाई पैसा दिनुपर्ने भन्दै ग्यास उद्योगीसँग प्रतिबुलेटका दरले ठूलो रकम मागिएको थियो । आफ्नै बुलेट किन्नका लागि उद्योगीहरुले प्रलोभनमा परेर पैसा पनि बुझाएको एक ग्यास उद्योगीले बताए ।

‘मन्त्रालय, संसदीय समिति र आयल निगमका अधिकारीहरुसम्मलाई भाग लगाउने भन्दै उद्योगीसँग रकम उठाएको सूचना आयो’ आपूर्ति मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने,’त्यसैले पनि यसलाई रोक्न जरुरी देखियो । आर्थिक चलखेलकै आधारमा मनलाग्दी तबरले ग्यास बुलेट बाँडेको भेटियो ।’

उनका अनुसार मन्त्रालयले आयल निगमलाई बुलेट खरिद प्रक्रिया रोक्न निर्देशन दिनुको कारण यो मात्रै होइन । निगमले बुलेट सञ्चालनका लागि आवश्यक कार्यविधि पनि पारित गरेको छैन ।

कार्यविधि नै नबनाई निगमले एकैपटक ग्यास बुलेट किन्ने निर्णय गरेर कम्पनीलाई स्वीकृति दिएको थियो ।

एलपी ग्यास उद्योग संघले नै कुन उद्योगले कतिवटा ग्यास बुलेट किन्ने भनेर तयार गरेको थियो । यसरी बुलेट किन्ने अनुमतिकै लागि आयल निगमका उच्च अधिकारी र संघका अध्यक्ष शिवप्रसाद घिमिरेकै नेतृत्वमा रकम उठाइएको दाबी मन्त्रालय स्रोत छ ।

आयल निगमले पहिलोपटक ४ सय ५० वटा ग्यास बुलेट किन्ने अनुमति दिइएको थियो ।  तर, आर्थिक चलखेलकै आधारमा निगमले थप १ सय ५० बुलेट किन्ने निर्णय आफैंले गरेको थियो । त्यसरी बुलेट थप गर्नुको आधार भने निगमले दिन सकेको छैन ।

त्यसमाथि सञ्चालक समितिबाट निर्णय नगराई आयल निगमले थप बुलेट किन्ने निर्णय पनि आफ्नै तहबाट गरेको थियो । यसमा आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नै अग्रसरता लिएको स्रोतको दाबी छ ।

‘भारतीय बुलेटलाई विस्थापन गर्ने कुरा सही हो । तर, ट्रान्सपोर्टरहरुसँग समन्वय नै नगरी बुलेट ल्याउँदा खरिद र निर्माण प्रक्रिया नटुंगिँदै भारतीय ट्रान्सपोर्टरले असन्तुष्ट भएर ग्यास आपूर्ति नै रोकिदिने खतारा भयो’ ति अधिकारी भने-‘एकैपटक ६ सय बुलेट ल्याएर कसरी चलाउने भन्ने तय पनि भएको छैन । भारतीय ट्रान्सपोर्टरसँग समन्वय पनि भएको छैन । यसले आपूर्तिमा नै असर पार्ने देख्यौं ।’

हाल ५ सय २३ वटा भारतीय ट्रान्सपोर्टरका बुलेट भाडामा लिईे ग्यास ढुवानी भइहरको छ । खरिद प्रक्रिया थालेपछि उनीहरु असन्तुष्ट भए ग्यास आपूर्तिमा नै असर पर्ने ठहर सरकारको छ ।

त्यसैले मन्त्रालय एकैपटक नभई विभिन्न चरणमा बुलेट किन्नुपर्ने पक्षमा देखिएको छ । यस्तै बुलेट सञ्चालनको भरपर्दो कार्यविधि पनि बनाउनुपर्ने आपूर्ति अधिकारी बताउँछन् ।

मन्त्रालयको बुलेट खरिद प्रक्रिया रोक्ने निर्देशन पनि आयल निगमका खैलाबैला मच्चिएको छ । आयल निगमका अधिकारीहरुले आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरुलाई पनि प्रलोभनमा पार्न खोजेका बताइएको छ ।

अहिले उनीहरु विभिन्न शक्ति केन्द्रमा धाइरहेका छन् । आइतबार व्यवस्थापिका संसदको उपभोक्ता हित समितिमा यसै विषयमा छलफल पनि हुने भएको छ । बुलेट खरिदमा सरकारले २ तिहाई भन्सार छुट दिने घोष्णा बजेटमार्फत गरिसकेको छ । त्यसैले पनि यसका थप चलखेल भएको अनुमान मन्त्रालयको छ ।

आयल निगमले भने आर्थिक चलखेल भएको आरोपको खण्डन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आर्थिक चलखेल भएको कुरा निराधार भएको भन्दै कार्यविधि बन्ने प्रक्रियामै रहेको बताए । ‘मन्त्रालयले खरिद रोक्न निर्देशन दिएको छ । त्यसअनुसार अब बुलेट खरिद रोकिन्छ’ उनले भने ।

आयल निगममार्फत भेरी ग्यास उद्योग प्रालिले १५, एभरेस्ट ग्यासले २३, गीता ग्यास उद्योगले ९, गृहलक्ष्मीले २१, जानकीले १५, कन्काईले १०, कोसीले ४५, लियोले ९, मनोजले १४, मनकामनाले १४ र  मारुतीले १६ वटा बुलेट खरिद गर्न अनुमति पाएका थिए ।

यस्तै मेचीले १४, नारायणीले १४, नेपालले ५०, नेपाल ग्यास नारायणीले २०,  नोबेलले १०, पञ्चमहालक्ष्मीले १०, पराजुली एन्ड ब्रदरले १०, पि्रमाले १४, राप्तीले ८, रिजालको भान्छाले १० र रोयल मल्टी लुकले १२ वटा बुलेट खरिद गर्न लागेका थिए ।

यस्तै सगरमाथाले २, साहाराले १०, श्रीरामले १५, सत्यनारायणले १०, सुगम कामख्याले १, सुगमले १०, सुपर, श्रीवेणी, चण्डेश्वरी र बुटबलले ९/९, आरतीले ७, जगदम्बाले ५,  भानुले १५ र  ओमले १७ बुलेट  खरिद गर्न पाउने अनुमति पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment