Comments Add Comment

चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न

१७ साउन, काठमाडौं । होटल संघ नेपाल (हान)को छिमेकी मुलुक चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । संघका प्रथम उपाध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको टोलीले बेइजिङ र सांघाइमा नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको हो ।

संघको टोली आइतबार स्वदेश फर्किसकेको छ । पछिल्लो समय चिनियाँ पर्यटकको नेपालप्रति बढ्दो आकर्षण छ । टोलीले चीनका पर्यटन व्यवसायी तथा पत्रकारहरुमाझ बेइजिङमा साउन १० गते र सांघाईमा १३ गते प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्यो ।

यसैगरी, टोलीले चीन भ्रमणको क्रममा चीनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, सांघाईस्थित वाणिज्यदूतको कार्यालयमा नेपाल प्रवद्र्धन सम्बन्धी छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको जनाएको छ ।

नेपालमा चिनियाँ पर्यटक आगमनको आँकडालाई मध्यनजर गर्दै हाल चिनियाँ पर्यटकमैत्री होटल तथा रेस्टुरेन्टहरुको संख्यामा वृद्धि भएको बताउँदै आगामी वर्षहरुमा पनि चिनियाँ पर्यटकहरुको आवागमन उल्लेख्य रहने संघका प्रथम उपाध्यक्ष अमरमान शाक्यले विश्वास व्यक्त गरे ।

प्राचिनकालदेखि नै नेपाल र चीनको दौत्य सम्बन्ध रही आएको र दुई देशबीच पर्यटन प्रवर्द्धन तथा व्यापार प्रवद्र्धनका कार्यक्रमहरु आयोजना गरिनुले यसलाई अझ  प्रगाढ बनाउन सकिने चाइनास्थित कार्यवाहक राजदुत हरिश्चन्द्र घिमिरेले बताए ।

सोही कार्यक्रममा उपस्थित चिनियाँ पर्यटन व्यवसायी तथा पत्रकारहरुमाझ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन अकर्षणबारे प्रस्तुतीकरण गरे ।

उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका महासचिव विनायक शाहले नेपाल विश्वमै पर्यटकीय गन्तव्यको उच्च सूचीमा रहेको उल्लेख गरे । उनले आगामी दिनमा चाइनिज पर्यटकको स्वागतार्थ नेपालमा क्रमिक रुपमा पूर्वाधारहरुको निर्माण गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment