Comments Add Comment

बीस बर्षदेखि को कन्सुलर सेवा बन्द हुँदा म्याड्रिडका नेपाली समस्यामा

बार्सिलोना । स्पेनको राजधानी म्याड्रिडमा बिगत २० बर्ष देखि जारी रहेको कन्सुलर सेवा बन्द हुँदा नेपालीहरु समस्यामा परेका छन् ।

Spain Mapसन् १९९४ अप्रिल १४ देखि २० बर्ष सम्म लगातार  म्याड्रिडमा कन्सुलर सेवा सुरु भए पनि बिगत दुई बर्ष देखि बन्द रहदा यहाँ स्थित नेपालीहरु समस्यामा परेका हुन्।

नेपाली अवैतानिक बाणिज्य दुत भिक्टर गोंन्जालेज फ्रागुसको दुई बर्ष अघि निधन भए यता कन्सुलर सेवा बन्द हुँदै आएको छ। तत्कालिन अवस्थामा सरकारका तर्फबाट पररास्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले पत्र मार्फत फ्रागुसको निधनले अपुरणीय क्षति पुगेको भन्दै दुख समेत ब्यक्त गरेका भए पनि बैकल्पिक ब्यबस्था भने हाल सम्म हुन सकेको छैन। फ्रागुसको सन् २०१४ ,सेक्टेम्बर २१ तारिख ७५ बर्षको उमेरमा निधन भएको थियो ।

दूताबासलाई गुहारेका छौ -एनआरएन क्षेत्रीय समिति

बिगत २० बर्ष देखि नेपालीहरुको हितमा काम गरिरहेको कन्सुलर सेवा एक्कासी बन्द हुँदा नेपालीहरुलाई बिभिन्न कागजी प्रक्रियाको लागि समस्या परेको गैर आबासीय नेपाली संघ क्षेत्रीय समिति म्याड्रिडले जनाएको छ।

क्षेत्रीय समितिका अध्यक्ष रोशन पाठकले अवैतानिक बाणिज्य दुतका लागि एक स्पेनिस नागरिकको नाम सिफारिस गर्दै आँफूहरुले पेरिस दूताबासलाई जानकारी गराएको बताएँ। उनले भने,” एनआरएनए स्पेन मार्फत भिक्टोर गोन्जालेज मोयानोको नाम हामीले सिफारिस गरेका छौ , उनी नेपाली र नेपाल प्रति लगाब राख्छन्। नेपालमा भूकम्प जाँदा पनि उनले नेपाली समुदायलाई ठुलो सहयोग गरेका थिए।”

क्षेत्रीय समिति म्याड्रिडबाट एनआरएन स्पेनमा सचिबको प्रतिनिधित्व गरेका राम कृष्ण पुडासैनीले कन्सुलर सेवा नभए पनि म्याड्रिडबासी नेपालीहरु समस्यामा परेको बताए। पुडासैनीले भने,” स्पेनमा दर्ता भएर बसेको तिन बर्ष पछि रेसिडेन्सी कार्ड एप्लाई गर्दा चाहिने बिभिन्न कागजी प्रक्रियामा कन्सुलर कार्यालय भए ठुलो सहयोग पुग्ने सबैलाई थाहा नै छ। बिगत २० बर्ष देखि पाएको सेवा दुई बर्ष बितिसक्दा अझै सुचारु नहुदाँ हामी मारमा परेका छौ त्यसैले सम्बन्धित निकायको ध्यानकार्षण गराउँन चाहान्छौ।”

दूताबास सकारात्मक छ – राजदूत लुईटेल

नेपाली राजदुताबास फ्रान्सकी महामहिम राजदूत अम्बिका देबी लुईटेलले म्याड्रिडमा कन्सुलर सेवालाई सुचारु गर्नका लागि पेरिस दुताबास सकारात्मक भएको बताएकी छन्।

बिगत २ बर्ष देखि सेवा बन्द भए पनि नेपाल र नेपालीको हितमा काम गर्न सक्ने ब्यक्तिलाई जिम्मेबारी दिन दूताबास तयार रहेको भन्दै यसको लागि आँफूहरुले खोजिरहेको बताएकी हुन्।

अनलाइनखबरसँग कुराकानी गर्दै राजदूत लुईटेलले भनिन्,” कन्सुलर सेबा म्याड्रिडमा सुचारु गर्न दूताबास सकारात्मक छ। एनआरएन मार्फत एक जना स्पेनिस नागरिकको बायोडाटा आएको छ। तर यसको भरमा मात्र हामीले प्रक्रिया अगाडी बढाउँन सकिदैन। दूताबासमा उनले सम्पर्क गरेका छैनन् ,भेटबार्ता र गहन छलफल गर्न जरुरी हुन्छ।”

नेपालीको हक हित,ब्यापार,पर्यटन,लगायत बिभिन्न क्षेत्रमा टेवा पुग्ने गरी काम गर्न सक्ने ब्यक्तिको खोजीमा दूताबास रहेको पनि राजदूत लुईटेलले जानकारी दिईन्। स्पेनमा नेपाली राजदुताबास नहुँदा फ्रान्स स्थित नेपाली दुताबासले हेरिरहेको छ।

करिब १० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेनमा हालसम्म एउटा मात्र कन्सुलर सेवा बार्सिलोनामा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment