Comments Add Comment

म ‘गेम प्लानर’ हैन, ओली सरकार मैले ढालेको हैनः महरा

हप्ता दिनपछि सरकारले गति लिन्छ

Krishna Bahadur Mahara (1)

७ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपाली राजनीतिमा कतिपयले ‘प्रो-चाइनिज’ नेताका रुपमा बुझ्ने गर्छन् । अर्का उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीलाई चाहिँ धेरैले ‘प्रो-इण्डियन’ ठान्ने गर्छन् ।

प्रधानमन्त्री प्रचण्डले विशेष दूतका रुपमा निधीलाई भारत र महरालाई चीन पठाउने निर्णय गर्नासाथ यी दुबै उपप्रधानमन्त्रीहरु एकाएक झस्किए र आपसमा छलफलसमेत गरे ।

उपप्रधानमन्त्रीद्वयले आपसी छलफलमा भने, हामी दुबैलाई मान्छेहरुले भारत र चीनसँग जोडेर हेर्छन्… । तपाईचाँहि दिल्ली र मचाँहि बेइजिङ जाने पो हो कि ?

तथापि निधी र महराको व्यक्तिगत चाहनाले मात्रै प्रधानमन्त्री प्रचण्डको निर्णय बदलिएन । अन्ततः महरा चीनको भ्रमण गरेर फर्किए । निधी मंगलबार दिल्लीबाट काठमाडौं फर्कँदैछन् ।

तर, आगामी दिनमा चाँहि उपप्रधानमन्त्री निधीले चीनको भ्रमण गर्ने र महरा दिल्ली जाने सल्लाह यी दुई नेताले गरेका छन् ।

‘निर्णय भइसकेपछि विमलेन्द्र निधीजी र म बस्यौं । तपाई चीन र म भारत पो गर्ने हो कि क्या हो, मान्छेले मलाई चीनतिर धकेल्छन् तपाईलाई भारततिर ।’ विशेष दूत छनोटपछि विमलेन्द्र र आफूवीच भएको छलफलबारे जानकारी दिँदै अर्थमन्त्री महराले अनलाइनखबरसँग भने- ‘हामीले के सल्लाह गर्‍यौं भने अहिले निर्णय भइसक्यो, अर्कोचोटि म भारत जान्छु, तपाई चीन जानुहोला ।’

उनले थपे- ‘भारत भ्रमणमा जाने चीन विरोधी पनि होइन र चीन जाने भारतविरोधी पनि होइन ।’

‘चीन गएकोमा भारतीय साथीहरु खुशी छन्’

तपाईलाई नेपालमा कतिपयले ‘प्रो-चाइनिज’ नेताका रुपमा बुझ्ने गर्छन् नि ? अनलाइनखबरको यस्तो प्रश्नमा अर्थमन्त्री महराले भने- ‘पहिलो म नेपाली हुँ । म चाइनिज हैन, म इण्डियन हैन, म अमेरिकन हैन । यो एकदम बुझ्नुपर्ने कुरा हो । चीन, अमेरिका, भारत सबैको म मित्रचाँहि हुँ ।’

तपाईको चीन भ्रमणबाट भारतीयहरु सशंकित भएका छन् कि भन्ने अर्को प्रश्नमा महराको दाबी छ- ‘भारतीय साथीहरु म चीन गएकोमा बेखुशी छैनन्, खुशी छन् । अलि पछि प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ, त्यसपछि म पनि भारत जान्छु ।’

दुबै छिमेकी देशका मित्रहरुसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै उपप्रधानमन्त्री महराले अनलाइनखबरसँग भने- ‘भारतीय साथीहरुसँग मेरो विश्वास टिकिरहन्छ । चिनियाँ मित्रसँग पनि मेरो विश्वास छ, अमेरिकन मित्रसित पनि मेरो विश्वास छ । देशभित्रका साथीहरु एमाले कांग्रेससित पनि मेरो विश्वास छ । म यस्तो पात्र हुँ । के कारणले यस्तो भएँ, तपाईहरु आफैंले बुझ्नुभएको होला । म अविश्वासको पात्रका रुपमा कसैसँग छैन ।’

Krishna Mahara (6)

किन लाग्छ भारतपरस्त र चीनपरस्तको आरोप ?

कतिपय मानिसहरुले गलत मनसाय बोकेर आफूलाई त्यसरी परिभाषित गर्ने गरेको बताउँदै मन्त्री महरा अगाडि भन्छन्- ‘त्यो सही होइन । सही कुरा हुनुपर्ने के हो भने राष्ट्रियताको मामिलामा हामी पहिलो नेपाली हौं । नम्बर एक नेपाल हो । म नेपाली हुँ । म इण्डियन, चाइनिज वा अमेरिकन होइन । आए एम नट एन्टी इण्डियन, आए एम नट एन्टी चाइनिज, आइएम नट एन्टी अमेरिकन ।’

उपप्रधानमन्त्री महराको थप भनाइ छ- ‘राष्ट्रियता पनि यही हो । भारतको माया गर्ने अर्थात् चीनलाई हान्ने र चीनलाई माया गर्ने अर्थात भारतलाई हान्नु राष्ट्रियता होइन । यसरी नै बुझ्नुपर्छ ।’

पाकिस्तानको पहिलो भ्रमण

संयोग यस्तो परेको छ कि दक्षिण एशियामा भारतको प्रतिस्पर्धी ठानिने चीनको भ्रमणबाट फर्किएलगत्तै उपप्रधानमन्त्री महरा मंगलबार बेलुका पाकिस्तान जाँदैछन् । महराको यो पहिलो पाकिस्तान भ्रमण हो ।

भारत र पाकिस्तान आफूलाई एक अर्काका शत्रुजस्तै ठान्छन् । यस्तो बेलामा बेइजिङबाट फर्किएलगत्तै महरा इस्लामावाद जान लागेका हुन् ।

चीनपछि तपाईको पाकिस्तान भ्रमणबारे भारतीयहरुले के सोच्लान् ? अनलाइनखबरको यस्तो प्रश्नमा उपप्रधानमन्त्री महरा भन्छन्- ‘पाकिस्तान भ्रमण त संयोगमात्रै हो, पाकिस्तानले मलाई बोलाएको हैन, पाकिस्तानमा भारतका अर्थमन्त्री पनि जाँदैछन् । त्यहाँ सार्कको मिटिङमा जाने हो ।’

Krishna Mahara (3)

‘शासकको हैन, जनताको आँखाले हेरौं’

उपप्रधानमन्त्री महराले नेपाल-भारत सम्बन्धलाई दुबै देशका शासकको आँखाले नभएर जनताको आँखाले हेरेमा समस्या समाधान हुने अनलाइनखबरलाई बताए ।

‘नेपालमा परम्परागतखालको बुझाइ छ । यो के कारणले हो भने नेपालमा राष्ट्रियता र प्रजातन्त्रबारे बहस छ, प्रजातन्त्रको एउटा केन्द्र कांग्रेस भयो । राष्ट्रियताको अर्को केन्द्र राजा भए । तर, मैले इण्डियाको एउटा कार्यक्रममा के भनेको थिएँ भने नेपालका शासकहरुको भारतलाई हेर्ने दृष्टिकोण गलत छ । भारतीय शासकहरुमा पनि नेपाललाई हेर्ने दृष्टिकोण गलत छ । भारतका जनताले नेपाललाई हेर्ने र नेपालका जनताले भारतलाई हेर्ने दृष्टिकोणमात्रै शासकमा रिफ्लेक्सन हुने हो भने नेपाल भारत सम्बन्धमा समस्यै पर्ने थिएन ।’

नेपाललाई परम्परावादी राजाको कोणबाट या कांग्रेसको कोणबाट हेर्ने कुरा बेठीक हुने बताउँदै मन्त्री महरा भन्छन्- ‘जनताको एंगलबाट हेर्नुपर्‍यो । अहिलेसम्म पुरानो सोचाइमा परिवर्तन नभएका कारणले यस्तो भएको हो । तर, हामीचाहिँ नयाँ हौं ।

‘ओलीलाई मैले ढालेको हैन’

यसैवीच सरकार परिवर्तनको मुद्दामा सक्रियतापूर्वक लागेका महराले आफू ‘गेम चेञ्जर’ नभएको तर्क गरेका छन् । उनले भने- ‘म तपाईमार्फत सबै साथीहरुलाई आशंका नपाल्न विशेष अनुरोध गर्न चाहन्छु । मचाँहि गेम प्लानर हैन, सामान्य काम गरेको जस्तो लाग्छ । कैले भन्छन् भने त्यो उनीहरुको आफ्नै कुरा हो ।’

तर, ‘केपी ओली नेतृत्वको सरकार ढाल्न कृष्णबहादुर महराको ठूलै हात छ भन्छन् नि ? यही कारणले एमाले नेताहरुले तपाईसँग चित्त दुखाएको सुनिँदैछ… ‘ यस्तो जिज्ञासा राख्दा मन्त्री महराले भने- ‘मलाई लाग्छ, एमालेका साथीहरुले त्यसरी चित्त दुखाएका छैनन् ।’

सरकार परिवर्तनबारे महरा भन्छन्- ‘जुन सरकार गयो नि, यो कसैको गेमप्लानले हैन । म तपाईहरुलाई यो पनि भनौं, ओली सरकार आफ्नै कारणले ढलएको हो । उहाँ आफ्नै कारणले विश्वास गुमाउनुभयो । हामीसित पनि गुमाउनुभो, आफ्नै पार्टीका साथीबाट पनि गुमाउनुभयो । उहाँले अझै माथि उठेर विश्वास आर्जन गर्नुपर्थ्यो ।

सरकार ढलेकोमा एमालेले अरुलाई दोष दिन नमिल्ने महराको तर्क छ । ‘यो त अर्कोलाई दोष दिएर हुँदैन । मेरो पतन वा असफलना मेरै कारणले हुन्छ । मुख्यतः मै हो, तपाईहरु त सहायकमात्रै हुनुहुन्छ । तपाईहरुले खेलेको त सेकेन्ड हो । मैले खेलेर सरकार ढल्ने होइन, हामी सहायक नै हुन्छौं ।

हप्ता दिनपछि सरकारले गति लिन्छ

प्रचण्ड सरकारको अब कार्यकाल पुग नपुग आठ महिना बाँकी छ । अहिलेसम्म सरकारले किन पूर्णता पाउन सकेन ? यो त असफलताको संकेत होइन र ? यस्तो प्रश्न गर्दा महराले भने- ‘यसलाई कुनै असफलता नभनिहालौं ।’

मन्त्री महराले अब एक दुईदिन भित्रै सरकार क्यानिबेट विस्तार हुने बताए । उनले भने- ‘नेपालका राजनीतिक दलहरुभित्र केही समस्या र अन्तरविरोधहरु छन् । त्यो हल गर्न केही समय लिएको मात्रै हो, मलाई लाग्छ, एक-दुईदिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ । त्यसपछि हप्ता दिनजति सबै मन्त्रीलाई बुझ्न लाग्छ । हप्ता दिनपछि सरकारले गति लिन्छ ।’

अरूण बराल/राजकुमार श्रेष्ठ

तस्वीरः श्रीधर पाैडेल

उपप्रधानमन्त्री कृष्णबहादुर महरासँगको अन्तर्वार्ता पनि पढ्नुहोस्

भारतीय राजदूतलाई भनेको छु- ओलीजीले भन्दा अझै बढी गर्छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment