Comments Add Comment

इशान अस्पतालमा श्यामकृष्णले गुमाए एकमात्र सन्तान, लापरवाही भन्दै आफन्तले गरे तोडफोड

Ishan-Child-and-Woman-Hospi

७ भदौ, काठमाडौं । उपचारको क्रममा बालकको मृत्यु भएपछि बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा तोडफोड भएको छ ।
अस्पतालमा भर्ना भएका तारकेश्वर नगरपालिका धर्मस्थलीका साढे ३ वर्षीय बालक बीकृष्ण महर्जनको मंगलबार विहान मृत्यु भएको थियो ।

बालक बीकृष्ण श्यामकृष्ण महर्जनको एकमात्र सन्तान हुन् । अभिभावकले बच्चाको शव बुझ्न अस्वीकार गरेका छन् ।

अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै पीडित पक्षले विरोध प्रदर्शन गर्दै अस्पतालमा ढुंगामुढा गरेका थिए । ढुंगा लागेर अस्पतालको सिसा फुटेको छ ।

सामान्य रुघा, ज्वरो र बान्ताबाट पीडित बालक वीरकृष्णलाई अभिभावकले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमा उपचारका लागि ल्याएका थिए । तर, चिकित्सकहरुले महाराजगञ्जमा बेड खालि छैन भनेपछि अभिभावकहरुले सोमबार राति एक बजेतिर इशान अस्पताल लगेका थिए ।

इशान लग्दासम्म बालकको अवस्था सामान्य रहेको बालकका बाबु श्यामकृष्ण महर्जनको दावी छ । अस्पतालले उक्त बालकलाई राती एक बजे नै आइसीयुमा भर्ना गरेको थियो । तर, विहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको खबर दियो ।

‘भर्ना गरेदेखि नै अस्पतालले हामीलाई बच्चा भेट्न दिएको थिएन, विहान एक्कासी मर्‍यो भनेर खबर गर्‍यो’, मृतक बालकका काका दीलबहादुर महर्जनले भने, ‘डाक्टरहरुको लापरवाहीले यस्तो भएको हो ।’

यता अस्पताल प्रशासनले भने बालकलाई अस्पताल ल्याउँदादेखि नै उनको स्वास्थ्यमा गम्भीर समस्या आएको बताएको छ ।

अस्पतालका प्रशासक विपिन जंगमले इशान अस्पतालमा ल्याउँदाखेरि नै बच्चामा अक्सिजनको मात्रा कम भएको र निमोनिया मुटुसम्म फैलिएकाले बचाउन नसकिएको बताए ।

‘बच्चा सिरियस थियो । अक्सिजन लगाएरै अस्पताल ल्याउनु पर्दथ्यो । तर उहाँहरुले ट्याक्सीमा ल्याउनु भएछ,’ जंगमले अनलाइनखबरसँग भने, ‘बिहान सामान्य सुधार भएजस्तो देखिएको थियो । तर पनि एक्कासीले बेथाले च्यापेर बच्चाको मृत्यु भयो ।’

अस्पतालका चिकित्सक दीपेश्वर नेपालले पनि कडा निमोनियाका कारण बालकको मृत्यु भएको बताएका छन् ।

अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको बताइएको छ । अहिले भने अस्पताल परिसरको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment