Comments Add Comment

प्रचण्डलाई भेट्न नपाउँदा भक्कानिइन् गोरखाकी सीता !

गाडी रोक्न लगाएर प्रधानमन्त्रीले माफी मागे

PM-Prachand-and-SitaRegmi,-

७ भदौ, काठमाडौं । आँखामा पावरवाला चश्मा, ढाकाको चोलो र हरियो साडी लगाएकी एक प्रौढ महिला मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय, सिंहदरबार अगाडि झुल्किइन् । काँधमा झोला भिरेकी उनका हातमा रातो रंगको खादा थियो ।

प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामै सुरक्षाकर्मीले उनलाई रोकेर सोधे- कहाँ जान लागेको ? उनले जवाफ फर्काइन्- प्रचण्डलाई भेट्न ।

सुरक्षाकर्मीको स्वर अलि चर्को भयो – अहिले भेट्न मिल्दैन ।

सधैं कडा सुरक्षा घेरामा रहने प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँच्चै सजिलो छैन । आफ्नै पार्टीका नेता-कार्यकर्ताहरुले समेत सजिलै भेट्न नसक्ने माओवादी अध्यक्ष प्रचण्डलाई सर्वसाधारणले भेट्न त झनै गाह्रो छ ।

मंगलबार दिउँसो सिंहदरबार पुगेकी गोर्खाकी सीता रेग्मीलाई पनि यस्तै आपत पर्‍यो । अञ्दाजी ६५ वर्षकी सीता गोर्खा आरुघाटकी हुन् । प्रचण्ड प्रधानमन्त्री बनेको थाहा पाएपछि उनलाई बधाइ दिन भनेर सीता खादा बोकेर गोर्खाबाट सिंहदरवार आएकी हुन् ।

प्रधानमन्त्रीलाई भेट्न खोज्दा सिंहदरवारको दक्षिणगेटमै सुरक्षाकर्मीको अवरोधको सामना गर्नुपरेको थियो उनले । तर, भनसुन गरेर त्यहाँबाट भित्र प्रवेश गरेकी उनी पुनः प्रधानमन्त्री कार्यालय अगाडि सुरक्षाकर्मीको केरकारमा परिन् ।

उनी बारम्बार प्रहरीलाई भनिरहन्थिन्, ‘प्रचण्डले हाम्रो गाउँको स्कुलमा पढाउनु भा’हो । अहिले प्रधानमन्त्री बन्नुभयो । यो खादा लगाइदिएर बधाइ दिन्छु र फर्किन्छु ।’

प्रधानमन्त्री गेटमा के आइपुगेका थिए, सीताले अंगालो हाल्न खोजिन् । तर, अघि-पछिका सुरक्षाकर्मीहरुले उनलाई रोके । प्रचण्डलाई खादा लगाइदिन नपाएपछि उनी त्यहीँ भक्कानिइन्

पार्टीमा पूर्णकालीन नहुँदै प्रचण्डले गोर्खा आरुघाटको एक स्कुलमा अध्यापन गरेका थिए । आरुघाटकी सीताले त्यतिबेलै प्रचण्डलाई चिनेकी हुन् ।

‘प्रचण्ड हाम्रा घरमा आउनुहुन्थ्यो । गफगाफ गर्नुहुन्थ्यो । कतिपटक त मेरै हातले पकाको खानु भा’छ,’ सीताले गेटपालेलाई मनाउन खोजिन्, ‘एक्कैछिन् भेट्न दिनुस्, यो खादा लगाइदेर फर्किन्छु ।’

ती महिलाको कुरामात्रै सुनेर सुरक्षाकर्मीले विश्वास गर्ने कुरा भएन । त्यसपछि उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोज्नुको उद्देश्यसहित सीता रेग्मीको नाम र ठेगाना टिपेर प्रधानमन्त्रीको सचिवालयमा पठाइदिए ।

तर, सचिवालयका सदस्यहरुले भेटघाटको मेसो मिलाउन नपाउँदै कामविशेषले प्रधानमन्त्री प्रचण्ड बाहिर निस्कनुपर्ने भयो ।

प्रधानमन्त्री गेटमा के आइपुगेका थिए, सीताले अंगालो हाल्न खोजिन् । तर, अघि-पछिका सुरक्षाकर्मीहरुले उनलाई रोके । प्रचण्डलाई खादा लगाइदिन नपाएपछि उनी त्यहीँ भक्कानिइन् ।

सुरक्षाकर्मीले घेरामा राखेर प्रचण्डलाई गाडीभित्र छिराए । तर, प्रचण्डले गाडी अघि बढाउन दिएनन् र रोक्न लगाए । उनले ती महिलाबारे जान्न खोजे । सहयोगीले सबै कुरा बताएपछि प्रचण्ड गाडीबाट ओर्लिए र सीताको सामुन्नेमा पुगे ।

प्रचण्डले हाँस्दै भने- सुरुमा त मैले चिन्नै सकिँन, तपाईंले दुःख पाउनुभएछ, माफ गर्नुहोला ।

सीताले रातो खादा प्रचण्डको गलामा लगाइदिइन् र हात समाएर बधाइ दिँदै भनिन्- बल्ल-बल्ल भेट्न पाइयो । देश र जनताको राम्रोसँग सेवा गर्नुहोला ।

छोटो भलाकुसारीपछि प्रचण्ड गाडीमा हुइँकिए । सीताले प्रधानमन्त्री कार्यालय परिसरमा रहेकाहरुलाई भन्दै थिइन्, पहिलाको जस्तै हँसिलो, मिजासिलो हुनुहुँदोरहेछ । राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सीता एउटी त्यस्ती प्रतिनिधि पात्र हुन्, जसले विगतमा गाउँघरमा प्रचण्डलाई दिएको सेल्टर र मायाको प्रतिफलस्वरुप उनलाई शुभकामना दिन चाहिरहेका छन् । र, उनीहरु सबैको कामना छ, प्रचण्डले जनताको पक्षमा राम्रो काम गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment