Comments Add Comment

यसरी ८ अर्ब चुक्ता पुँजी पुर्‍याउँदै छ स्टान्डर्ड चार्टर्ड बैंक

'इस्यू म्यानेजर' नियुक्ती गर्दै, १०० प्रतिशत हकप्रद दिने सम्भावना

standard charterd bank
८ भदौ, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक नेपालले ०७४ असार मसान्तभित्र राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याएर नेपालमै बैंकिङ व्यवसाय विस्तार गर्ने प्रष्ट पारेको छ । पुँजी बढाउनका लागि बैंकले मर्जर वा एक्वायरमा नजाने पनि प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि नेपाल छोड्ने चेतावनीसमेत दिएको स्टान्डर्ड चार्टर्ड अन्तत तोकिएको पुँजी पुर्याउने र नेपाल नछाड्ने प्रष्ट पारेको हो ।

अहिलेसम्म पुँजी वृद्धिको योजनासमेत नबुझाएको बैंकले लगानीकर्ताबाटै पुँजी थप गर्ने र त्यसका लागि ‘इस्यू म्यानेजर’ नियुक्त गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको राष्ट्र बैंकलाई जानकारी गराएको छ ।

नेपाल भ्रमणमा आएका स्टाण्डर्ड चार्टर्ड बैंकका आसियाना तथा दक्षिण एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकृत अजय कन्वलले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई भेटेर लगानीकर्ताले नै पुँजी हालेर तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने विश्वास दिलाएका छन् ।

मंगलबार साँझ भएको गभर्नर डा. नेपालसँगको भेटमा कन्वलले यस्तो जानकारी दिएका हुन् । ‘उहाँले केहीदिन भित्रै बैंकले इस्यू म्यानेर नियुक्त गरेर लगानीकर्ताले नै थपेर चुक्ता पुँजी बढाउने प्रक्रिया औपचारिकरुपमा सुरु गर्ने बताउनुभएको छ,’ गभर्नर निकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

बैंकले स्थानीय मर्चेन्ट बैंकरलाई नै इस्यू म्यानेजरमा नियुक्त गर्नेछ । तर, कसलाई नियुक्ती गर्न लागिएको भन्ने बताएको छैन । इस्यू म्यानेजर नियुक्त गरेपछि कसरी पुँजी पुर्याउने भनेर बैंक सञ्चालक समितिले राष्ट्र बैंकलाई जानकारी गराउने कवन्लले बताए ।

लगानीकर्ताले नै लगानी थप्ने भनेको के हो ?

लगानीकर्ताले नै लगानी थप गर्ने भनेको हकप्रद सेयर जारी गर्छु भनेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ‘उहाँहरुले लगानीकर्ताले नै थपेर तोकिएको पुँजी पुर्‍याउँछौ भन्नुभएको छ, त्यो भनेको हकप्रद सेयर जारी गर्छौ भन्नुभएको हो,’ राष्ट्र बैंकका अधिकारीले भने ।

बैंकमा स्टान्डर्ड चार्टड ग्रुपको ७५ प्रतिशत र नेपालीको २५ प्रतिशत लगानी छ । ग्रुपको लगानीमध्ये स्टाण्डर्ड चार्टर्ड अष्ट्रेलियाको ५० र स्टान्डर्ड चार्टर्ड बेलायतको २५ प्रतिशत लगानी छ ।

३५ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद दिने संभावना

बैंकसँग फ्रि रिर्जभ छैन । फ्रि रिर्जभ भएको भए बैंकले बोसन सेयर जारी गरेर चुक्ता पुँजी बढाउन सक्ने थियो । त्यसैले पुँजी बढाउनका लागि बैंकले गतवर्ष कमाएको नाफाबाट बोनस सेयर दिने र नपुगेको रकम हकप्रद सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

०७३ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको नाफाबाट बैंकले २५ करोड २० लाख रुपैयाँ अनिवार्यरुपमा सञ्चित कोष (रिजर्भ) मा राख्नुपर्ने हुन्छ । यसरी जनरल रिजर्भमा रहेको रकम बैंकले चुक्ता पुँजीभन्दा दोब्बर भएपछि मात्रै अन्य ठाउँमा खर्च गर्न मिल्छ ।

बैंकले हालै प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा रिजर्भ ४ अर्ब ४० करोड देखिन्छ । गत वर्षको नाफालाई रिजर्भमा राखिएकाले ४ अर्ब ४० करोड रिजर्भ देखिएको बैंकका कर्पोरेट मामिला प्रमुख दिवाकर पौडेलले बताए ।

‘लेखापरिक्षण भइसकेको ०७२ को वित्तीय विरणमा बैंकको कूल रिजर्भ ३ अर्ब १३ करोड रुपैयाँ छ । जसमध्ये जनरल रिजर्भ २ अर्ब ६३ करोड छ भने बैदेशिक मुद्राको कारोबारबाट आउन सक्ने जोखिमका लागि ३८ करोड छ, बाँकी रहेको ११ करोड रिजर्भ पनि बोनस सेयरमा कन्भर्ट गर्न मिल्दैन,’ पौडेलले भने ।

गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई अधिकतम ३५ प्रतिशत बोनस सेयर दिन सक्ने क्षमता राख्छ । बैंकले ३५ प्रतिशत बोनस सेयर दियो भने बैंकको चुक्ता पुँजी ३ अर्ब ८० करोड रुपैयाँ पुग्छ । त्यति गर्दा पनि ८ अर्ब पुर्याउनका लागि बैंकलाई अझै ४ अर्ब १० करोड रुपैयाँ पुँजी पुग्दैन । जुन रकम बराबरको हकप्रद सेयर जारी गर्नुपर्ने हुन्छ । त्यो भनेको बैंकका सेयरधनीलाई एक बराबर एकको दरले हकप्रद सेयर दिनु हो ।

नेपाल छाड्ने चेतावनी दिँदा, डराएको थियो राष्ट्र बैंक

०७२ साउन ६ गते मौद्रिक नीति सार्वजानिक गर्दै गभर्नर डा. नेपालले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने घोषणा गरेका थिए । त्यसपछि राष्ट्र बैंकले ०७२ भदौ मसान्तभित्र पुँजी वृद्धिको योजना पेश गर्न बैंकहरुलाई निर्देशन दियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार सबै बैंकहरुले कुन-कुन मितिमा कति ? र कसरी पुँजी बढाउने भन्ने योजना राष्ट्र बैंकमा बुझाए । तर, स्टान्डर्ट चार्डड बैंकले बुझाएको थिएन । उसले तोकिएको समयमा तोकिएको चुक्ता पुँजी पुर्याउने प्रतिवद्धता चाहीँ जनाएको थियो ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट फिर्ता हुनसक्ने भनेपछि राष्ट्र बैंकका अधिकारीहरु डराए । किनभने नेपालमा भएका अन्तराष्ट्रिय संघ-संस्था सबैको कारोबार स्टान्डर्ड चार्टडसँग मात्रै हुँदै आएको थियो ।

बैंकले बुझाएको उक्त प्रतिवद्धता अपूर्ण भएको भनेर राष्ट्र बैंकका अधिकारीहरुले प्रष्ट खाका ल्याउन दबाब दिएपछि स्टान्डर्ड चार्टर्ड बैंकका अधिकारीहरुले ‘हेड क्वाटर’बाट पुँजी थप्नुपर्ने अवस्था आए बैंक फर्किन चाहेको भन्ने जानकारी गराए । त्यसबेला बैंकका अधिकारीहरुले ८ अर्ब पुँजी बनाएपछि सो अनुसारको व्यवसाय नेपालमा नहुने भएकाले हेड क्वाटर फर्किन चाहेको तर्क प्रस्तुत गरेका थिए ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट फिर्ता हुनसक्ने भनेपछि राष्ट्र बैंकका अधिकारीहरु डराए । किनभने नेपालमा भएका अन्तराष्ट्रिय संघ-संस्था सबैको कारोबार स्टान्डर्ड चार्टडसँग मात्रै हुँदै आएको थियो । त्यतिमात्र होइन, अन्तराष्ट्रिय बजारमा स्टान्डर्ड चार्डर्ड बैंकको मात्रै प्रतितपत्र -एलसी) ले मान्यता पाउँथ्यो ।

चार्टर्ड बैंक फर्किँदा नेपाललाई ठूलो असर पर्ने विश्लेषण गर्दै राष्ट्र बैंकका अधिकारीहरुले नफर्किन अनुरोध गरे । बरु, पुँजी वृद्धिकै सवालमा पनि राष्ट्र बैंकले केही सहजिकरण गरिदिने राष्ट्र बैंकको आश्वासन थियो  । त्यसैले, सबै बैंकले पुँजी वृद्धिको योजना बुझाउँदा पनि चार्टर्ड बैंकले कुनैपनि ठोस योजना नबुझाउँदा राष्ट्र बैंक मौन बस्यो ।

पुँजी वृद्धिको योजना बुझाउन दिएको समय एक वर्ष वित्दा पनि स्टान्डर्ड चार्टर्डले पुँजी वृद्धिबारे योजना सार्वजनिक गरेको छैन । अरु सबै बैंक तथा वित्तीय संस्थाहरुले ११ महिनाअघि नै पुँजी वृद्धिको योजना बुझाइसकेका छन् । आफ्नो वेभसाइटमा राखेर पुँजी वृद्धिको योजना सार्वजनिक पनि गरिसकेका छन् ।

तर, डेढ महिना अघि नै चार्टर्ड बैंकका दक्षिण एसिया हेर्ने निर्देशकले सोल्टी होटलमा गभर्नर र डेपुटी गभर्नरलाई भेटेर लगानीकर्ताले नै लगानी थप गरेर तोकिएको समयमा पुँजी पुर्याउने प्रतिवद्धता दोहोर्याएका थिए । यसैलाई केन्दि्रय बैंकले स्टान्डर्ड चार्टर्डको पुँजी वृद्धिको योजना भएको मान्यता दियो ।

केहीदिन अघि चार्टर्ड बैंकले गत आर्थिक वर्षको वासलात स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो । वासलात स्वीकृतिको मौका छोपेर राष्ट्र बैंकले पुँजी बढाउने ठोस योजना पेश गर्न बैंकलाई दबाब दिँदै आएको थियो ।

एमाले समर्थित कर्मचारीहरुको धर्नाका कारण सोमबार साँझ राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्न पाएन । बैठक बसेको भए स्टान्टर्ड चार्टड बैंकको वासलात स्वीकृति बारे छलफल हुने र राष्ट्र बैंकले चाटर्डलाई फेरि दबाब दिने संभावना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment