Comments Add Comment

इशान अस्पताल र मृतकका परिवारबीच सहमति

बालकको शब पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा

Ishan-Child-and-Woman-Hospi

८ भदौ, काठमाडौं । मृत बालक विकृष्ण महर्जनको मृत्युलाई लिएर बसुन्धरास्थित इशान अस्पताल र पीडित पक्षबीच मंगलबार बेलुकी तीन बुँदे सहमति भएको छ ।

मृत बालकका परिवार र अस्पताल प्रशासनबीच भएको सहमतिमा अस्पताल परिषरमा भएको प्रदर्शनमा पक्राउ परकाहरुलाई बिनासर्त रिहा गर्ने, उपचारको क्रममा मृत्यु भएको घटनाबारे छानविन गर्न अस्पताल प्रशासन, पीडित पक्ष र उपभोक्ता समितिसहितको ७ सदस्यीय समिति बनाउने लगायत छन् ।

समितिले सात दिन भित्र प्रतिवेदन मेडिकल काउन्सिलमा पेश गर्ने गरी सहमति भएको इशान अस्पतालका सिनियर प्रशासनिक अधिकृत विपिन जंगमले जानकारी दिए । सहमतिपछि मंगलबार राति करिब साँढे १२ बजे बालकको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल पठाइएको छ ।

‘राति अबेरसम्म भएको वार्तामा पीडित पक्ष र अस्पताल प्रशासनबीच तीन बुँदे सम्झौता भएपछि बालकको शव पोष्टमार्टमको लागि पठाइएको हो,’ अस्पतालका सिनियर प्रशासनिक अधिकृत विपिन जंगमले अनलाईनखबरसित भने, ‘पोष्टमार्टमको रिपोर्ट आउनासाथ यथाशीघ्र समिति गठन गरी छानबिन सुरु गर्नेछौ’ ।

उनले यसमा अस्पतालको दोष नभएको दावी गर्दै अस्पतालले छानबिनका लागि पूर्ण सहयोग गर्ने बताएका छन् । ‘उपचारका क्रममा अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको भए अर्कै कुरा हुन्थ्थ्यो । तर यहाँ बालकलाई अस्पताल ल्याउँदा नै ढिला भइसकेको थियो । बालकको अक्सिजन समेत ६० प्रतिशतमा झरिसकेको थियो’, जंगमले भने ‘त्यतिमात्र नभएर अस्पतालमा बालकको उपचार जम्मा चार घण्टा भएको छ’ ।

कडा निमोनियाबाट ग्रसित साढे तीन बर्षीय बालक विकृष्णको मंगलबार विहान करिब छ बजे इशान अस्पतालमा मृत्यु भएको थियो । बोल्दा बोल्दैको बालकको अचानक मृत्यु भएपछि आक्रोशित परिवारले मंगलबार दिउसो अस्पताल तोडफोड गरेका थिए । उनीहरुले अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको आरोग लगाउँदै दोषीमाथि कडा कारवाही हुनु पर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment