Comments Add Comment

नेपाली भाषामा भाँडभैलोः अब कसरी लेख्ने हो ?

'बौद्धिक सत्ताले गिजोल्दा गाईजात्रा’

font

८ भदौ, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले ०६७ साल पुसमा तीन दिने नेपाली भाषा सङ्गोष्ठी आयोजना गरेर भाषा-साहित्यका विद्वान्हरु भेला गरायो । सङ्गोष्ठीका निर्णयहरु भन्दै हिज्जे (वर्णविन्यास) मा दशौं वर्षदेखि चली आएको नियम भत्काएर अर्कै नियम लागू गरियो । सोही नियमअनुसार विद्यालय तहका पाठ्यपुस्तकहरू छापिएर पढाउन पनि थालिसकिएको छ ।

तर, नयाँ भनिएको त्यो नियम ल्याइएपछि एकथरि भाषाविद् र भाषाप्रेमीहरु निकै दुःखी छन् । खासगरी छँदाखाँदाको संयुक्त अक्षरलाई खुट्टा काटेेर लेख्ने, दीर्घ लेखिँदै आएका ई कार र ऊ कारलाई हुलमूलमै ह्रस्व लेख्ने र ण, व, श, ष, क्ष लगायत वर्ण अनावश्यक भएकाले हटाउँदा हुने भन्ने नियमले नेपाली भाषामा भद्रगोल ल्याएको उनीहरूको चिन्ता छ ।

यो नियमले भाषाको हुर्मत लिएको चासो र चिन्ता धेरैतिरबाट आइरहँदा हामीले दशकौंदेखि नेपाली भाषामै काम गर्दै आएका र भाषाको स्वाभाविक गतिमा जोड दिने शरच्चन्द्र वस्तीलाई भेट्यौं ।

‘हाम्रो भाषा’ (सन् २००६) किताब प्रकाशनमा ल्याएर भाषिक शुद्धता र मिठासको कुरा गर्ने उनी पनि भाषामा देखिएको पछिल्लो भाँडभैलोदेखि दिक्क रहेछन् । सुरुमै भने, ‘जबर्जस्ती गोष्ठी गरेर, निर्णय गरेर, मन्त्रीबाट परिपत्र गराएर पनि भाषामा परिवर्तन हुन्छ कतै ? भाषाले त प्रयोगकर्ताको अभ्यासबाट बिस्तारै परिवर्तन र परिमार्जनको बाटो समाउँछ । तर, यहाँ सत्ताको आडमा भाषामा बलमिच्याइँ गरियो ।’

‘भाषा-साहित्यका विद्वानहरू रुन मात्र सकेनन्’

एकेडेमीको भाषा सङ्गोष्ठीमा वस्ती पनि सहभागी रहेछन् । सङ्गोष्ठीमा नेपालका कहलिएका भाषाशास्त्री र साहित्यकारका साथै दार्जिलिङ र आसामबाट निम्त्याइएका नेपाली भाषाका लेखकहरु पनि सहभागी थिए । उनले सम्झिए – ‘उहाँहरूले चलिराखेका हिज्जे नबिगारिदिनुस् भनेर निकै आग्रह गर्नुभयो । खुशीको स पातलो गर्दा कोही पनि खुशी हुँदैन भन्दै आँसु झार्न मात्र सक्नुभएको थिएन ।’

तर, भाषाको भविष्यबारे जनाइएको त्यस्तो चिन्ता र बिलौनाको त्यहाँ कुनै सुनुवाइ नभएको उनी बताउँछन् । सहभागीहरूलाई उपस्थितिका आधारमा हस्ताक्षर गराएर निर्णय भन्दै सार्वजनिक गरियो । जसमा अधिकांश सहभागीको समर्थन नै थिएन ।

‘त्यहाँ गराइएको छलफल देखावटी मात्रै थियो । म ढुक्क भएर भन्न सक्छु, त्यो निर्णय पहिले नै तयार पारेर राखिएको थियोे,’ सङ्गोष्ठीको निर्णयबारे उनले भने ।

Sharachchandra 1

‘भाषालाई घोक्रेठ्याक लगाउँदा सह्य हुँदैन’

भाषाविद् वस्ती पनि मान्छन्, भाषा परिवर्तनशील र गतिशील हुन्छ । त्यो परिवर्तनलाई स्वीकार गर्नुपर्छ । तर, परिवर्तनको नाममा आफूखुसी नियम बनाएर भाषामा जर्बजस्ती गर्न नहुने उनको विचार छ । भन्छन्, ‘भाषा परिवर्तनशील हुन्छ भन्दैमा यसरी-यसरी परिवर्तन हुनुपर्छ भनेर भाषालाई घोक्रेठ्याक लगाउँदै कहिले दायाँ र कहिले बायाँ मोड्ने काम कसैले गर्नु हुँदैन ।’

भइराखेको परम्परागत प्रचलनलाई बिथोल्दा अहिले नेपाली भाषाका प्रयोगकर्तार् अलमलिने अवस्था आएको छ । सङ्गोष्ठीले हिज्जेलाई सरलीकरण गर्न आवश्यक भएको भन्दै संयुक्त वर्णहरु, जस्तै विद्यालाई विद्या, विद्वान्लाई विद्वान्, पद्यलाई पद्य लगायत खुट्टा काटेर लेख्नुपर्ने नियम बनाएको थियो । यसले भाषामा दुर्गति सुरु गरेको उनको ठम्याइ छ ।

वस्तीका अनुसार, संयुक्त अक्षरलाई भाँच्दै हलन्त गर्ने नियम बनाइए पनि मान्छेको आँखामा नबिझ्ने ५/१० वटा शब्द मात्र लिएर लागू गर्दै बठ्याइँ गरिएको छ । तर, नियम नै बनाइसकेपछि त त्यो सबै संयुक्त अक्षरमा लागू गर्नुपर्ने हुन्छ । त्यसबेला भाषाको गाईजात्रा हुने उनले देखेका छन् । उनी भन्छन् – ‘जस्तै प्रज्ञा प्रतिष्ठानकै प्रज्ञा र प्रतिष्ठान दुईवटा शब्दका संयुक्त अक्षर छुट्याएर लेखियो भने ‘प्रग्याँ प्रतिष्ठान’ लेख्नुपर्ने हुन्छ । तर, एकेडेमी आफूले त्यो नियम लागू गर्‍यो भने त साइनबोर्ड, छाप सबै हेरिसक्नुको हुन्छ ! उसले अरुलाई मात्र यसो गर भन्ने हो ।’

जस्तै-

text

 

‘विधाता, यस्तो बनाइदेऊ भनेर कसले भन्यो ?’

नयाँ शब्दमा आकर्षण हुन्छ । त्यसैलाई प्रयोग गरी नयाँ नियमको नाममा छँदाखाँदाको प्रचलनलाई गिजोलिएको वस्तीको बुझाइ छ ।

एकेडेमीको कामलाई इंगित गर्दै उनले भने, ‘बौद्धिक किसिमको सत्तामा मान्छे पुगेपछि भ्रष्ट हुँदो रहेछ । त्यसपछि आफूले केही गरेको जस्तो देखाउन भाषालाई गिजोल्न थाल्छ ।’ यसलाई उनी मानक स्वरूप बनाउने क्रममा कथित विद्वान्हरूले जबर्जस्ती लादेको नियम मान्छन् ।

फुल र फूल दुई फरक शब्दले फरक अर्थ दिएर काम चलिरहेका बेला त्यसलाई चलाउनु नै आवश्यक नरहेको वस्ती बताउँछन् । ‘हे विधाता, म दीर्घलाई ह्रस्व बनाइदेऊ, संयुक्त अक्षरको खुट्टा काटिदेऊ भनेर कसैले भनेको त थिएन होला ! यस्तो केही गर्नु आवश्यक नै थिएन,’ बिनसित्ति भाषाको जरा काट्ने काम गरिएकोमा उनलाई अचम्म लागेको छ ।

भाषा जोगाउन ‘नेकशुले’

प्रज्ञा-प्रतिष्ठानले सङ्गोष्ठीमार्फत परम्परागत प्रचलन मास्दै परिवर्तित नियम ल्याएपछि नेपाली भाषाप्रेमीहरूले देवनागरी लिपिमा आधारित भाषाको अस्तित्व नै गुम्ने चिन्ता गरे ।

भाषाशास्त्रीहरू सम्मिलित भाषाप्रेमीहरूले ललितपुरमा एउटा भेला गरे । त्यसबाट नेपाली भाषा प्रयोगकर्ता समूहले नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) – ०६९ प्रकाशनमा ल्यायो । त्यमा भाषाशास्त्री, साहित्यकार, गीतकार, पत्रकार, कवि, गजलकार लगायत ८२ जनाको हस्ताक्षर छ । जसमा वस्ती पनि सक्रिय सहभागी थिए ।

‘नेकशुले’ एकेडेमीको सङ्गोष्ठीका निर्णयको टक्करमा उत्रिएको हो भन्ने प्रश्नमा उनले भने – ‘टक्करमा उत्रिनुभन्दा पनि यसले नेपाली भाषालाई यसको स्वाभाविक गतिमा बग्न देऊ र त्यसमा आएका समसामयिक परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ भनेको हो ।’

नेकशुलेको हिज्जे-विचारमा प्रचलनमा रहेका नियमलाई नै जोड दिएको छ । जसले हिज्जेको लेख्य रुप ठोस र स्थायी प्रकृतिको हुने भएकोले त्यसलाई बिगार्न नहुने मान्यतासहित संस्कृतका तत्सम शब्द र अन्य भाषाबाट जस्ताको तस्तै आएका आगन्तुक शब्दलाई यथावत् लेख्ने भनेको छ ।

पछिल्लो समय बलदेव शर्मा अधिकारी (गाउँले बलदेव) लगायत भाषाविदहरूले ‘नेपाली भाषा बचाउ अभियान’ पनि चलाउँदै आएका छन् । यो अभियानले पनि एकेडेमीको सङ्गोष्ठीले भाषामा विकृति र गञ्जागोल ल्याएको भन्दै मौलिक प्रचलनमा जोड दिएको छ ।

वस्तीको अन्तरवार्ता यहाँ पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment